काठमाडौं, २ जेठ । जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित (मदन–आश्रित) को ३२ औँ स्मृति दिवस नेकपा एमालेले शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउने भएको छ ।
नेकपा एमालेले पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृति सभा आयोजना गर्न निर्देशन गरेको छ । पार्टी केन्द्रले दिवसका अवसरमा विभिन्न सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यक्रम गर्न निर्देश गरेको छ ।
काठमाडौंमा भने विगत वर्षमा जस्तै पार्टी केन्द्रीय कार्यालयको आयोजनामा मदन नगर बल्खुमा स्मृति कार्यक्रम आयोजना गरिने भएको छ । स्मृति कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रमको तयारीका सन्दर्भमा बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय विभागहरू, उपत्यकाका तीन जिल्ला कमिटी, जनसङ्गठन र सम्पर्क मञ्चका पदाधिकारी तथा प्रतिनिधिहरूको बैठक सम्पन्न भएको छ । बैठकमा महासचिव शंकर पोखरेलले यस वर्षको मदन–आश्रित स्मृति दिवसलाई ऐतिहासिक बनाउनुपर्ने बताउँदै त्यस अनुसार तयारी गर्न निर्देशन दिनुभयो ।
पोखरेलले मदन–आश्रित स्मृति दिवसलाई जनताको बहुदलीय जनवादको विचारलाई स्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । यति बेला नेपाली समाज विचार शून्यता र राजनीतिप्रति वितृष्णाको हावाबाट प्रभावित भएकाले त्यसलाई चिरेर राजनीति र विचारप्रति विश्वास जागृत गराउनु पर्ने उहाँले स्पष्ट पार्नुभयो ।
भण्डारी र आश्रितको २०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा परी रहस्यमय हत्या भएको थियो । सो घटनाको रहस्य अहिलेसम्म पत्ता लागेको छैन ।
महासचिव पोखरेल लगायतका नेताहरूले भोलि कार्यक्रम आयोजना हुने स्थल बल्खुमा मञ्चको तयारी लगायतको अवस्था बारे स्थलगत अवलोकन गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्