जनता टाइम्स

२३ चैत्र २०८२, सोमबार ०७:५८

वडाध्यक्ष र स्थानीय कार्यकर्तासम्बन्धी निजी भिडियो सार्वजनिक भएपछि नगरपालिकामा उजुरी


काठमाडौं : खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई र स्थानीय कांग्रेस कार्यकर्ता गीता थापा बस्नेतसँग सम्बन्धित एक निजी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकामा औपचारिक उजुरी परेको छ।

उक्त भिडियो शनिबार साँझ बस्नेतको फेसबुक स्टोरीमा केही समयका लागि देखिएको र केही मिनेटमै हटाइएको बताइएको छ। यद्यपि, त्यसअघि नै भिडियोको प्रतिलिपि विभिन्न माध्यमबाट सामाजिक सञ्जाल तथा मेसेजिङ एपमार्फत फैलिएको जनाइएको छ।

भिडियो कहिले र कहाँ रेकर्ड गरिएको हो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। घटना सार्वजनिक भएपछि वडाध्यक्ष राई सम्पर्कविहीन रहेको र उहाँको फेसबुक खाता निष्क्रिय देखिएको बताइएको छ। मोबाइल फोन पनि बन्द अवस्थामा रहेको स्रोतको भनाइ छ।

यस विषयलाई लिएर बस्नेतका परिवारका सदस्य, देवरसहित, ले समाजमा अश्लीलता फैलाएको र सामाजिक सद्भावमा असर पुर्‍याएको भन्दै नगरपालिकामा उजुरी दिएका छन्।

नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईका अनुसार उजुरी प्राप्त भइसकेको छ र वडाध्यक्ष राईसँग स्पष्टीकरण माग्ने तयारी गरिएको छ।

उहाँले भन्नुभयो, “सम्बन्धित पक्षसँग सात दिनभित्र स्पष्टीकरण मागिनेछ। फोन बन्द भएकाले म्यासेन्जर वा ह्वाट्सएपमार्फत पत्र पठाउने तयारी भइरहेको छ। तोकिएको समयभित्र जवाफ नआए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।”

नगरपालिकाका अनुसार उजुरीमा सम्बन्धित जनप्रतिनिधिबाट जारी हुने सिफारिसहरू तत्कालका लागि स्वीकार नगर्नुपर्ने मागसमेत गरिएको छ।

विषयले राजनीतिक रंग पनि लिएको छ। दुवै जना नेपाली कांग्रेससँग आबद्ध रहेको बताइएको छ। वडाध्यक्ष राई जिल्ला कार्यसमिति सदस्य रहेको र बस्नेत पार्टीकी क्रियाशील सदस्य भएको जनाइएको छ।

यसैबीच, घटनाबारे नेपाली कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईसमक्ष पनि ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्रमा दुवै जनामाथि पार्टीको साधारण सदस्यता समेत खारेज हुने गरी कारबाही गर्न माग गरिएको बताइएको छ।

घटनापछि स्थानीय स्तरमा व्यापक चर्चा सुरु भएको छ भने नगरपालिकाले थप प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।