काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकता लगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर उकास्न बैङ्कले गर्दै आएको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्दै उचित राजस्व परिचालन र विकासका खर्चका लागि प्रभावकारी व्यवस्थापन सरकारको प्राथमिकता रहेको सुनाउनुभयो । उहाँले उत्पादन र उत्पादकत्व वृद्धिका लागि थालेका काम सक्ने नति अनुरूप आगामी बजेटबाट समयमा परियोजनाहरू सम्पन्न गर्ने गरी प्रबन्ध गरिने अवगत गराउनुभयो ।
उपाध्यक्ष रायसरले बैङ्कको सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दै वातावरणीय मुद्दामा प्राथमिकता दिएर नेपालले सगरमाथा संवादको आयोजना गरेकामा सफलताको कामना गर्नुभयो ।
बैङ्कले नेपालमा यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत १० क्षेत्रमा २ मिलियन अमेरिकी डलरको लगानी गरेको छ ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, बैँकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागी हुनुन्थ्यो ।
आजबाट जेठ ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौँमा सगरमाथा संवादको आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्