जनता टाइम्स

२९ बैशाख २०८२, सोमबार ०७:१८

कांग्रेस सभापति देउवाबाट बुद्ध जयन्ती र उँभौली पर्वको शुभकामना


काठमाडौं, २९ वैशाख ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गरेको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताउनुभएको छ । गौतम बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाले नेपाली भूमिमा जन्मिएका बुद्धका ज्ञान र आदर्शले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने बताउनुभएको छ । अशान्ति, हत्या र हिंसाको विरोध गरी देशमा शान्ति कायम र अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना गर्दै उहाँले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमीमा शुभकामना व्यक्त गर्नुभएको छ । यसैगरी, सभापति देउवाले प्रकृतिका पुजारी किरात समुदायको उँभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । उहाँले पृथ्वीमा कहीँकतै खाद्यान्नको अभाव नहोस्, अन्नबाली राम्रो होस् भन्दै वैशाख पूर्णिमाका दिन किरात समुदायले मनाउने उँभौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।