जनता टाइम्स

१ मंसिर २०८२, सोमबार २१:५२

युनानतर्फको यात्रा : जाडोबाट हरियालीसम्म


कृष्णहरि केसी

सन् २०२५ को नोभेम्बरको सुरुवातमा, बेइजिङको आकाश शुद्ध र तापक्रम शून्य डिग्री सेल्सियसमा थियो । त्यही समयमा, संघाईको न्यानो मौसमले सहरमा हल्का आरामको अनुभूति ल्याइरहेको थियो । हाम्रो टोली संघाईको छोटो भ्रमणपछि कुनमिङ एयरपोर्टतर्फ लाग्यो, जहाँ दक्षिण–पश्चिमी युनान प्रान्तको यात्रा सुरु हुँदै थियो । संघाईबाट करिब ३ घण्टाको हवाई यात्रापछि हामी कुनमिङ एयरपोर्ट पुगेका थियौँ । जुन युनान प्रदेशको राजधानी पनि हो । त्यहाँको शान्त वातावरण, हावामा हल्का ताजगी, र स्वागतदायी अनुहारहरूले अत्यन्त प्रभावित बनाएको थियो ।

त्यसपछिको हाम्रो यात्रा Wenshan city को थियो । जहाँ पुग्न प्रतिघण्टा १२० किमिका दरले बस दौडिदा करिब पाँच घण्टा लागेको थियो । सडक चौडा, सडकपेटी हरियाली र अत्यधिक अनुशासित थियो । बसको झ्यालबाट नियाल्दै गर्दा पहाड, डाँडा र सुरुङहरूका  दृश्यले यात्रा मात्र नभएर युनानको भौगोलिक र आर्थिक बनोटको पहिलो झलक दिन्थ्यो । सडकको दुवैतर्फ हरेक भिरपाखामा मकै, आँप, केरा, तरकारी र फलफूलका खेतीहरू फैलिएका थिए । घाम लाग्ने डाँडाहरूमा सोलार प्यानलहरू र हावा चल्ने ठाउँमा हावाबाट बिजुली निकाल्ने पङ्खाहरूको देखिन्थे । यहाँका गाउँमा देखिएको श्रम–अनुशासन र सामूहिक खेतीले स्पष्ट देखाउँथ्यो कि विकास केवल संरचना र प्रविधिमा मात्र होइन, मानव प्रयास र सामूहिक रणनीतिमा पनि आधारित छ ।

युनान परिचय

युनान प्रान्त चीनको दक्षिण–पश्चिमी भेगमा अवस्थित छ । यसको क्षेत्रफल करिब ३,९४,००० वर्ग किलोमिटर र जनसङ्ख्या ४ करोड ८० लाख आसपास रहेको छ । उत्तरतिर सिचुआन र तिब्बत, दक्षिणतिर भियतनाम, लाओस र म्यानमारसँग सीमा जोडिएको रहेछ । यहाँको भौगोलिक बनावट हिमाल, डाँडा, उपत्यका र नदहरूको मिश्रणले अद्भुत दृश्य प्रस्तुत गर्दछ । यसले गर्दा युनानलाई Land of Mountains and River पनि भनिँदो रहेछ ।

यस प्रान्तको विशेषता यसको जातीय विविधता हो । २५ भन्दा बढी जातीय समूह युनानमा बसोबास गर्दा रहेछन् । मुख्य समूहहरूमा हान ६५%, यी ११%, बाई ५% र अन्य जातिहरू (हानी, दाइ, मियाओ, लिसु आदि) पर्दा रहेछन् । प्रत्येक जातिको सांस्कृतिक पहिचान पोसाक, भाषा, संगीत, नृत्य यहाँको ग्रामीण जीवनमा अझै जीवित छ । बसबाट झर्दा देखिएका गाउँहरूमा आधुनिकता र परम्पराको मिलन स्पष्ट थियो । घाम लाग्ने डाँडाहरूमा सौर्य ऊर्जा प्यानल र हावाबाट बिजुली निकाल्ने पङ्खा, आँगनमा बगैँचा र खेतमा उन्नत बीउ र सिँचाइ प्रणाली । प्रत्येक गाउँले देखाउँथ्यो कि युनानमा विकास केवल नीति र बजेटको कुरा होइन, सामुदायिक सहभागिता र आत्मनिर्भरताको परिणाम हो ।

पहिलो रात हामी फोनिक्स होटेलमा बस्यौँ । होटेलको नाम नै प्रतीकात्मक थियो पुनर्जन्मको चिन्ह । यहाँको व्यवस्थापन, सफाइ, र खाना सबै व्यवस्थित थिए । स्थानीय सरकार तथा पार्टी कमिटीले रात्रि भोजको आयोजना गरेको थियो । स्वयंसेवकहरूले सेवा गरे, जसले हामीलाई सरल तर गहिरो आतिथ्यता प्रदान गरेका थिए ।

Xianrendong गाउँ एक समृद्धिको प्रतीक

भोलिपल्ट बिहानै हामी Yinyan Bridge, Xianrendong Village पुग्यौँ । युनानको किउबेई जिल्लामा अवस्थित Xianrendong गाउँ एक पारम्परिक सानी (यी) समुदायले भरिएको सुन्दर गाउँ रहेछ । जहाँ लगभग १९६ घरपरिवार र करिब ९८१ जना जनसङ्ख्या रहेछ । विगतमा यो गाउँ “पकेट गाउँ” भनेर चिनिँदो रहेछ । किनकि १९९० को दशकमा यसको वार्षिक प्रति‑व्यक्ति आय करिब ३०० युआन मात्रै रहेछ । तर अहिले पकेट गाउँ हैन समृद्धिको प्रतीक वनेको रहेछ ।

त्यहाँ पर्यटनमा आधारित आर्थिक रूपान्तरणले गाउँलाई मौलिक समृद्धि दिलाएको छ । स्थानीयहरूले आफ्ना पुराना सानी परम्परागत घरहरूलाई होमस्टेमा परिणत गरेका छन् । हाल त्यहाँ २०० भन्दा बढी होमस्टे र गेस्टहाउस सञ्चालनमा रहेछन् । जसले गाउँमा पर्यटकलाई आकर्षित गरिरहेको छ । यसले २०१९ मा प्रतिव्यक्ति आय लगभग ४०,००० युआनसम्म पुर्‍याएको तथ्याङ्क छ ।

