काठमाडौं, असोज ९। राजनीतिक विश्लेषक भरत दाहालले आफूलाई गरिएको गिरफ्तारीले देशका पक्षमा आवाज उठाउने आफ्नो हौसला झन् बढाएको बताउनुभएको छ।
सरकारले असोज ४ गते मोरङबाट पक्राउ गरी हिरासतमा राखेपछि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा उहाँलाई रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि दाहाल हिजो साँझ थुनामुक्त हुनुभएको थियो।
थुनामुक्त भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै दाहालले आफूलाई राजनीतिक प्रतिशोधका कारण बिना ठोस कारण गैरकानुनी रूपमा पक्राउ गरिएको बताउनुभएकाे छ।
उहाँले आफूविरुद्धको गिरफ्तारीका विषयमा आवाज उठाउने सञ्चारमाध्यम, राजनीतिक नेता, विश्लेषक, वरिष्ठ अधिवक्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता, शुभचिन्तक लगायत सबैप्रति आभार व्यक्त गर्नुभएको छ।
दाहालले लेख्नुभएको छ, “बालेन–सुदन सत्ताले राजनीतिक प्रतिशोध स्वरूप मलाई असोज ४ गते मोरङ जिल्लाबाट बिना ठोस कारण गैरकानुनी रूपमा गिरफ्तार गरी ५ दिन हिरासतमा राखेको स्वेच्छाचारी कदमका विरुद्धमा जबर्जस्त रूपमा आवाज उठाउनु हुने सञ्चारमाध्यमहरू, राजनीतिक नेताहरू, विश्लेषकहरू, वरिष्ठ अधिवक्ताहरू, सामाजिक सञ्जाल प्रयोगकर्ता मित्रहरू, शुभचिन्तकहरू लगायत सबै तप्काप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।”
गैरकानुनी गिरफ्तारीविरुद्ध परमादेश जारी गरी साधारण तारेखमा रिहा गर्न आदेश दिने न्यायाधीश तथा हिरासतमा रहँदा आफूलाई मित्रवत् व्यवहार गर्ने प्रहरीप्रति समेत उहाँले आभार व्यक्त गर्नुभएको छ। दाहालले आफूलाई गरिएको गिरफ्तारीले देशका पक्षमा लड्ने आफ्नो हौसला अझ बढाएको दाबी गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “यो मनपरी गिरफ्तारीले देशका पक्षमा लड्ने मेरो हौसलालाई दस गुणा बढाएको छ।”
साथै, आफूविरुद्धको गिरफ्तारीका विषयमा उठेको आवाजले पछिल्लो एक वर्षमा आफूले उल्लेख गर्नुभएको ‘विदेशी नाङ्गो नाच’ विरुद्धको ध्रुवीकरण अघि बढेको संकेत गरेको दाहालको दाबी छ। उहाँले उक्त ध्रुवीकरणलाई ठोस रूप दिने समय आएको उल्लेख गर्दै “एक वर्ष अगाडिको विध्वंसका पछाडि लुकेको खतरनाक रणनीतिलाई सबैले समयमै बुझौँ” भन्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्