जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार १८:४०

ओली सरकारको कामले नेपाली अर्थतन्त्र बलियोतर्फ उन्मुख रहेको बिश्व बैंकको निश्कर्ष, देखियो यस्तो सुधार


काठमाडौं, मंसिर २६ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ६.४ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । नेपालको आर्थिक विवरणको विश्लेषणात्मक तथ्यांक प्रकाशन गर्दै बिश्व बैंकले उक्त अनुमान गरेको हो ।

बिश्व बैंकले सेवा क्षेत्रको वृद्धि, उच्च रेमिट्यान्सको प्रवाह तथा भ्रमण वर्ष २०२० ले चालु वर्षको वृद्धिलाई सहयोग गर्ने आफ्नो निश्कर्ष पनि सुनाएको छ । बिश्व बैंकले आफ्नो प्रतिवेदनमा नेपाल डेभलपमेन्ट अपेटमार्फत यही वर्ष गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने, ठूला होटल तथा पर्यटकीय ठूला पूर्वाधारमा भएका लगानीले वृद्धिदरलाई सघाउ पुर्याउने औंल्याएको छ ।

पछिल्लो समय नेपालले थुप्रै देशसँग हवाई सम्झौता पुनरावलोकन गरेकाले हवाई सम्पर्क बढ्ने, यस कामबाट पर्यटक आगमनमा सहयोग पुर्याउने र यसले गर्दा रिटेल व्यापारसमेतलाई सघाउ पुग्ने निश्कर्षसमेत प्रतिवेदनमा औल्याइएको छ । यस्तै धानको उत्पादन केही कमी भएपनि उद्योग क्षेत्रमा राम्रा संकेत देखिएकाले उच्च वृद्धिदर कायमै हुने बैंकको अनुमान छ । जलविद्युत तथा सिमेन्ट उद्योगमा भएको लगानी तथा अन्य उत्पादनमूलक क्षेत्रमा भएको लगानीको प्रतिफल आउने समय सुरू भएकाले पनि अर्थतन्त्र थप विस्तारित हुन सहयोग पुग्ने सो बैंकको निश्कर्ष छ ।

सो प्रतिवेदनअनुसार बलियो बृद्धिदरको निरन्तरताको अर्को आधार हो माग पक्ष । यसमा सरकारी खर्च बृद्धि हुने छ । सरकारकी कर्मचारीको तलबमा भएको बृद्धिले मात्र पनि सार्वजनिक खर्चमा केही बृद्धि हुने छ । संघीय इकाइ तथा कार्यसम्पादनमा आधारित सम्झौताका कारणले सरकारी खर्चमा बृद्धि हुने छ । त्यस्तै रेमिट्यान्स प्रवाह पनि स्थिर भएका कारण निजी खपतमा खासै गिरावट आउने छैन । सरकारले पछिल्लो समय गरेका नीतिगत सुधारका कारण वैदेशिक लगानीमा बृद्धि हुने अवसर भएको पनि बिश्व बैंकको अनुमान छ । नेपाल पूर्वाधार विकास बैंकको स्थापना, वान स्टप सेन्टरको स्थापना तथा डुइङ बिजनेस सुधार इकाइको व्यवस्थाले लगानी आकर्षित हुनसक्ने सो बैंकले बताएको छ ।

आज सार्वजनिक गरिएको प्रतिवेदनअनुसार सरकारी कर्मचारीको तलब बृद्धि तथा आयतमा उच्च करका कारण मूल्यबृद्धिमा केही बृद्धि हुने छ । यद्यपी बृद्धिदर ५ प्रतिशत मुनी हुने अनुमान बैंकले गरेको छ । गएको तीन वर्षको बृद्धिदर ६.५ प्रतिशत कायम भएर नेपाली अर्थतन्त्र बलियोतर्फ उन्मुख देखिए पनि विश्व बैंक लगायतका संस्थाहरुले देखाउँदै आएका चुनौतिहरु भने यथावत छन । लामो समयदेखि उनीहरुले देखाउँदै आएको रेमिट्यान्समा आधारति खपतले अर्थतन्त्रलाई अस्थिर बनाउने तर्क छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारले अघि बढाएको नीतिगत सुधार र अर्थमन्त्री डा. युवराज खतिवडाले थालेको पहलकदमीका रुपमा बिश्व बैंकको यस प्रतिवेदनले औल्याएको सकारात्मक परिणाम आएको बिज्ञहरुको भनाई छ ।