जनता टाइम्स

१९ कार्तिक २०७६, मंगलवार १७:५८

आफ्नै बाबुबिरुद्ध लडेर जनताको पक्षमा उभिने अथक योद्दा हुन बिष्णु प्रसाईं, यस्तो छ कठोर यात्रा


मुक्ति पौडेल/झापा । चिनियाँ कम्यूनिष्ट क्रान्तिका नायक माओत्सेतुङ (सन् १८९३–१९७६) ले भनेका छन– ‘राजनीतिक, सामाजिक, साँस्कृतिक वा आर्थिक परिवर्तनका लागि गरिने क्रान्ति कार्यकर्तामाथि निर्भर हुन्छ ।’ सन् १९४९ देखि १९७५ सम्म भएको चिनियाँ जनयुद्धले गणतन्त्र स्थापना गर्यो । मुलुकलाई आर्थिक समृद्धि र विकासको बाटोमा अगाडि बढाउने आधार त्यही जनयुद्धले तयार गर्यो । परिणामस्वरुप चीन विश्वको शक्तिशालि राष्ट्र बन्न सफल भयो । तर, त्यसका लागि लाखौँ चिनियाँ नागरिकले जीवन उत्सर्ग गरेका थिए । उनीहरुको बलिदानबाटै आज चीन सफल राष्ट्र बन्न सफल भएको हो । तर, माओले नेतृत्व गरेको चिनियाँ जनयुद्धमा पनि ठूल्ठूला अन्तरघात भएको इतिहास पाइन्छ । तर, इमान्दार कार्यकर्ता पंक्ति सधैं राष्ट्रको पक्षमा लागिरहे । र, आन्दोलन सफल भयो, समृद्ध राष्ट्रको सपना पनि साकार भयो ।
नेपाली कम्यूनिष्ट आन्दोलन पनि अव बिस्तारै एकताको बाटोमा छ । विभिन्न किसिमका षड्यन्त्रका माझबाट नेपाली वाम आन्दोलन अघि बढिरहेको छ, सफल हुँदैछ । जसमा धेरै निष्ठावान, पार्टीप्रति प्रतिबद्ध, जुझारु र निरन्तर संघर्ष गरिरहने महान कार्यकर्ताको अविचलित र अमूल्य योगदान रहेको छ । यही लहरमा निरन्तर वाम आन्दोलनलाई अघि बढाउन र पार्टीलाई बचाई राख्न अथक प्रयास गर्ने निष्ठाका नायक हुन्, विष्णु प्रसाई । झापाको मेचीनगरस्थित धुलाबारी निवासी प्रसाई नेपालको कम्यूनिष्ट आन्दोलनका यस्ता सिपाही हुन्, जसले समाज र जनताका लागि आफ्नो जीवन सुम्पिएका छन् । ‘मैले पाउनु केही छैन, पाउने आशा पनि राखेको छैन’, नवनियुक्त प्रदेश ३ का प्रमुख प्रसाईंले भन्नुभयो, ‘चेतना आएदेखि नै म जनताको पक्षमा निःस्वार्थ लडिरहेको छु ।’ विद्यार्थी जीवनबाट शुरु भएको प्रसार्इंको राजनीतिक यात्रा इन्द्रावतीझैं सललल बगिरहेको छ । उहाँ त्यहीँ रमाउनु भएको छ । जनतालाई सेवा दिँदा हुने आत्मसन्तुष्टिले प्रसाईंलाई अझै लगनशील बन्न प्रेरित गरिरहेको छ ।

हुन त, विष्णु प्रसाई सामन्ती परिवारमा जन्मनुभएको हो । वि.सं. २०१० साल साउन २१ गते बुधबारका दिन बुवा पुण्यप्रसाद प्रसाईं र आमा मनमाया प्रसाईंका छोराका रुपमा उहाँको आगमन भयो । पुण्यप्रसादका ४ जना श्रीमती हरिमाया, मनमाया, रमादेवी र भागिरथामध्ये माइली मनमायाको कोखबाट तेह्रथुमको हामपाङमा बिष्णु जन्मनुभएको थियो । सानैदेखि निडर स्वभावका विष्णु प्रसार्इंको आफ्ना बुवासँगै टक्कर पथ्र्याे । शोषित पीडितको पक्षमा लाग्ने विष्णुको व्यवहार सामन्ती संस्कारमा हुर्किएको पुण्यप्रसाद प्रसाईंलाई मन पर्दैनथ्यो ।