कृषि, होमस्टे र सेवा क्षेत्र (पहिलो, दोस्रो र तेस्रो उद्योग) को संयोजनले यहाँ लगभग ५,००० भन्दा बढी प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गरिरहेको छ । पर्यटनका साथसाथै गाउँलेहरूले आफ्नो सांस्कृतिक पहिचान परम्परागत नृत्य, गीत, ढुङ्गा पूजा र हस्तकलालाई जस्ताको त्यस्तै जीवित राखेका छन् र पर्यावरण संरक्षणमा पनि महत्त्वपूर्ण लगानी गरेका रहेछन् । यस प्रकार, Xianrendong गाउँले आधुनिक पर्यटन र सांस्कृतिक संरक्षण दुवैमार्फत ग्रामीण पुनरुत्थान र दिगो आर्थिक विकास हासिल गरेको रहेछ ।

हामी त्यहाँ पुग्दा Yi जातीय समूहले आफ्ना मौलिक भेसभुसा सहित परम्परागत ढोल र नृत्यद्वारा स्वागत गरेका थिए । रङ्गिन पोसाक, सुसज्जित टोपी र बाँसको बाँसुरीले भन्दै थियो कि यहाँ संस्कृति अझै जीवित र उस्तै छ । त्यस काउन्टीका सचिवले मन्तव्यका क्रममा भनेका थिए, “पहिले हामी प्रकृतिसँग डराउँथ्यौ, अहिले प्रकृतिसँग मिलेर काम गर्छौँ ।”

उनले थपे केवल भौतिक संरचनाको विकास मात्रै युनानको विकास होइन, मानव, प्रकृति र नीति बिचको सन्तुलन सहितको विकास, युनानको विकास मोडल हो । यहाँको गाउँ, सडक, खेतबारी, भिरपाखा र वनजंगलले देखाइरहेको थियो कि चीनले “ग्रामीण पुनर्जीवन” र “गरिबी निवारण”लाई व्यवहारमा उतारिरहेको छ । त्यसपछि हामी सोही गाउँको कोखमा रहेको सुन्दर पुज्हेहेई तालमा बोटिङमा सामेल भयौँ ।

पुज्हेहेई ( Puzhehei ) ताल र बाेटिङ यात्रा

युनान प्रान्तको किउबेई जिल्लामा अवस्थित प्रसिद्ध पुज्हेहेई ताल क्षेत्र, यसको अद्वितीय कर्स्ट  भू–आकृति, हरियाली पहाड, गुफा, र बोटिङ अनुभवले गर्दा हर कोही प्रकृति प्रेमी पर्यटकका लागि एक स्वर्ग समान रहेछ । “पुज्हेहेई” नाम सानी ( Yi ) भाषामा “माछा र पुतलीले भरिएको पोखरी” भन्ने अर्थ राख्छ, जसले यहाँको समृद्ध जलजीवनलाई जनाउँछ । यो क्षेत्र ३१२ वटा ठूला ठूला चट्टानदार शिखरहरू, ८३ कार्स्ट गुफाहरू, र ५४ आपसमा जडित तालहरू सहित करिब ३८८ वर्ग किलोमिटरमा फैलिएको रहेछ । गर्मी महिनामा, लाखौँ घन मिटर वाइल्ड लोटस फूलहरू पानीमा फुल्ने हुँदा बोटिङ अनुभवलाई रोमाञ्चक र सुरम्य बनाउँदो रहेछ । त्यहाँ बोटिङका क्रममा धेरै तालहरू, गुफा र पर्वतहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । एउटा रमाइलो भाग भनेको Xianrendong गाउँ नजिकको Xianrendong गुफा ( Immortal Cave ) पनि रहेछ ।

Qinglong पर्वत (हरियो ड्रागन पर्वत) पूज्हेहेई तालको ठीक अगाडि छ, यसको प्रमुख चुचुरो समुद्र सतहमाथि १,५५५ मिटर माथि अवस्थित छ र त्यहाँको अवलोकन प्लेटफर्मबाट ताल, पहाडका शिखरहरू र हरिया वनहरूको दृश्य एकै समयमा देखिदो रहेछ । त्यहाँबाट सूर्य उदाउँदा वा अस्ताउँदा सबैले प्रत्यक्षानुभूति गर्दा रहेछन् । । पहाडमा रहेका विभिन्न गुफाहरू Torch गुफा, Moon गुफा, Guanyin गुफा आदि स्थानीय किंवदन्ती र मिथकले भरिएका छन् । कथाहरूबाट निष्कर्ष निकाल्न सकिन्छ कि यी गुफाहरूमा पुरातात्विक अवशेष, प्राचीन मानव बसोबासका निशान र रहस्यमय चट्टान संरचनाहरू पाइन्छन्, जसले यात्रालाई थप आध्यात्मिक र रोमाञ्चक बनाउँछ ।

पुज्हेहेईको पर्यटक आकर्षण केवल प्राकृतिक दृश्यमा मात्रै सीमित छैन । त्यहाँको सांस्कृतिक पक्ष पनि अत्यन्त जीवित छन् । यी जाति ( Yi ) समुदायले “फूल–मुख” ( Hualian ) चेहरा चित्रकारी र मेची फेस्टिभलहरू मनाउने परम्परा रहेछ । जुन स्थानीय सांस्कृतिक पर्वहरू हुन् र यसको पुरातात्विक महत्त्व र सौन्दर्यले यात्रालाई अझ अर्थपूर्ण बनाउँछ । साथै, ताल क्षेत्रमा स्यवान लेक ( Swan Lake ) पनि छ, जुन एउटा कार्स्ट वेटल्यान्ड हो र यहाँ दस हजारभन्दा बढी प्रजातिका माइग्रेसरी चरा (उड्ने चराहरू) देख्न सकिन्छ, जसमध्ये ( Swan )  हंसहरू विशेष आकर्षण हुन् । समग्रमा, Puzhehei ताल एक प्रकारको प्रकृति–मिथकीय संसार हो जहाँ हरियाली चट्टानहरू, शान्त पानी, गुफा रहस्य, हंस चराहरू र जातीय सांस्कृतिक सौन्दर्यले मिलेर यात्रालाई केवल एक भौगोलिक भ्रमणभन्दा माथि पुर्‍याउँछ । यो एउटा यस्तो गन्तव्य हो जहाँ मान्छेले प्रकृतिको संगीत सुन्न सक्छ, लोटस फूलहरूको सुगन्धमा हराउन सक्छ, पहाड र गुफाको कथा सुन्दै आफ्नो आत्मालाई आनन्द दिन सक्छ ।

