काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार आज पोखरा जानुहुने भएको छ। पोखरामा हुने नेकपा (एमाले) निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री ओली जान लाग्नुभएको हो । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उनी बिहान ११ः३० बजे पोखरा जाने तयारी छ ।
प्रधानमन्त्री ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । जनसंगठन समन्वय संयन्त्र प्रमुख रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल भने पोखरा पुगि सकेका छन् ।
पोखराको अमरसिंहमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र पोखरा सभागृहमा हुनेछ । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । देशभरबाट करिब २ हजार प्रतिनिधि सहभागी हुनेछन् । जेठ ११ गतेसम्म चल्ने महाधिवेनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्