आफ्ना बुवाका गलत कार्यविरुद्ध उहाँ बोलिरहनु हुन्थ्यो । र, कसैलाई अन्याय भए न्याय दिन तम्सनुहुन्थ्यो । झापा झरेपछि पनि उहाँको सामाजिक कार्यको बाटो निरन्तर चलिरह्यो । २०३० सालमा उहाँ वडा सदस्य बन्नुभयो । त्यहीबेला मोही हटाउने बाबुको नियत थाहा पाउनुभयो । ‘मोहीको घरबाट धान मैले नै ल्याएको थिएँ’, उहाँ सम्झिनुहुन्छ, ‘तर, भरपाई लिन आउँदा बुवाले दिनुभएन र भूमि सुधार कार्यालयमा मुद्दा दायर गर्नु भयो । मोही माथिको अन्याय सहिन, आफैँ गएर बयान दिएँ र उनीहरुलाई न्याय दिलाएँ ।’ वि.स. २०३० सालमा भूमि सुधार अधिकारी नरेन्द्र केसीले प्रसार्इंतिर देखाउँदै ‘यो मुलुकमा यस्तै युवाको खाँचो छ’ भनेको उहाँको मानसपटलमा अझै ताजै छ ।

वि.सं. २०२७ साल विष्णु प्रसाईंका लागि राजनीतिक यात्रा प्रवेशको वर्ष बन्यो । सीपी मैनाली र केपी शर्मा ओलीसँग प्रसाईको भेट भयो । प्रसाई त्यतिबेला धुलाबारी हाई स्कुलमा पढनुहुन्थ्यो । ‘म २०–५० युवाको नेतृत्व गर्थे, तर राजनीतिक चेतना थिएन,’ उहाँले भन्नुभयो, ‘अनेरास्ववियु गठन गर्दा पक्राउ परेपछि सीपी मैनालीले जेलमै राजनीतिक शिक्षा प्रदान गर्नुभयो ।’ त्यतिबेला २ महिनाभन्दा धेरै समय उहाँ जेल बस्नुभएको थियो । ‘जेलबाट छुटेपछि जनजागृति कुइनेटोबाट पुस्तक किनेँ’, उहाँले भन्नुभयो, ‘माक्र्सवादी पुस्तक पढेपछि थप ज्ञान आर्जन भयो ।’ उहाँका अनुसार केपी ओली र सीपी मैनालीले शोषित पीडित जनताको पक्षमा लाग्न निरन्तर ढाडस दिइरहनुभयो । वडा सदस्य भएपछि उहाँ गाउँको विकासमा लाग्नुभयो ।

किसान र मजदुरका पक्षमा पनि सक्रिय रहेका प्रसाईले २०३७ सालमा भएको पाटा काण्डको पनि अगुवाई गर्नुभयो । ‘१६ रुपैयाँमा एक किलो चिनी पाइन्थ्यो, एक मन पाटाको मूल्य पनि १६ रुपैयाँ नै थियो’, प्रसाईंले भन्नुभयो, ‘किसानको श्रमको मूल्य पनि नउठ्ने स्थिति भएपछि किसानले विद्रोह गरे ।’ अखिल नेपाल किसान संघको अगुवाईमा भएको पाटा काण्डमा मेचीनगरमा विष्णु प्रसाई, गौरादहबाट हिरा थापा र चन्द्रगढीबाट भीम कुँवरले नेतृत्व गर्नुभएको थियो । त्यही आन्दोलनमा प्रसाई फेरि पक्राउ पर्नुभयो । ‘६–७ महिना जेल बसें,’ प्रसाई सम्झनुहुन्छ, ‘तर, पार्टीप्रतिको जिम्मेवारी र जनताप्रतिको समर्पण र दायित्वबाट कहिल्यै विचलित भइँन ।’

