जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार १४:५८

सैन्य सम्झौता नभएकोले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न  प्रधानमन्त्रीको रुसी राष्ट्रपतिलाई आग्रह  


काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासंघ अन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र रुसबिचको  मित्रवत् सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

भेटमा प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिनुभएको छ । प्रधानमन्त्री ओलीले पनि रुसका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल र रुसबिच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन आग्रह गर्नुभयो । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाउनुभयो ।

भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुन्थ्यो ।