काठमाडौं, १३ असार । सप्तरीमा एक दलित युवकको हत्या भएको छ । बिहीबार जिल्लाको राजगढ गाउँपालिका–४ पिप्रामा घाँटी रेटी हत्या गरिएको अवस्थामा डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको शव फेला परेको हो । सार्वजनिक पोखरीको डिलमा घाँटी रेटिएको अवस्थामा खंगको शव फेला परेको सप्तरीका प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताउनुभयो । ‘बिहान करिब ८ बजेतिर हामीले जानकारी पाएपछि घटनाको सूक्ष्म अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान भइरहेको छ,’ उहाँले भन्नुभयो , ‘अनुसन्धानमा सीआईबीको टोलीले पनि सघाइरहेको छ भने हामीले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका छौं ।’ घटनास्थल मृतक खंगको घरदेखि एक किलोमिटरको दूरीमा रहेको छ ।
खंग राति के–कुन कारणले त्यहाँ पुगे भन्ने विषय पनि खुल्न सकेको छैन् । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्न सक्ने डीएसपी बस्नेतले बताउनुभयो । यसअघि वैशाख २ गते बिहान जिल्लाको सुरुङ्गा नगरपालिका–७ राम टोलकी २० वर्षीया पुजाकुमारी रामको शंकास्पद अवस्थामा शव भेटिएको थियो । अनुसन्धानका क्रममा पुजाको हत्या भएको पुष्टि हुँदा समेत अहिलेसम्म हत्यारा पत्ता लागेको छैन । ती घटनामा पनि सीआईबी र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्त रूपमा अनुसन्धान गरिरहेको डीएसपी बस्नेतको भनाइ छ । ‘त्यो घटना हामी छिट्टै टुंगो लगाउँछौं,’ उहाँले भन्नुभयो।
प्रतिक्रिया दिनुहोस्