काठमाडौं, १० जेठ। गृह मन्त्री रमेश लेखकले आफू विरुद्ध भिजिट भिसाको विषयमा सुनियोजित रूपमा प्रचारबाजी गरिएको आरोप लगाउनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसा अनियमितता प्रकरणमा उहाँको नाम जोडिएपछि राजीनामाको माग उठिरहेको बेला लेकले त्यसको इन्कार गर्दै सार्वजनिक वक्तव्य दिनुभएको छ । ‘मेरा विरुद्धमा नियोजित र षडयन्त्रमूलक ढङ्गबाट झुटा प्रचारबाजी भइरहेको छ, म सबैलाई के आग्रह गर्न चाहन्छु भने–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्र होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने, म पदबाट होइन, म राजनीतिबाट राजीनामा दिन्छु’, सार्वजनिक भिडियो वक्तव्य दिँदै लेखकले भन्नुभएको छ ।
यस बारेमा विस्तृत कुरा जेठ १३ गते प्रतिनिधि सभा बैठकमा राख्ने पनि उहाँले जानकारी दिनुभयो । ‘प्रतिनिधि सभामा बोल्नका लागि मैले समय माग गरिसकेको छु, अरू विस्तृत कुरा म प्रतिनिधि सभामा राख्ने छु’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्