बहुदलीय व्यवस्था ल्याउने क्रममा राजनीतिक माहोल अलि सुध्रिएको थियो । सामन्तवादी शासन व्यवस्थाविरुद्ध अघि बढेका प्रसाईका पाइला विस्तारै सशक्त रुपमा उचाई लिँदै थिए । त्यही क्रममा उहाँ जनताको प्रतिनिधि हुनुभयो । प्रसाई वि.सं. २०४४ सालमा धाइजन गाविसको प्रधानपञ्च भए । ‘तर, २०३६ सालतिर पार्टी भित्रैबाट जिम्मेवारीविहीन गर्ने कोसिस भयो’, उहाँले भन्नुभयो, ‘अमृत बोहोरासँग कुरा गरेपछि त्यो समस्या पनि हल भयो ।’ प्रधानपञ्च भएपछि उहाँ गाउँको विकासमा जुटनुभयो । कोदालो बोकेर आफैँ बाटो खन्न, तटबन्ध बनाउन पुग्ने प्रसाईको अगुवाईमा विकासले फट्को मार्यो । ‘तत्कालिन प्रमुख जिल्ला अधिकारीले पञ्चहरुलाई धाइजन गएर विष्णु प्रसाईको काम हेर, त्यतिकै पैसा खान पाउँछौँ ? भन्थे,’ उहाँले विगत कोट्याउँदै भन्नुभयो, ‘लगत्तै तटबन्ध निर्माण गर्नका लागि १ लाख ६५ हजार रुपैयाँ बजेट प्राप्त भयो, हामीले दोगुणा काम गर्यौँ ।’

जनपक्षीय मञ्च गठन गरेपछि वि.सं. २०४५ साल असार महिनामा प्रसाई पक्राउ पर्नुभयो । २०४५ असार १५ गते हजुरआमाको निधन भयो । प्रसाईकी हजुरआमाको काजक्रिया असार २७ गते सकियो । लालपानीबाट २८ गते घर आइपुगेका प्रसाईलाई प्रहरीले घरैबाट उठायो । ‘१३ महिना इलाम, ११ महिना सिराहा र बाँकी समय राजविराज जेलमा राख्यो’, कारावासका कठिन दिनको सम्झना गर्दै प्रसाईले थप्नुभयो, ‘कारागारमा बस्दा पनि अधिकारको आन्दोलन चलिरह्यो ।’ ५५ जना अट्ने कारागारमा १ सय ५ जनाभन्दा धेरै कैदीबन्दी राखेपछि आन्दोलन गरेको प्रसाईले बताउनुभयो । आन्दोलन साम्य पार्नकै लागि रामचन्द्र उप्रेती, डिल्लीकुमार मैनाली र विष्णु प्रसाईलाई प्रशासनले सिराहा जेल पुर्यायो । २०४८ साल वैशाख ८ गते जेलमुक्त भएपछि प्रसाई खुल्ला राजनीतिमा फर्किनुभयो ।

२०४८ सालमा पार्टीले सदस्यता वितरण गरेपछि प्रसाई औपचारिक रुपमा नेकपा एमालेको कार्यकर्ता हुनुभयो । ‘२०२७ सालमा अनेरास्ववियुबाट राजनीति शुरु भयो, तर त्यो बेला सदस्यता वितरणमा कडाई थियो,’ प्रसाईले भन्नुभयो, ‘२०४८ सालयता निरन्तर पार्टीकै काममा छु ।’ त्यो भन्दा अघि पनि उहाँ वाम आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । प्रसाई जेल पर्दा घरको व्यवस्थापन उहाँँकी श्रीमती लताले गर्नुभयो । ‘मेरो सफलतामा लताको अमूल्य योगदान छ,’ प्रसाईले भन्नुभयो । जेलमुक्त भएपछि एमाले जिल्ला कमिटीमा रहेर १८ वर्ष काम गर्नुभएका प्रसाई वि.सं. २०४९ सालमा जिविस सदस्यमा उम्मेद्वार बन्नुभयो । तर, पार्टीको अन्तरघातबाट चुनाव हार्नुभयो ।

२०५४ सालमा जिविस उपसभापति निर्वाचित हुनुभयो । पार्टी निर्णय विपरीत नजाने अडानमा बस्नुहुन्थ्यो । ‘केन्द्रीय कमिटीको निर्णय मान्ने र सूर्य चिन्ह मेरो हो भन्ने सोच्छु’, प्रसाईले भन्नुभयो, ‘दुई सभापतिमा मैले अर्जुन राई रोजें, फेरि नरेश खरेललाई पठाइयो, तर चिन्ह तारा थियो उहाँसँग जान सकिन ।’ २०५६ सालमा पार्टी विभाजन हुँदा उहाँ ठूलो पीडामा पर्नुभयो । उहाँमाथि जिम्मेवारी पनि थपियो । सोही सालको चुनावमा सांसद्मा लडनुभएका प्रसाईले १७,८५२ मत प्राप्त गरेपनि पराजीत हुनुभयो । काँग्रेसले चुनाव जित्यो । ‘त्यो भन्दा अघिको निर्वाचनमा १५ हजार मत ल्याएर एमालेका देवी ओझा विजयी हुनुभयो, मत त बढ्यो तर काँग्रेसले जित्यो,’ प्रसाईले सम्झनुभयो ।

