काठमाडौं, १ जेठ । चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष सियाओ जी चारदिने नेपाल भ्रमणका लागि काठमाडौं आउनुभएको छ । १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार राति काठमाडौं आएका उहाँ नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’मा सहभागी हुनुहुने छ । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले स्वागत गर्नुभएको छ ।
उपसभामुख इन्दिरा रानाको औपचारिक निमन्त्रणामा नेपाल आएका सियाओले काठमाडौं बसाइँको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर लगायतसँग भेट गर्नुहुने छ । सियाओको सम्मानमा उपसभामुख रानाले आज साँझ रात्रिभोज पनि आयोजना गर्नुहुने छ । उपाध्यक्ष सियाओ नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले सगरमाथा संवादमा सहभागी हुनुका साथै काठमाडौंका बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेक्र अवलोकन गर्ने कार्यक्रम समेत रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । चिनियाँ प्रतिनिधि मण्डल काठमाडौंबाट जेठ ३ गते दिउँसो स्वदेश प्रस्थान गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्