यसरी युनानको प्राकृतिक सौन्दर्य र मानवीय परिश्रमले सँगसँगै काम गरिरहेका छन् । सडक, सुरुङ, ताल, खोलानाला, डाँडा पहाड, खेतबारी, र गाउँ बैले विकासको कथा सुनाउँछन् । यसले यात्रामा आउने कुनै पनि आगन्तुकलाई एकदमै सशक्त दृष्टिकोण दिन्छ “विकास केवल पैसा र संरचना मात्रै होइन, दृष्टिकोण, श्रम र सामूहिक चेतना पनि हो ।”

उद्योग, शिक्षा र सांस्कृतिक उत्सव — Wenshan / Sichou/Malipo County

युनानको ग्रामीण र सांस्कृतिक अनुभव पछि हाम्रो यात्रा Wenshan Qihua Co. Ltd. पुगेको थियो । Wenshan Qihua Co. Ltd. चीनको युनान प्रान्तको वेनसहान क्षेत्रमा आधारित एक अग्रणी जडीबुटी उद्योग रहेछ । जसले युनानको सबैभन्दा मूल्यवान् औषधीय बोट सान्की ( Panax notoginseng ) को खेती, प्रशोधन र विश्वव्यापी सप्लाई चेन सञ्चालन गरिरहेको छ । युनानको १४००–१८०० मिटरको पहाडी भूभागमा उब्जिने सान्की जैविक रूपमा जिन्सेन परिवारको बोट हो । जसको जरामा Notoginsenoside R1, Ginsenoside Rg1, Rb1 जस्ता शक्तिशाली औषधीय तत्त्व पाइन्छ । जसले रक्त–प्रवाह सुधार, रक्तथाम, सुजन नियन्त्रण, मुटु रोग उपचार, घाउ निको पार्ने र एण्टी–एजिङ ( शरीरका छाला, कोशिका वा स्वास्थ्यलाई लामो समयसम्म जवान, ताजा र सक्रिय राख्न सहयोग गर्ने ) प्रभाव जस्ता औषधीय गुण प्रदान गर्दो रहेछ ।

Wenshan Qihua ले आधुनिक प्रविधियुक्त “कम्पनी सहकारी किसान” मोडेलमार्फत १२ हजारभन्दा बढी किसानलाई समेटेर सान्की उत्पादनलाई ठुलो उद्योगमा रूपान्तरण गरेको रहेछ । जसको खेतीमा छायाँ प्रणाली, तीन वर्षे बाली चक्र, पानी–सिँचाइ एकीकृत प्रविधि, रोग नियन्त्रण तथा गुणस्तरीय बीउ–बिरुवा प्रयोग गरिएको छ । एउटा परिवारले १–२ हेक्टर सान्की खेतीबाट वार्षिक ६–१५ लाख RMB सम्म आम्दानी गरिरहेका रहेछन् । कम्पनीले करिब ६ अर्ब RMB भन्दा बढी वार्षिक कारोबार गर्दो रहेछ । यसको अत्याधुनिक उद्योगमा प्रति मिनेट २५–३० किलो सान्की धुलो प्रशोधन र १०,००० क्याप्सुल उत्पादन गर्न सक्ने क्षमता छ, जसले सान्कीलाई घरेलु बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्न सक्षम बनाएको छ ।

युनान सरकारको ग्रामीण पुनरुत्थान अभियानसँग जोडिएको यो उद्योग १५,००० भन्दा बढी कृषक परिवारको स्थायी रोजगारी, आय तथा जीवनस्तर सुधारको मुख्य आधार बनिसकेको छ । प्राकृतिक पहाडी भूगोल, सहकारी मोडेल, वैज्ञानिक खेती र उच्च मूल्यका जडीबुटीको प्रभावकारी उपयोगका कारण सान्की उद्योग आज युनानको आर्थिक समृद्धिको प्रमुख उदाहरण बनेको छ । जसले नेपालका उच्च मूल्यका जडीबुटी विकासका लागि पनि अत्यन्त उपयोगी शिक्षा प्रदान गरेको छ ।

यहाँ पुगेपछि बुझ्न सकिन्छ कि परम्परागत उद्योग र आधुनिक प्रविधि मिलेर उत्पादन र रोजगारी दुवैमा योगदान गर्न सकिन्छ । हामीले त्यहाँ केवल उत्पादन मात्रै होइन, प्रविधि र आधुनिक व्यवस्थापनको संयोजन देख्न देख्यौँ । रोबोट र एआई प्रणालीले उत्पादन लाइन स्वतः सञ्चालन गरिरहेका थिए । जैविक हर्बल उत्पादन, गुणस्तरीय निरीक्षण र प्याकेजिङमा आधुनिक प्रविधिका संयोजन थिए । यस उद्योगले गाउँको सामाजिक–आर्थिक बनोट परिवर्तन गरेको छ । प्रविधि र स्थानीय मानव स्रोतलाई सँगसँगै प्रयोग गरेर चीनले ग्रामीण अर्थतन्त्र मजबुत बनाइरहेको छ ।

Sichou County — पहाड फोरेर प्रगति

त्यसपछि हामी Sichou County पुगेका थियौँ । यहाँका धेरै चट्टानहरूको मात्रै पहाड थिए । जताततै पत्थर नै पत्थर । त्यहाँ पुग्ने बित्तिकै हामीलाई एउटा डक्युमेन्ट्री देखाइयो । करिब २० वर्ष अगाडिसम्म जनताको जीवनस्तर देखाइयो ।

