जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार २१:१७

गणतन्त्र दिवस जनताको दिवस हो, यसलाई जनस्तरबाटै मनाउनुपर्छ : प्रधानमन्त्री 


काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्य रूपमा मनाउन आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रूपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारी स्तरका साथै जनस्तरबाट पनि मनाउनु पर्ने बताउनुभयो । नेपाल सरकारले यही जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षताका मूल आयोजक समिति गठन गरेको छ ।

‘गणतन्त्र दिवस जनताको दिवस हो, यसलाई जातजातिगत विविध बाजागाजा र झाँकीसहित हरेक ठाउँबाट उत्सवका रूपमा मनाउनुपर्छ, जनताले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा हामी छौँ र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बिचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुपर्दछ’, ओलीले भन्नुभयो ।

आजै सम्पन्न एमालेको सचिवालयको बैठकले गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको छ । सो निर्णयको कार्यान्वयनका क्रममा प्रेस चौतारी नेपालले सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसारको अगुवाइ गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई देशभक्तहरू प्यारो लाग्ने बताउनुभयो ।  देशद्रोही तथा प्रतिक्रियावादीहरूबाट सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले जस्तोसुकै कठिन अवस्थामा पनि राष्ट्र राष्ट्रियताको पक्षमा उभिनु पर्नेमा जोड दिनुभयो ।

भेटमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले आफूहरू नेतृत्वमा आएपछि वर्ष २०८२ लाई प्रशिक्षण वर्षका रूपमा मनाउने लगायतको योजनाहरू सुनाउनुभयो ।