जनता टाइम्स

१६ असार २०८२, सोमबार २३:२९

बक्सिङका अन्तर्राष्ट्रिय निर्णायक मैनाली राष्ट्रिय खेलकुद सम्मान २०८१ बाट सम्मानित


काठमाडौं, १६ असार । बक्सिङ खेलका अन्तर्राष्ट्रिय निर्णायक धनकुमार मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान २०८१ बाट सम्मानित गरेको छ। उहाँसँगै छ जना खेलाडी, एक जना प्रशिक्षक, एक जना निर्णायक र एक जना खेलकुद चिकित्सकलाई मन्त्रालयले सम्मान तथा नगद पुरस्कार प्रदान गरेको हो।

धनकुमार मैनालीले सन् २०१३ मा भक्तपुर जिल्ला बक्सिङ संघद्वारा आयोजित नेशनल बक्सिङ रेफ्री/जज सर्टिफिकेशन कोर्स पूरा गर्दै निर्णायकको औपचारिक यात्रा सुरु गर्नु भएको हो। त्यसयता उहाँ निरन्तर बक्सिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिकामा क्रियाशील हुनुहुन्छ।

सन् २०१९ मा IBA (International Boxing Association) को वान स्टार रेफ्री/जज को प्रमाणपत्र प्राप्त गरी उहाँले १३औं दक्षिण एसियाली खेलकुद (SAG) मा निर्णायकको भूमिका निर्वाह गर्नु भयो।

त्यसपछि थाइल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनशिप–२०२१, बैंककमा आयोजित U-22 ASBC एशियन च्याम्पियनशिप मा निर्णायकको भूमिका निर्वाह गर्दै उहाँले सन् २०२२ मा IBA टु स्टार रेफ्री/जज सर्टिफिकेशन प्राप्त गर्नुभयो। त्यससाथै उहाँ नेपालकै पहिलो टु स्टार रेफ्री/जज बन्न सफल हुनु भएको हो।

उहाँले ब्राजिल, भारत, भूटान, दुबई, उज्बेकिस्तान, बुल्गेरिया, थाइल्यान्ड लगायतका देशहरूमा आयोजित अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताहरूमा निर्णायकको हैसियतमा कुशलतापूर्वक प्रतिनिधित्व गर्नु भएको छ।

सन् २०२४ मा काजकिस्तानमा आयोजित U-22 बक्सिङ च्याम्पियनशिप मा सहभागिता जनाउँदै उहाँले IBA थ्री स्टार रेफ्री/जज सर्टिफिकेशन कोर्स पनि पास गर्नुभयो। यससँगै उहाँ नेपालकै पहिलो थ्री स्टार रेफ्री/जज बन्न सफल हुनु भएको हो।

त्यसपछि उहाँले मोन्टेनेग्रोको बुड्वा शहरमा आयोजित IBA युथ विश्व बक्सिङ च्याम्पियनशिपमा निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो।

राष्ट्रिय खेलकुद सम्मान २०८१ मा तेक्वान्दोका भरत सिंह महता, प्रेमबहादुर लिम्बु, विरबहादुर महरा, कबड्डीकी अनुजा कुलुङ राई, मानमती विष्ट तथा फुटबलकी दीपाशाहीले खेलाडीको रूपमा सम्मान प्राप्त गरेका छन्। प्रशिक्षकतर्फ तेक्वान्दोका कविराज नेगी लामालाई सम्मान दिइएको छ भने चिकित्सकको रूपमा डा. राजु डंगोललाई सम्मान गरिएको छ।

सम्मानित सबैलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।

सम्मान कार्यक्रम युवा तथा खेलकुद मन्त्रालयको सभा हलमा सम्पन्न भएको थियो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राखेपका कार्यकारी सदस्य कमलबहादुर भट्टराई, सदस्य हिमालकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट खेलकुद पत्रकारलाई पनि सम्मान गरिएको थियाे ।