जनता टाइम्स

२९ चैत्र २०८१, शुक्रबार २१:०२

अहिले जसरी  घोषितरूपमै आक्रमण रहिरहे कुनैपनि मिडिया बाँकी रहने छैनन : अध्यक्ष पाण्डे 


बुटवल, चैत २९ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले यतिबेला सञ्चारमाध्यममाथि सुनियोजित रूपमा आक्रमण भइरहेको बताउनुभएको छ ।

शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौँ महाधिवेशन उद्घाटन कार्यक्रमलाई लुम्बिनीमा सम्बोधन गर्दै पाण्डेले यो वा त्यो नाममा सञ्चारकर्मी र सञ्चारमाध्यम माथि आक्रमण भइरहेको बताउनुभयो ।

‘घोषित रूपमा आक्रमणका लागि उर्दीहरू भइरहेका छन्, यो वा त्यो नाममा, अहिले पनि मिडियाको सुरक्षा अहम् चुनौती बनेको छ, यसरी घोषित रूपमा आक्रमण हुने हो भने भोलि कुनै पनि मिडिया बाँकी रहने छैनन्’, उहाँले भन्नुभयो ।

आज समाजमा जुन खालको अराजकता मच्चिँदै छ त्यो त्यसलाई नियन्त्रण नगर्ने हो भने त्यसले चौतर्फी समस्या निम्त्याउने उहाँले बताउनुभयो । देश स्थिरताको बाटोमा अघि बढेको प्रधानमन्त्रीले घोषणा गरेपछि त्यसलाई खलबल्याउन अनेक खालका क्रियाकलाप भएको उहाँको भनाइ छ ।

‘अस्थिरता मच्चाउने तत्त्वहरू सलबलाइरहेका छन्, ती तत्त्वहरूले देशले असाध्य कष्ट गरेर प्राप्त गरेको उपलब्धिलाई रोक्नको लागि लागिरहेका छन्, यस कारण हामी सचेत हुनुपर्ने अवस्था आएको छ’, उहाँले भन्नुभयो ।

पाण्डेले सञ्चार प्रविधिको विकासले पत्रकारितामा अब मोफसल र केन्द्र भन्ने भाष्य तोडिएको बताउनुभयो । व्यावसायिक रूपमा काम गर्ने हो भने नेपालमा पत्रकारिता क्षेत्रको राम्रो सम्भावना रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । काठमाडौं बाहिर बसेर पनि मूलधारकै पत्रकारिता गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

अहिले सामाजिक सञ्जाल नै सञ्चार माध्यम हो कि भन्ने भ्रम परिरहेको बताउँदै पाण्डेले आमसञ्चार र सामाजिक सञ्जालको बिचमा भिन्नता छुट्याउनु पर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जाललाई नियन्त्रण होइन नियमन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

सामाजिक रूपमा जुन खालको अराजकता मौलाएको छ, त्यसलाई कुनै न कुनै रूपमा नियमन गरी नियन्त्रण गर्नुपर्नेमा पाण्डेले जोड दिनुभयो । त्यसैले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुनका पक्षमा प्रेस चौतारी नेपाल रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सरकार सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउँदै उहाँले १४ वर्ष जेल बसेर आउनु भएका वर्तमान प्रधानमन्त्रीले स्वतन्त्रताको महत्त्व राम्रोसँग बुझ्नु भएको बताउनुभयो । सरकारले सामाजिक अराजकता रोक्नको लागि ल्याएको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकलाई सञ्चार क्षेत्रले स्वगत गर्नुपर्ने पाण्डेको धारणा छ ।

अध्यक्ष पाण्डेले प्रेस चौतारी नेपाल संगठनमा समावेशिताको व्यवहारिक प्रयोग गर्ने संगठन भएको बताउनुभयो । प्रेस चौतारी नेपालमा २० वटा जिल्लामा आदिवासी जनजातिले नेतृत्व गरिरहेका, ७ वटा जिल्लामा महिला र ९ वटा जिल्लामा दलित समुदायले अध्यक्ष भएर नेतृत्व गरेका उहाँले सुनाउनुभयो ।