त्यसपछिको योजना र सफलताको यथार्थता देखाइयो । ती पहाडहरू अब इतिहास भएका छन् । त्यहाँ त अहिले खेतयोग्य मैदान र बारीहरू बनेका छन् । जनताको लामो कष्टपुर्ण जीवन सरल बनेको छ । फोरियो गाउँ, फेरियो सपना र सङ्कल्प पनि । पत्थरमाथि मोती फलाएका छन् अहिले । तरकारी, मकै, किवी लगायतका फलफूल खेती । माटोको गुणस्तर मापन, जलवायु अनुकूल बीउ चयन र संरक्षित सिँचाइ प्रणाली अनुकरणीय रहेछ ।

गाउँलेहरू स्थानीय स्तरमा सहकारी संगठन र उत्पादन व्यवस्थापनको तरिका प्रशंसनीय थियो । Sichou County को भ्रमणले हामीलाई पढाउँदै थियो कि साहस, परिश्रम र विज्ञानको संयोजनले ग्रामीण जीवनस्तर र आत्मनिर्भरता बढाउँछ । त्यो भिडियोले हामी सवैका आँखा रसाएका थिए ।

जनताको बदलिएका जीवन स्तरले हामी सबैको मनमा गर्न सकिन्छ भन्ने आट र साहसको पनि जन्म गराएको थियो । हाम्रा एकजना पाकिस्तानी पत्रकार साथी इफ्रान (जो राजनीतिज्ञ पनि हुन) ले त्यहाँबाट लाईभ गर्दै उनकै भाषामा कसम खाए मेरो देशमा फर्किए पछि मेरो जन्म गाउँमा यो मोडल लागु गर्ने वाचा गर्दछु । “मेरो मुलुक फर्कने के बाद, मै अपने पैदाइशी गाउँ मे ये मॉडल लागू करने का वादा करता हुँ ।” उनी मलाई पनि भन्दै थिए “हेर त उ त्यो डाँडाहरू, त्यो पनि यहाँको पाहुना हो हामी केही वर्षपछि यहाँ आउँदा त्यो एयरपोर्टमा रूपान्तरण भैसकेको हुनेछ मित्र ।”

Malipo County — शिक्षा र सिर्जनात्मक अभ्यास

अर्को गन्तव्य Malipo County थियो । त्यहाँको माध्यमिक विद्यालयमा ५०५३ विद्यार्थी आवासीय रूपमा पढ्दा रहेछन् । कक्षा १२ सम्म, आधुनिक शिक्षा, देश प्रेम, श्रम सीप, र विश्वमा आवश्यक भाषा र ज्ञान प्रदान गरिँदो रहेछ । विद्यार्थीहरूले साहसिक, मनोरञ्जनात्मक र स्वास्थ्यवर्धक खेलकुदमा भाग लिइरहेका थिए । विज्ञान, कृषि र सामाजिक शिक्षा एकैसाथ पढाउने प्रणाली अपनाइएको रहेछ ।

हामी पुग्दा एक शिक्षिकाले विद्यार्थीलाई पढाउँदै थिइन । उनले हाम्रा बिचमा विद्यार्थीलाई एउटा गाउँको चित्र राखेर प्रश्न गरिन्-What is the village like in terms of appearance?   विद्यार्थीले उत्तर दिए Peaceful, beautiful, fascinating, amazing । उनले फेरी प्रश्न गरिन्- What makes a village like that? विद्यार्थीले एकै स्वरमा उत्तर दिए परम्परागत मौलिक संस्कृति, स्वच्छ वातावरण, नगदेवाली र विकास ।” यसरी चीनले शिक्षा र श्रमको संयोजनबाट केवल ज्ञान मात्र होइन, सामाजिक जिम्मेवारी र आत्मनिर्भरता पनि पैदा गरिरहेको छ ।

चीन–भियतनाम मैत्रीपूर्ण भलिबल प्रतियोगिता र सीमा क्षेत्रको भ्रमण

Malipo भ्रमण कै सिलसिलामा चीन–भियतनाम बिचको मैत्रीपूर्ण भलिबल प्रतियोगिता हेर्ने सुअवसर पनि जुर्‍यो । पुरुष र महिला दुवै खेलमा चीन विजयी भएको थियो । हाम्रो भ्रमण टोलीले पनि उक्त प्रतियोगिता सकिएपछि मैत्रीपूर्ण खेल खेलेको थियो । यस यात्राका क्रममा हामी चीन–भियतनामको बोर्डरमा पनि पुगेका थियौँ । त्यहाँको तेइनबाओ पोर्टमा ढुवानी बन्दरगाह तथा अन्तर्राष्ट्रिय मालवाहक यार्डको निर्माण र सञ्चालनबारे अध्ययन गरिएको थियो साथै ग्रामीण पुनर्जीवन प्रदर्शन उद्यान पनि अध्ययन भ्रमण गरिएको थियो ।

प्रकृति, सांस्कृतिक सम्पदा र साहसिक अनुभव — Jibo Zhi, Xinhe Village र ऐतिहासिक झरना 

युनानको गाउँ–सहरको सांस्कृतिक र औद्योगिक अनुभवपछि हाम्रो यात्रा प्राकृतिक र ऐतिहासिक सम्पदातर्फ अगाडि बढ्यो । यसले केवल दृष्टि मात्र होइन, हृदयमा पनि गहिरो प्रभाव बनाइरहेको थियो । Jibo Zhi Village मा १२०० वर्ष पुरानो चिया रुख समेत रहेछ । गाउँको मुख्य आकर्षण १२०० वर्ष पुरानो चिया रुख थियो ।

रुख ठुलो पनि थियो । त्यहाँ चढ्न निकै गाह्रो हुने हुँदा धेरै स्थानीय समेत चढ्न सक्दा रहेनछन् । तर हाम्रा टोलीका इस्ट टिमोरका साथी मिलोमिनो मार्टीन उक्त रुख चढेर टुप्पोमा पुग्दा सबैले आश्चर्य मान्दै ताली ठोकेका थिए । य

स प्राचीन रुखको उपस्थितिले पनि स्पष्ट बनाऊ छ कि यहाँ कृषि मात्र होइन, ऐतिहासिक बस्तुको संरक्षण पनि उच्च प्राथमिकतामा छ । रुख वरिपरि संरक्षित सङ्ग्रहालय र चिया बगान र प्रशोधन केन्द्र रहेको छ । स्थानीयले चिया उत्पादनबाट आत्मनिर्भरता पाएका छन् । पर्यटन, शिक्षा र कृषि तीनै पक्षको संयोजन रहेको छ । पुरानो परम्परा र आधुनिक प्रविधि मिलेर ग्रामीण अर्थतन्त्रमा स्थायित्व ल्याउन सकिन्छ भन्ने प्रमाण दर्साउँदै थियो जिवो झी गाउँ ।

