जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार १२:१५

कांग्रेस बैठकमा उठ्यो गृहमन्त्रीको राजीनामा माग्ने नेतालाई स्पष्टीकरण सोध्नुपर्ने माग


काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनी अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ ।सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी नेताहरूलाई सुनाएका थिए ।

बैठकमा बोल्ने क्रममा नेताहरूले पार्टी भित्रैबाट गृहमन्त्री लेखकको राजीनामा मागिएकोप्रति आपत्ति जनाएका थिए । नेता डा. शशांक कोइरालाले राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने धारणा आएको बैठकपछि पत्रकारलाई दिनुभयो । ‘हामीले सभापतिलाई के भन्यौं भने, तपाईं अब उनीहरूलाई बोलाउनूस् । सोध्नूस्, के भएको हो ? निकास निकाल्नु पर्‍यो नि । एक आपसमा मुठभेड गरेर कसलाई फाइदा हुन्छ रु स्पष्टीकरण माग्नूस् शेखर डा. साबसँग, सुनीलसँग, राजेन्द्र बजगाईंसँग,’ बैठकपछि नेता कोइरालाले भन्नुभयो । नेताहरूले उनीहरुसँग स्पष्टीकरण सोध्न माग गरेपछि सभापति शेरबहादुर देउवा हुन्छ हुन्न केही जवाफ नदिएको कोइरालाले बताउनुभयो ।

संस्थापनइतरका नेता डा। शेखर कोइरालाले छानबिनलाई सघाउन गृहमन्त्री लेखकले राजीनामा दिनु उचित हुने बताउनुभयो। उहाँ पक्षीय सांसदहरू डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विचार राख्नुभएको थियो । कांग्रेस पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निचोड निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।