चेतनास्तर बढ्दै गएपछि निष्ठाको राजनीतिमा होमिएका प्रसाईले औपचारिक शिक्षा एसएलसीसम्म रहेको छ । कक्षा ५ सम्म आठराई हामपाङमा पढेका प्रसाईले ६ देखि ९ सम्म धुलाबारी हाइस्कूलमा पढनुभयो । ९ कक्षामा पढ्दा नै जेल परेका प्रसाईले आठराईबाट एसएलसी पास गर्नुभयो । ‘पीपी सिटौला, नरेश शाक्यलगायतका कम्युनिष्ट पार्टीको अगुवाई गर्ने शिक्षक हुनुहुन्थ्यो,’ प्रसाईले भन्नुभयो । उहाँले आठराईमा पढ्नका लागि देखिएको अप्ठ्यारो सम्झिदै थप्नुभयो, ‘उहाँहरुले एडमिसन गर्न भन्नु भयो तर बुवा मान्नु भएन, अनि मामालाई भनें, झापा फर्किने दिन बुवाले पढ्छस् भने राम्रो पढ्नु भन्नुभयो ।’ र, एसएलसी परीक्षा दिनुभयो, उतिर्ण पनि हुनुभयो ।

त्यसपछि प्रसाईको पढाई रोकियो । वि.सं. २०५१ सालमा चिया विकास निगमको कार्यकारी अध्यक्ष हुनुभएका प्रसाईले २०५६ सालको निर्वाचनमा पाएको असफलता चिर्न चाहनुहुन्थ्यो । पार्टीको पक्षमा लागेर काम गरेका प्रसाईको नाम सांसद्का लागि पुनः सिफारिस गरिएको थियो । तर, केन्द्रीय तहबाट नरेश खरेलको नाम सांसद्का लागि आयो । ‘त्यति बेला मैले १७ वर्ष जेल बस्ने योद्धा भएको नाताले नरेशजीलाई जिताउन लागें, पार्टीको निर्णय मानेर जनताका घरघरमा पुगेर एमालेको पक्षमा भोट हाल्न आग्रह गरें,’ प्रसाईले भन्नुभयो, ‘दोश्रो संविधानसभामा टिकट पाउँछु होला भन्ने लागेको थियो, तर त्यहाँ पनि नेताहरुको भागबण्डामा परिन ।’ दोश्रो संविधानसभामा प्रसाईंको नाम सभासद्का लागि छानिएको थियो । तर, अन्तिम समयमा एमालेले जिल्ला अध्यक्ष रविन कोइरालालाई उठाउने निधो गर्यो ।

‘पार्टीले मलाई नउठाउने निर्णय गरेपछि धेरै साथीहरु विद्रोह गर्ने तयारीमा थिए,’ उहाँले भन्नुभयो, ‘रविन कोइराला, सूर्य चिन्ह र एमाले हाम्रो संगठन हो भनेर मैले नै रोकें ।’ पार्टीले जे निर्णय गरेपनि स्वीकार गर्ने प्रसाईको बिशेषता नै हो । ‘म पार्टीप्रति प्रतिबद्ध छु, पार्टी नीतिविरुद्ध जाने सोच कहिल्यै आएन, आउने छैन पनि,’ प्रसाईले भन्नुभयो । एमालेभित्र नेताहरु आउने जाने क्रम चलिरह्यो, त्यो क्रम जारी छ । तर, नेता विष्णु प्रसार्इं यस्ता सदाबहार वाम योद्धा हुन्, जसले पार्टी, कार्यकर्ता र जनताको पक्षमा सधैं लडिरहने प्रतिज्ञा गर्नुभएको छ । तिनै अथक योद्दा प्रसाईलाई ओली सरकारले प्रदेश ३ को प्रमुख बनाउने निर्णय गरेर आन्दोलन र इमान्दारिताको कदर गरेको छ ।