Xinhe Village — पुतलीको राजधानी

Jibo Zhi पछि हाम्रो यात्रा Xinhe Village तर्फ अगाडि बढ्यो । यो गाउँ विश्व प्रसिद्ध छ- संसारकै धेरै प्रजातिका पुतलीको उपस्थिति र सङ्ग्रहालयको कारण । Butterfly Museum स्थानीय र विदेशी प्रजाति दुवैको संरक्षण, जैविक विविधता संरक्षण र पर्यावरणीय शिक्षा, पुतलीको रङ्गिन संसारले गाउँको सौन्दर्यमा सौन्दर्य थपेको रहेछ ।

युनान प्रान्त (चीन) को Ma’andi भिलेज मा रहेको “पुतली उपत्यका र Butterfly Valley जीवविज्ञान र आर्थिक विकासको अद्भुत उदाहरण हो । यहाँ करिब ५०० भन्दा बढी पुतलीका प्रजातिहरू पाइदा रहेछन्, जुन चीनमा पाइने १२ पुतली परिवार मध्ये ११ परिवार यही समेटिँदो रहेछ । Ma’andi गाउँको ७०% प्रतिशत जमिन घना जङ्गलले ढाकेको रहेछ । घना र वर्षायुक्त जङ्गल भएकाले नै  । पुतलीहरूको प्रजनन र बाँच्नको लागि उपयुक्त वातावरण तयार भएको हो  । हरेक वर्ष मे–जुन महिनामा Ma’andi मा “पुतली बूम” हुने गर्दछ । वैज्ञानिकहरूको मापन अनुसार २०२१ मा करिब १ अरब ५० लाख पुतलीहरू एकै चोटि पपबाट फुटेर सक्रिय भएका थिए । यो शानदार दृश्यले पर्यटकहरूलाई रोमाञ्चक अनुभव दिने भएकाले Ma’andi लाई प्रसिद्ध पुतली पर्यटक गन्तव्य बनाएको रहेछ ।

स्थानीय सरकार र समुदायले “पुतली पर्यटन संरक्षण” को एकीकृत विकास मोडल अपनाएका रहेछन् । जस अन्तर्गत पुतली अवलोकन पथ बनाइएको छ । पर्यटकहरूको लागि पुतली रिलिज अनुभव र शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिएको छ । साथै स्थानीय होटेल, इको–रेस्टुराँ र घरमै बस्ने पर्यटक सेवा (मिन्सु) होमस्टे पनि विस्तार गरिएको रहेछ । जहाँ सांस्कृतिक उत्पादन क्षेत्र पनि विकसित भएको छ । पुतली संग्रहण, पङ्ख कलाका काम, पुतली–थीम आधारित डिजाइन्स लगायत १२० भन्दा बढी उत्पादनहरू बनाइ देशभर इ–कमर्स मार्फत बेचिँदो रहेछ । आर्थिक दृष्टिले यो व्यवसाय गाउँलेहरूको लागि महत्त्वपूर्ण आम्दानीको स्रोत बनेको छ । २०२४ मा मात्र पुतली‑सम्बन्धित उद्योगबाट स्थानीयले लगभग १ करोड २० लाख युआन आम्दानी गरेको र प्रति घरधुरीमा औसत ३ लाख आम्दानी वृद्धि भएको थियो । Ma’andi को “पुतली अर्थव्यवस्था” मोडलले जैविक विविधता संरक्षण र ग्रामीण आर्थिक विकासलाई सँगै अगाडि बढाउन सफल भएको रहेछ ।

पुतलीका अण्डा राख्ने वा लार्भा पाल्ने प्रजातिका बिरुवाहरू पुतलीको जीवनचक्रका लागि अनिवार्य हुने हुँदा वनस्पति संरक्षण, पुतलीका बिरुवा ( caterpillar ) को प्रवर्द्धनका लागि पर्यावरणीय नियमहरूको कडाइ गरिएको रहेछ । यसले पुतलीको अण्डा राख्न, लार्भा (कीट) फुड गर्न र प्रजननका लागि पुतलीहरूको दीर्घकालीन अस्तित्व सुनिश्चित गरेको छ, जसले यस क्षेत्रलाई दिगो हरित‑समृद्धि नमुना बनाएको छ । Monarch butterfly को लार्भा मुख्यतया milkweed बिरुवामा पालिँदो रहेछ । यो बिरुवा रोपन पनि गरिँदो रहेछ ।Ma’andi भिलेजमा पुतली संरक्षणमा, बिरुवा रोप्ने कामले पुतलीहरूको दीर्घकालीन अस्तित्व सुनिश्चित गरिरहेको रहेछ । उनीहरूले पुष्टि गरे कि युनानमा पर्यावरणीय संरक्षण केवल नारामा मात्र होइन स्थानीय रोजगारी, शिक्षा र पर्यटनसँग जोडिएको छ ।

ऐतिहासिक झरना — साहसिक अनुभव

Xinhe Village भ्रमणपछि हामी ऐतिहासिक झरना तर्फ लाग्यौँ । झरना पहाडको बिचमा अवस्थित थियो, र यो चाहिँ हाम्रो यात्राको सबैभन्दा साहसिक हिस्सा बन्न पुग्यो । झरनामा आरोहण, पानीको तेज बहाव र हरियालीले प्राकृतिक चुनौती प्रस्तुत गरिरहेको थियो । कहालीलाग्दो भिरमा आइबीमका सहायताले काठका सिँढी त बनाइएका थिए तर हरेक सिँढीमा लेऊ लागेर अत्यन्त चिप्लो थियो । केही साथीहरू त चिप्लिएर लडे पनि । केही बिच बाटोबाटै फर्किए । प्रत्येक पत्थरमा प्रकृतिसँग प्रत्यक्ष संवाद भइरहेको थियो । झरना संग्रहित ऐतिहासिक मूल्य र स्थानीय किंवदन्तीको साथमा प्राकृतिक सौन्दर्यले मन छोएको थियो ।

