काठमाडौं, असाेज ९ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक पार्टीको आन्तरिक एकता सुदृढ गर्दै पार्टी पुनर्जागरण तथा सुदृढीकरणका ठोस योजना निर्माण गर्ने दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको निष्कर्ष निकालिएको छ ।
बैठकले विगतमा पार्टीभित्र रहेका कमी–कमजोरीहरूको गम्भीर समीक्षा गर्दै तिनलाई सच्याउने र आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । बैठकले पार्टी सुधार तथा रूपान्तरणका लागि आवश्यक मार्गचित्रसमेत तयार गरेको जनाएको छ ।
एमालेले बैठकका निर्णयहरूलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै निष्ठापूर्वक कार्यान्वयन गरेर अघि बढ्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ ।
बैठकको विशेष सङ्कल्पमा यसबीच पार्टीभित्र देखिएका कतिपय असमझदारी तथा अस्वस्थ अवस्थाहरू बैठकसँगै अन्त्य भएको उल्लेख गरिएको छ । त्यससँगै पार्टी भावनात्मक रूपमा थप एकताबद्ध भएको एमालेको निष्कर्ष छ ।
पार्टीले बैठकबाट प्राप्त सन्देशलाई आत्मसात् गर्दै लोकतन्त्रको रक्षा तथा आगामी निर्वाचनको तयारीका लागि तय गरिएका प्रमुख कार्यभारमा केन्द्रित हुन समग्र पार्टी पङ्क्तिलाई आह्वानसमेत गरेको छ ।
एमालेले आन्तरिक एकतालाई थप मजबुत बनाउँदै विगतका कमजोरीबाट पाठ सिकेर सुधार, रूपान्तरण, पुनर्जागरण र सुदृढीकरणको योजनासहित आगामी राजनीतिक कार्यभारमा अघि बढ्ने सङ्कल्प गरेको छ ।
बैठकले पास गरेकाे विशेष सकल्प प्रस्तावमा लेखिएकाे : “केन्द्रीय कमिटीको तेस्रो बैठक पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गर्ने सम्बन्धमा अत्यन्त महत्वपूर्ण रह्यो । बैठकमा हामीले विगतमा रहेका कमीहरूको गंभीर समीक्षा गरेका छौं, तिनलाई सच्याउँदै आगामी दिनमा नदोहोऱ्याउने प्रण गरेका छौँ र सुधार तथा रूपान्तरणको मार्गचित्र तयार गरेका छौँ । बैठकका निर्णयलाई गंभीरतापूर्वक बोध र निष्ठापूर्वक कार्यान्वयन गर्दै अगाडि बढ्न पार्टीका सबै नेता कार्यकर्तालाई आग्रह गर्दछौँ । यस बिचमा देखा परेका कतिपय असमझदारी र अस्वस्थताहरू यस बैठकदेखि अन्त्य भएका छन् र पार्टी भावनात्मक रूपमा थप एकजुट भएको छ । बैठकको यस सन्देशलाई आत्मसात गर्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारी सम्बन्धी पार्टीले तय गरेका प्रमुख कार्यभारमा केन्द्रित हुन यो बैठक समग्र पार्टी पङ्क्तिलाई आह्वान गर्दछ ।”












प्रतिक्रिया दिनुहोस्