काठमाडौँ, असोज ९ । अविरल वर्षासँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगा क्षेत्रमा ‘होल्ड’ गरिएको छ।
बिहीबार असोज ८ गते बेलुका ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएको हो।
वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कताका रूपमा सवारीसाधन रोकिएको जनाइएको छ। नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने सवारीसाधनलाई नागढुंगामै रोकिएको छ।
लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारीसाधनसमेत होल्डमा परेपछि यात्रु तथा चालक प्रभावित भएका छन्।
वर्षा भइरहेका बेला अत्यावश्यक नभई यात्रा नगर्न आग्रह गरिएको छ। लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र प्रस्थान गर्न प्रशासनले अनुरोध गरेको छ।
वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले यात्रुलाई धैर्य गर्नसमेत अनुरोध गरिएको छ।












प्रतिक्रिया दिनुहोस्