Xinhe Village नजिकको ऐतिहासिक झरना केवल प्राकृतिक सौन्दर्य मात्र नभएर यससँग सदियौँ पुरानो किंवदन्ती र सांस्कृतिक मूल्य पनि जोडिएको रहेछ । गाउँका वृद्ध र स्थानीय नेता अनुसार, झरना र यसको वरिपरि फैलिएको क्षेत्रका कथा पनि रोमाञ्चक रहेछ । किंवदन्ती अनुसार झरना नजिकको पहाडमा प्राचीन समयमा एक चिया देवी बस्थिन् । देवीले गाउँलाई हरियाली, पानी र चियाको उत्पादनको वरदान दिएकी थिइन ।

त्यस कारण हरेक वर्ष झरना छेउमा लोक पर्व मनाउने चलन रहेछ । देवीलाई सम्मानका साथ पूजा अर्चना गरिँदो रहेछ । जसले चियाको उत्कृष्टता र ग्रामीण कृषिको संवर्द्धनमा समेत योगदान पुर्याइरेको छ । यसैसँग सम्बन्धित Xinhe Village मा पुतलीको राजा–रानीको कथा प्रसिद्ध रहेछ । किंवदन्ती अनुसार, पुरानो समयमा यहाँको वनमा हरेक प्रजातिको पुतली देवत्वको प्रतीक थियो । जङ्गल र झरनामा स्वर्गबाट देवताहरू रमाउनका लागि त्यहाँ सवार भएको कथा रहेछ ।

त्यस कारण ती झरना र वरिपरिका पानीको स्रोतले पुतली र अन्य जीवजन्तुलाई संरक्षण गरेको विश्वास रहेछ । यसले आजको पुतली सङ्ग्रहालय र जैविक विविधता संरक्षणको परम्परासँग सिधा सम्बन्ध जोडेको छ । झरनाका कारण कसैले पनि त्यस गाउँलाई आक्रमण गर्न नसक्ने कथा रहेछ । साथै झरना सुक्यो भने दुर्भिक्ष, विपत्ति अनिष्ट आइलाग्ने विश्वास गर्दा रहेछन् । यसैले उनीहरूले जल संरक्षण गर्दा रहेछन् ।

कृषि र गरिबी निवारण

हाम्रो यात्राका क्रममा चिया खेती मात्रै होइन केरा, मकै, उखु, स्टोरी, जडीबुटी र तरकारी खेतीको अनुपम नमुना देखा पर्‍यो । सम्म परेका मैदानमा होइन भिर पाखाभरि नै लखौँ रोपनीमा केरै केराका खेती । जहाँ झुलिरहेका ठूला ठूला केराका घरीहरूलाई नीला प्लास्टिकले घेरेको देख्न सकिन्थ्यो । या भनौँ केराको घना जङ्गल खडा गरिएको छ ।

मकै खेती देख्दा अचम्मित तुल्याएको थियो । त्यसै गरी तरकारी, स्टोरी र जडीबुटीको खेती पनि गरिएको रहेछ । जमिन कहीँ कतै बाँझो छैन । माटोको जाँच गरेर अन्नबालीको प्रजाति किटान गरेर, एआई जडित उच्च प्रविधि, ड्रोनहरूका प्रयोग गरेर, मल, बिउ, बिरुवा र रोग व्याधिको उपचार पद्धतिको विकासले हरेक बालीको उत्पादकत्व वृद्धि गरिएको रहेछ । यहाँ प्राकृतिक चुनौतीलाई अवसरमा बदलिएको थियो ।

यी सबै देख्दा प्रसिद्ध गायक दीपक खरेल ज्यूको गीत स्मृतिमा आइरहेको थियो – “यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाऔँ, यहाँको धर्ती बाँझो छैन, विकासको फूल फुलाऔँ ।” यी गीतका प्रत्येक भाव त चीनमा पो लागू भएको रहेछ ।

कृषि ग्रामीण पुनरुत्थान र आत्मनिर्भरतासँग जोडिएको थियो । कृषिलाई जीविकोपार्जन मात्रै होइन उद्यम र उद्योगको रूपमा विकास गरिएको थियो । कृषिलाई पर्यटन र संस्कृतिसँग नारिएको थियो । यहाँ हरेक नागरिक कृषि, उद्योग र पर्यटनसँग जोडिएका छन् । चीनले यस क्षेत्रमा प्रयोग गरेको मोडेलले भनिरहेको छ कि गरिबी निवारण केवल आर्थिक सहायताले मात्र सम्भव छैन । आधुनिक प्रविधि र स्थानीय ज्ञानको संयोजन मार्फत प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग, जीवनस्तर सुधार, आत्मनिर्भरता र सामाजिक सशक्तीकरणसँग जोडिनु पर्छ । हरेक दृश्यले पुष्टि गर्दै थियो कि समृद्धिका लागि संरचना र प्रविधि सँगसँगै सामूहिक प्रयास, प्राकृतिक संसाधनको उपयोग र मानव चेतनाको संयोजन जरुरी छ ।

युनानको विकास मोडेलका मुख्य तत्त्व

सहकारी र सामूहिक प्रयास, उद्योग र शिक्षा प्रणालीमा सामूहिक सहभागिता, प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग, पर्यावरणीय संरक्षणसँग विकासको समन्वय, आधुनिक प्रविधि र परम्परागत ज्ञानको संयोजन, उद्योग, कृषि र शिक्षामा लगानी, सांस्कृतिक पहिचान र पर्यटन, स्थानीय संस्कृति, उत्सव र जैविक विविधताको संरक्षण, सामाजिक सशक्तीकरण, युवा, महिला र सिङ्गो समुदायको सक्रिय सहभागिता नै युनान विकास मोडेलका मुख्य तत्त्व रहेछन् ।

