काठमाडौं, ३० बैशाख । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमाथि गरिने आलोचना र खण्डनहरू स्वीकार गर्न आफूहरू तयार रहेको बताउनुभएको छ।
मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्नुभयो। तर, विरोधका लागि विरोध मात्रै नगर्न सचेत पनि गराउनुभयो । ‘तपाईंहरू सबैले आलोचना गर्नुस् हामीलाई, हाम्रा कुराहरु खण्डन हुनसक्छ, खण्डन हुनसक्छ, त्यो हामी स्वीकार्न तयार छौँ, कहाँ बिग्रियो त्यो भन्नुहोला’, उहाँले भन्नुभयाे ।
‘जनताको हितमा कहाँ भएन ? लोकतन्त्रको हितमा कहाँ भएन भन्नुहोला,’ उहाँले भन्नुभयो , ‘हामी स्वीकार्न तयार छौँ, विरोधका लागि विरोध गर्ने भाष्य विकास भइरहेको छ, त्यसको व्यवस्थापनको कुरा गर्दा त्यहाँ पनि हामीले ठूलो ठूलो समस्या भोग्नुपरेको छ,’ उहाँले भन्नुभयो ‘मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको छ, यति धेरै पैसा कमाउने, सोसल नेटवर्क प्लेटफर्महरू छन् ।’
‘त्यसको प्रयोग जसले गरिरहेको छ, त्यसले नेपालको संविधान मान्नुपर्ने की नपर्ने ? नेपालको कानून मान्नुपर्ने की नपर्ने ? तपाईंहरु सबैले नेपालको कानून मान्नुपर्छ, मैले पर्छ, प्रधानमन्त्रीज्युले पर्छ । राष्ट्रपतिज्युले मान्नुपर्छ, अनि तिनले मान्न नपर्ने भन्ने हुन्छ र दुनियाँमा, त्यसको पक्षमा हामी किन लागिरहेका छौँ,त्यसको नियमन जरुरी छ’, मन्त्री गुरुङले भन्नुभयाे ।
साेसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेश भइसकेको र चाँडो भन्दा चाँडो पारित गर्ने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्