जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार ०६:३९

आज मदन–आश्रित स्मृति दिवस, एमालेले विशेष कार्यक्रमका साथ मनाउँदै 


काठमाडौं, ३ जेठ । आज जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित) को ३२ औँ स्मृति दिवस  । नेकपा एमालेले देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउँदै छ ।

नेकपा एमालेले पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृति सभा आयोजना गर्न निर्देशन गरेको छ । पार्टी केन्द्रले दिवसका अवसरमा विभिन्न सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यक्रम गर्न निर्देश गरेको छ ।

काठमाडौंमा भने विगत वर्षमा जस्तै पार्टी केन्द्रीय कार्यालयको आयोजनामा मदन नगर बल्खुमा स्मृति कार्यक्रम आयोजना गरिने भएको छ । स्मृति कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रमको तयारीका सन्दर्भमा बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय विभागहरू, उपत्यकाका तीन जिल्ला कमिटी, जनसङ्गठन र सम्पर्क मञ्चका पदाधिकारी तथा प्रतिनिधिहरूको बैठक सम्पन्न भएको थियो । बैठकमा महासचिव शंकर पोखरेलले यस वर्षको मदन–आश्रित स्मृति दिवसलाई ऐतिहासिक बनाउनुपर्ने बताउँदै त्यस अनुसार तयारी गर्न निर्देशन दिनुभयो ।

पोखरेलले मदन–आश्रित स्मृति दिवसलाई जनताको बहुदलीय जनवादको विचारलाई स्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । यतिबेला नेपाली समाज विचार शून्यता र राजनीतिप्रति वितृष्णाको हावाबाट प्रभावित भएकाले त्यसलाई चिरेर राजनीति र विचारप्रति विश्वास जागृत गराउनु पर्ने उहाँले स्पष्ट पार्नुभयो ।

भण्डारी र आश्रितको २०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा परी रहस्यमय हत्या भएको थियो । सो घटनाको रहस्य अहिलेसम्म पत्ता लागेको छैन ।