त्यहाँको खेती प्रणाली र बाली छनौटको विषयमा मैले RENMIN UNIVERSITY OF CHINA कि प्रोफेसर यान यानलाई सोधेको थिएँ । उनले भनेकी थिइन् “कुनै क्षेत्रमा लगाइने बोटबिरुवा त्यहाँको माटो, मौसम, र वनस्पतिसँग उपयुक्त भएर छनोट गरिन्छन् । युनान हाम्रो देशको दक्षिण–पश्चिम भागमा पर्ने भएकाले त्यहाँ सूर्यको प्रकाश अवधि धेरै हुन्छ । साथै, युनान र गुइझो दुवै युन्गुइ पठारमा परेका छन्, जहाँ उचाइ धेरै हुने र दिन–रातको तापक्रममा ठुलो फरक पर्ने भएकाले विभिन्न फलफूल र तरकारी जातका बाली रोप्न धेरै उपयुक्त हुन्छ ।

भौगोलिक रूपमा पनि यो क्षेत्र निकै विशिष्ट छ । यसको उचाइ धेरै छ, र उचाइ भित्रै पनि ठुलो भिन्नता देखिन्छ । त्यसैले तपाईँले थोरै दूरीमै पनि ठूला–ठूला फरकपनहरू देख्न सक्नुहुन्छ । कुनै क्षेत्रमा केही विशिष्ट फलफूल वा बाली रोपिने कारणमध्ये एक ऐतिहासिक परम्परा पनि हो—जस्तै केही जडीबुटीहरू विगतदेखि लगाइँदै आएका छन् । अन्य कारण उपयुक्त जलवायु हो । उदाहरणका लागि, स्ट्रबेरी मूलतः युनानको बाली होइन, तर अहिले त्यहाँ यसको भव्य खेती हुने गर्दछ ।

त्यसै गरी मैले भूमि सुधार, जग्गाको वर्गीकरण र हस्तान्तरण प्रक्रियाको बारेमा पनि उनलाई जिज्ञासा राखेको थिएँ र उनले भनेकी थिइन् – “चीनले भूमिको सार्वजनिक स्वामित्व प्रणाली लागू गर्छ । जहाँ व्यक्तिले जमिनलाई पूर्ण रूपमा “किनेर आफ्नै” बनाउन सक्दैनन्, तर केवल भूमि प्रयोग अधिकार मात्र राख्न पाउँछन् । व्यक्तिगत प्रयोगका आधारमा जमिन दुई भागमा विभाजित हुन्छ: पहिलो, आवासीय प्रयोग घर बनाउनका लागि तोकिएको जमिन, जुन क्षेत्रअनुसार निश्चित मापदण्डका आधारमा वितरण हुन्छ । सामान्यतया, प्रत्येक घर–परिवारलाई करिब २०० वर्ग मिटरभन्दा बढी आवासीय जमिन दिइँदैन । दोस्रो, खेतीयोग्य जमिन राष्ट्रिय नियमअनुसार प्रत्येक परिवारलाई छुट्याइने जमिन । चीनमा जमिनको स्वामित्व वंशाणुगत हुँदैन । अर्थात्, मेरो बाबुले प्रयोग गरेको जमिन उनी मृत्यु भएपछि “मेरो” नाममा सर्न सक्दैन । यही कारण चीनले क्रान्तिपछि “भूमि क्रान्ति” मार्फत ठूला जमिनदारहरूको पूर्ण अन्त्य गर्‍यो ।

व्यक्तिगत घरजग्गाजस्ता सम्पत्तिबारे चाहिँ, यदि वसीयत (इच्छा पत्र) छ भने त्यसअनुसार उत्तराधिकार निर्धारण हुन्छ । वसीयत नभएमा कानुनी उत्तराधिकारीहरूले कानुनअनुसार अधिकार पाउँछन् । कानुनअनुसार, यदि मेरा बाबु बिते भने, मुख्य उत्तराधिकारी उनकी पत्नी (मेरो आमा) हुन्छिन्, त्यसपछि मात्र छोराछोरीहरूको पालो आउँछ । मलाई एउटा कुरा अचम्म लाग्छ किन चीनको भूमि सुधारबारे धेरैजसोले कुरा गर्दैनन् ? वास्तविकतामा, चिनियाँ कम्युनिष्ट पार्टीद्वारा गरिएको भूमि सुधार नै चिनियाँ क्रान्तिको सफलताको प्रमुख कारण मध्ये एक हो । भूमि क्रान्तिको केन्द्रबिन्दु भनेको किसानलाई जमिन वितरण गर्नु थियो ।

अर्थात्, पहिले जमिनदार र शासक वर्गले नियन्त्रण गरेको जमिन किसानहरूलाई पुनः वितरण गरियो । चीनको हजारौँ वर्षको इतिहासमा पहिलो पटक, जमिन जोत्नेलाई नै जमिन दिने व्यवस्था भयो । यही भूमि सुधारका कारण किसानहरूले कम्युनिष्ट पार्टीलाई दृढतापूर्वक समर्थन गरे । जब किसानले आफ्नै जमिनमा काम गर्न पाए, उनीहरू अझै प्रेरित भए – बढी मेहनत गर्न, बढी उत्पादन गर्न, र आफ्नो श्रम, समय तथा पुँजी लगानी गर्न । यसले परिवारहरूको समृद्धि सम्भव बनायो । राज्यलाई कर तिरेपछि बाँकी सबै आम्दानी पुरै परिवारकै सम्पत्ति बन्यो ।

यसबाहेक, सन् २००६ मा चीनले कृषि कर पूर्ण रूपमा हटायो, जुन चीनको हजारौँ वर्षको इतिहासमा पहिलो पटक भयो । यसको अर्थ, किसानले आफ्नो जमिनमा खेती गर्दा अब राज्यलाई कुनै पनि कर तिर्नुपर्दैन । यो आधुनिक चीनको इतिहासमा निकै महत्त्वपूर्ण मोड र ऐतिहासिक घटना मानिन्छ । जसले राज्य र किसानबिचको सम्बन्धलाई मूलतः परिवर्तन गरिदियो । यस्तै, ग्रामीण क्षेत्रमा कृषि कर हटेपछि धेरै स्थानीय अधिकारीहरूले किसानमाथि मनपरी कर थोपर्न वा करलाई दबाबको साधनका रूपमा प्रयोग गर्नेसम्बन्धी अवस्था पनि हरायो । त्यसैले, यो परिवर्तन अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।”

