काठमाडौँ, असोज ९ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणका लागि अस्ट्रेलिया नेपालसँगै रहेको बताउनुभएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्तामा प्रधानमन्त्री अल्बानिजले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
भेटवार्ताबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री अल्बानिजले विपद्को यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको स्पष्ट पार्नुभएको छ।
उहाँले प्रधानमन्त्री शाहसँगको भेटमा बाढीबाट प्रभावितप्रति अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना व्यक्त गरेको र हालसम्म अस्ट्रेलियाले गरिरहेको सहायता प्रयासबारे जानकारी गराएको बताउनुभएको छ।
बाढीमा परी केही अस्ट्रेलियाली नागरिकसमेत बेपत्ता भएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री अल्बानिजले उनीहरूका परिवार तथा आफन्तजनप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ।
अत्यावश्यक परेको क्षेत्रमा सहयोग पुर्याउन अस्ट्रेलियाले नेपालसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग साइडलाइन भेटवार्ता गरिरहनुभएको छ।












प्रतिक्रिया दिनुहोस्