जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार १७:०२

प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट, जापानको सहयोग निरन्तर रहने प्रतिबद्धता 


काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका उपविदेशमन्त्री इक्युना आकिकोले शनिबार शिष्टाचार भेट गर्नुभएको छ ।

सगरमाथा संवादका लागि नेपालमा रहनुभएका आकिकोले प्रधाननमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायु परिवर्तन अहिलेको समयको एक जल्दो बल्दो समस्या भएको बताउनुभयो ।

ओलीले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले अनुकूलन पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव आफूहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै आएको बहुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताउनुभयो ।

भेटमा नेपालका लागि जापानी राजदूत माइदा तोरु तथा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुन्थ्यो ।