काठमाडौं, ३ जेठ । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले देश सुशासन र विकासको बाटोमा तीव्र गतिमा अघि बढ्ने प्रयासमा रहेको बताउनुभएको छ ।
देशलाई पूर्ण रूपमा सही दिशामा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको ओलीले बताउनुभयो । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा शनिबार पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले देशलाई बिगार्न नदिन र सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकारका चाहिने बताउनुभएको हो ।
देश बनाउन एमाले नै चाहिन्छ भन्ने कुरा बुझ्न ओलीले आग्रह गर्नुभयो । ‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौँ अब त्यो भ्रममा रहनु हुँदैन, साना साना स्वार्थ लिएकाहरूले हामी विरुद्ध भ्रम फिँजाएका छन्, त्यस्तो भ्रममा पर्नु हुँदैन, एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरूले साथ दिनुपर्छ’, उहाँले भन्नुभयो ।
ओलीले काम र अनुभवले युवा नेतृत्वमा स्थापित हुने बताउनुभयो । ‘युवाहरूलाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहन्नँ, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ’, ओलीले भन्नुभयो ।
कार्यक्रममा युवा चिकित्सक, इन्जिनियरसहित करिब एक सय जना एमालेमा प्रवेश गरेका थिए । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्