त्यसपछि मैले अन्तिम प्रश्न गरेको थिएँ कि अफ सिजनका लागि कसरी भण्डारण गरिन्छ ? कृषकलाई माल विक्री वितरणको सुविधा के छ भनेर सोधेको थिएँ । उनले जवाफ दिएकी थिइन् “चीनमा कोल्ड–चेन र भण्डारण सुविधाहरू अत्यन्त विविध र विकसित छन् ।

सबैलाई थाहा छ, पछिल्ला वर्षहरूमा चीनले उच्च–द्रुत रेल, विमानस्थल, प्रान्तीय द्रुतमार्ग (एक्सप्रेस-बे) लगायतका पूर्वाधारहरूमा उल्लेखनीय प्रगति गरेको छ । त्यसैले आज भौतिक यातायात सञ्जाल अत्यन्तै विकसित छ । यसका कारण, युनान, गुइझो, र शिनजियाङ जस्ता पहिलेदेखि ‘टाढा’ मानिने क्षेत्रका विशेष उत्पादनहरू स्थानीय रूपमा सङ्कलन गरेर द्रुतमार्गमार्फत नजिकैका एयरपोर्टमा पुर्‍याइन्छ, र त्यहाँबाट सिधै ढुवानी हुन्छ । हवाई यातायात क्षेत्रभित्र पर्ने स्थानमा त सामान भोलिपल्टै ग्राहकसम्म पुग्न सक्छ ।

दोस्रो भनेको क्षेत्रीय भण्डारण तथा ढुवानी केन्द्र हो । उदाहरणका लागि, ठुलो चेन सुपर मार्केटहरूले युनान वा शिनजियाङ जस्ता स्थानमा सङ्कलन केन्द्र खोल्छन् । किसानबाट ल्याइएका फलफूल तथा तरकारीहरू पहिले यिनै केन्द्रहरूमा राखिन्छन् । जस्तै, यदि दक्षिण–पश्चिम क्षेत्रीय केन्द्रले युनानबाट १,००० टन फलफूल सङ्कलन गर्छ भने, करिब २०० टन त्यहीँ युनानमै राखिन्छ, ताकि वरपरका क्षेत्रमा तत्काल आपूर्ति गर्न सकियोस् । बाँकी ५०० टन बेइजिङ र वरपरका क्षेत्रमा पठाइन्छ, अनि ३०० टन ग्वाङझाउतर्फ । यही कारणले “शिनजियाङबाट आएको” भनेर चिन्ह लगाइएका सामानहरू कहिलेकाहीँ शीआनबाट ढुवानी भएको देखिन्छ । तेस्रो, आधुनिक फ्रिजिङ र संरक्षण प्रविधि अहिले निकै उन्नत भइसकेका छन् । चिनियाँ उपभोक्ताहरू पनि बिस्तारै यिनलाई स्वीकार गर्न थालेका छन् ।”

युनान भ्रमणका सन्देश : युनानको मोडेलले नेपालका लागि पनि उपयुक्त

युनान यात्राले यो सन्देश दिन्छ कि सफल विकास केवल संरचना, उद्योग वा नीति मात्र होइन मानव श्रम, सामूहिक चेतना, सांस्कृतिक सम्मान र प्रकृतिसँगको सहजीवनमा आधारित हुन्छ । हरेक खेतबारी, प्रत्येक फलफूल, भिरपाखा, प्रत्येक चियाका रुख, पुतली र झरना यी सबैले पुष्टि गर्छन् कि सतत विकासको मार्ग साहस, संयम र सृजनात्मक दृष्टिकोणको संयोजनबाट मात्र सम्भव छ । युनानको अनुभवले केवल चीनको कथा होइन, विश्वका लागि, विशेष गरी नेपाल जस्ता देशहरूको लागि पनि सन्देश दिन्छ कि विकास र समृद्धि तब मात्र स्थायी हुन्छ जब मानव, समाज र प्रकृति सँगसँगै अघि बढ्छन् ।

यस भ्रमणबाट सुदृढ योजना, आधुनिक प्रविधि र स्थानीय स्रोतको विवेकपूर्ण प्रयोगले मात्र दिगो विकास सम्भव हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । Wenshan Qihua Co. Ltd जस्ता हर्बल मेडिसिन उद्योगले युनानको मुहार परिवर्तन गर्यो । केबल प्रान्तको अर्थतन्त्र मात्रै बलियो बनाएको छैन, संसारमा युनानालाई चिनायो पनि छ । जनता उद्योगको निर्माता र संरक्षक छन् भने जनतालाई उद्योगले पालिरहेको छ । तर हामी हाम्रोमा भएको एउटा जडीबुटी उद्योगमा पनि आगो लगाएर ध्वस्त बनाएर आगो ताप्दै रक्षक हैन भक्षक भएको झल्को दिइरहेका छौँ । यस्तो कुकर्म रोक्ने र सत्मार्ग अपनाउने युनानले नेपाललाई सुझाएको छ ।

नीति र योजना बिना विकास सम्भव छैन । स्थिरता बिना दिगो विकास असम्भव छ । सांस्कृतिक, आर्थिक र पर्यावरणीय पक्षलाई सँगै समेटेर मात्र दिगो लाभ सुनिश्चित हुन्छ । नेपाल पनि भौगोलिक, जलवायु र जैविक दृष्टिले युनानसँग मिल्दोजुल्दो छ । तर हाम्रो गति ढिला छ, अवसर हराउँदै छ । “हरियो वन नेपालको धन” भन्ने नारा मात्र होइन, बहुउपयोगी बन मानिसको धन बनाउने कार्य योजनामा समावेश गर्नु आवश्यक छ । अब हर्वल फोरेष्ट, फ्रुट फरेष्ट, फ्लाओर फोरेष्ट भनेर नेपाललाई चिनाउनु पर्छ । यदि योजना, स्थिरता र दिगो दृष्टिकोण अपनाइयो भने, नेपालले पनि युनानले देखाएको जस्तै ग्रामीण पुनरुत्थान, औद्योगिक प्रगति, पर्यावरणीय संरक्षण र सामाजिक समृद्धि हासिल गर्न सक्छ ।

सन्देश स्पष्ट छ नीति बिना योजना, योजना बिना स्थिरता र स्थिरता बिना दिगो विकास सम्भव छैन ।