जनता टाइम्स

१ मंसिर २०७६, आईतवार १४:३०

भारतले नेपाली भूमिबाट आफ्नो सेना फिर्ता लैजानुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं, मंसिर १

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा दृढ रहेको बताउनुभएको छ । नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई आइतबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘पहिले राष्ट्रियताको पक्षमा सरकार अडिइदिए हुन्थ्यो भन्‍ने मृगतृष्णा थियो, अहिले दृढ सरकार छु, उहाँले भन्नुभयो, ‘भौगोलिक अखण्डता र राष्ट्रिय हित संरक्षणमा दृढ सरकार छ ।’

उहाँले थप्नुभयो, ‘हामी लामो समयपछि महत्त्वपूर्ण क्षणमा छौँ । देश र जनताको सेवामा समर्पित संगठन बनाउन खोजेका थियौं। पार्टी एकताबाट नयाँ उचाइमा उठाएका थियौं। त्यस सिलसिलालाई अन्तिम रूप दिन एकता टुंग्याइएको हो, यो युवाहरूलाई एक ठाउँमा ल्याउने कार्यक्रम हो ।’ प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमिबाट पछि हट्नुको विकल्प नरहेको समेत सुनाउनुभयो । ‘सीमा समस्या अहिले भर्खरै भएको होइन, अघिल्लो शताब्दीमा भएको हो, मिचिएको हो,’ उहाँले भन्नुभयो, ‘केहीले अहिले भर्खरै भएको हो कि झैं कुरा उठाइरहेका छन्, त्यसो होइन ।’

सीमा मिचिएको मुद्दामा भइरहेको आन्दोलनबारे आफु जानकार रहेको उहाँले बताउनुभयो । ‘सीमाको विषयमा केहीले आन्दोलन गरिरहेका छन्। युवा (विद्यार्थी सडकमा उत्रिएका छन्,’ उहाँले भन्नुभयो, ‘राजनीतिक नाममा केही उछृंखल गतिविधि पनि देखिए तर त्यो ठीक होइन, केहीले अतिरिक्त हिरो देखिन, अतिरिक्त देशभक्त देखिने प्रयास गरे, त्यो पनि ठीक होइन ।’ प्रधानमन्त्री ओलीले उछृङ्खलताले समस्या समाधान नहुने तर्क गर्नुभयो ।

उहाँले नेपाली भूमिमा बसेका भारतीय सेना फिर्ता पठाउनु समस्या समाधान भएको उल्लेख गर्नुभयो । ‘हामी भारतलाई हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् भन्छौ । हामी हाम्रो जमिनमा हाम्रो सेना राख्छौँ भन्छौं’ उहाँले थप्नुभयो, ‘हामी विश्व शान्तिमा लागेका छौँ । शान्ति सेनामा हाम्रा सैनिक पठाएर, अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ ।’ अहिलेको सरकार भारतसँग संवाद गर्न नडराएको उहाँको तर्क थियो।

‘अहिलेको सरकार संवाद गर्न नसक्ने होइन, इतिहासले देखाइसकेको छ। सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्छु, ओलीले अगाडि थपे, ‘कतिपयले नक्सा सच्याउन भनेका छन्, तर त्यो समाधान होइन। मिचिएको भूमि फिर्ता लिने कुरा हो। नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी हाम्रो भूमि फिर्ता लिन्छौं। सीमाको मुद्दामा सबै एकताबद्ध भएकोमा खुसी व्यक्त गर्न चाहन्छु ।’ उहाँले लामो समयको संक्रमणकाल अन्त्य भएको पनि उल्लेख गर्नुभयो ।

‘हामीले देशको अवस्था थाहा पाउन जरुरी छ, धेरै महत्त्वपूर्ण संक्रमणकाल टुंग्याएर यहाँ आइपुगेका छौं । उहाँले भन्नुभयो, ‘केही पहिले गोलीबारी भयो, मान्छे मारामार भयो, आन्दोलन र नारा जुलुस हुन्थे तर अहिले छैन। लोकतन्त्र चाहियो भनिन्थ्यो, नारा लाग्थ्यो, अहिले लोकतन्त्र छ ।’ लोकतन्त्र आएपछि पनि केही मानिसले स्वतन्त्रताको नाममा उछृंखल गतिविधि गरिरहेको उहाँको भनाइ थियो। ‘कोही–कोहीले त्यो स्वतन्त्रता गलत प्रयोग गर्दा उछृंखलता हुन्छ कि भन्‍ने लागिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हिजो जन्मसिद्ध शासक मान्‍नुपर्ने पाखण्डी व्यवस्था थियो। अहिले सरकार मन नपरे जनताले अर्को चुन्‍न पाउने व्यवस्था छ ।’

हिजोका दिनमा आर्थिक जर्जरता रहेको पनि उहाँले उल्लेख गर्नुभयो । ‘हिजो आर्थिक जर्जरता थियो, आज उकासिएको छ। हिजो देश अन्तर्राष्ट्रिय मञ्चमा सुनिने अवस्था थिएन। आज सबैले सुन्‍न थालेका छन्।, उहाँले थप्नुभयो, ‘अहिले नेपालको महत्त्व बढेको छ, कुरा सुनिन थालेको छ। परिचय र पहिचान स्पष्ट स्थापित गरेको छ। ठूला देशका प्रमुखले नेपालको भ्रमण गरेका छन् ।’ कार्यक्रममा उहाँले देशमा ठुलो व्यापार घाटा रहेको पनि स्मरण गर्नुभयो । ‘हाम्रो देश व्यापार घाटामा छ, अब उपभोग्य वस्तु उत्पादन गर्नुपर्छ ।

कृषि र व्यापारमा ध्यान दिनुपर्छ र युवाहरूले उत्पादनमा लाग्नुपर्छ। सकारात्मक सोच सिर्जनात्मक काममा लाग्नुपर्छु, उहाँले युवा संघका नेताहरुलाई निर्देशन दिँदै भन्नुभयो, ‘कामको संस्कृति बढाउनुपर्ने हुन्छ, कामलाई माया गर्ने कामको खोजीमा लाग्नुपर्छ। हामीभित्र सहज आम्दानी गर्ने कुरा घुसेको छ। लगानी बीनाको आम्दानीमा हामी भिज्नु हुँदैन। युवाहरू जनजागरण जगाउन लाग्नुपर्छ ।’

उहाँले नेपालमा हाल सरकारको विरोध दुई प्रकारले भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वैचारिक पूर्वाग्रह (कम्युनिष्ट सरकार छ त्यसैले) राखेर पनि विरोध हुँदैछ, अर्को राम्रो काम गर्दा कम्युनिस्ट भएकैले विरोध गर्नुपर्छ भन्‍नेहरू छन्। यो विरोध सत्यमा र तथ्यमा आधारित छैन। वैचारिक विरोध सत्य र तथ्यमा हुनुपर्छ।’