जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार १०:५९

नेपाली पत्रकारितामा नैतिकता खस्किएको छ, त्यसमा सुधार गर्नुपर्छ : गणेश बस्नेत 


काठमाडौं, १ जेठ। प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष वरिष्ठ पत्रकार गणेश बस्नेले नेपाली पत्रकारिता क्षेत्र माथि उठेको प्रश्नको जवाफ पत्रकारहरूले कामबाटै दिनु पर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष बस्नेतले बिहीबार एक रेडियो कार्यक्रमलाई अन्तर्वार्ता दिँदै बस्नेतले नेपाली सञ्चार क्षेत्र माथि ८० प्रतिशत प्रश्न सुनियोजित रूपमा बदनाम गराउनेहरूले उठाएका र २० प्रतिशत भने पत्रकार र मिडिया हाउस सच्चिनु पर्ने प्रश्न उठेका बताउनुभयो ।

नेपालको पत्रकारिता प्रविधि, अध्ययन, चिन्तन र गुणस्तरीयताको हिसाबले धेरै अघि बढिसकेको बस्नेतले बताउनुभयो । २०५० साल अघिसम्म नेपालका कुनै पनि पत्रकार कम्प्युटरमा टाइप गर्न समेत नसक्ने अवस्थामा रहेका उहाँले बताउनुभयो । ‘प्रविधिको विकासको कुरा गर्ने हो भने हामी शून्यबाट ५० मा पुगेका छौँ’, उहाँले भन्नुभयो ।

मिसन पत्रकारिताको नाममा अहिले व्यक्तिको चरित्र हत्या गर्ने कुरा निक्कै बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘नैतिकताको हिसाबले नेपाली पत्रकारिता खस्किएको छ, पत्रकारिताको नाममा व्यक्तिको चरित्र हत्या गर्ने क्रम बढेको छ’, उहाँले भन्नुभयो ।

उहाँले मिसन पत्रकारिता भनेको कसैको चरित्र हत्या गर्ने पत्रकारिता नभएको उहाँले बताउनुभयो । मिसन पत्रकारिता भनेको आफ्ना राम्रा कुरा दुनियाँ समक्ष लैजाने भएको उहाँले स्पष्ट पार्नुभयो । मिसन पत्रकारिताको लक्ष कमजोरलाई साथ दिनु भएको उहाँले बताउनुभयो । कमजोरलाई साथ दिने मिसन नै पत्रकारिताको मिसन हो ।

अहिले व्यावसायिक भन्नेहरूले सुनियोजित रूपमा निश्चित व्यक्तिका विरुद्ध अफवाह फैलाउने काम गरिरहेका बस्नेतले बताउनुभयो । पार्टीका मुखपत्रले भन्दा व्यावसायिक भनिनेहरूले अफवाह फैलाउने गरेका उहाँको भनाइ छ ।

सत्य कहिल्यै पनि नमर्ने बताउँदै कुनै न कुनै दिन सत्य स्थापित हुने उहाँको धारणा छ । केही समय सत्यलाई लुकाउन सकिने भए पनि त्यो धेरै नटिक्ने उहाँको धारणा छ । त्यसैले पत्रकारिताले सत्यको साथ छाड्न नहुने र तथ्यको आधारमा सत्य स्थापित गर्नुपर्ने बस्नेतले बताउनुभयो ।

नेपालको परिवर्तनका आन्दोलनमा मिडियाहरूको उल्लेख्य योगदान रहेको उहाँले बताउनुभयो । तर सरकारमा पुगेपछि नेताहरूको मिडिया क्षेत्रमा लगानी गर्ने कुरा प्राथमिकतामा नपरेको उहाँको धारणा छ । पत्रकारितालाई मर्यादित बनाउन राज्यको लगानीको प्राथमिकता पर्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारको लगानी नहुँदा नेपाली पत्रकारिताले अभाव, दबाब, प्रभाव र तनाव खेपिरहनु परेको उहाँले बताउनुभयो । यिनै कुराले गर्दा नेपाली पत्रकारिता सही हिसाबले अघि बढ्न नसकेको उहाँको धारणा छ । बस्नेतले नेपालको पत्रकारितालाई मर्यादित बनाउन सबैभन्दा पहिला पत्रकार नै सच्चिनु पर्ने बताउनुभयो ।

त्यसमा राज्यले सहयोग गर्नुपर्ने उहाँको धारणा छ । ‘हामी मैदानमा छौँ, त्रुटि हामीले नै गरिरहेका छौँ, हामीले गरेको सानो त्रुटिलाई पनि अरूले ठुलो बनाइदियो, त्यसैले हाम्रो त्रुटि हामीले नै सुधार्नु पर्छ, म बाहेक सबै सच्चिनु पर्छ, म चाहिँ सच्चिनु पर्दैन भन्ने मानसिकताबाट सबै सच्चिनु पर्छ, अहिले व्यक्ति व्यक्तिमा रूपान्तरण हुन जरुरी छ’, उहाँले भन्नुभयो ।