काठमाडौं, पुस ८ । नेपाली कांग्रेसको तर्फबाट लगातार दुई पटक वडा नम्बर–९ वाट वडा सदस्य निर्वाचित हुनुभएका रामजी भण्डारी आइतबार बिहानै बिजय चोक नजिकैको आफ्नै निवास अगाडि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई देखेर दंग पर्नुभयो । वडाध्यक्ष रामकृष्ण श्रेष्ठ, वडा सदस्य र वडाका कर्मचारीसहित मेयर शाक्यको टोलीलाई आफ्नो निवास अघि देखेपछि उहाँ हस्याङफस्याङ गर्दै बाहिर निस्किनु भया अनि मुस्कुराउँदै भन्नुभयो, ‘लौ यो त अचम्मै भयो नि, बिहान–बिहानै त्यो पनि पुरै दलबलसहित मेरै घर अघि ?’
मेयर शाक्यले पनि भण्डारीलाई गम्ल्याङ्ग अँगालो मार्नुभयो, केही तस्बिर खिच्नुभयो र भन्नुभयो, ‘तपाईंको वडाको विकासबारे जानकारी लिन आएको ? वडाध्यक्ष र सदस्यहरुको कामबाट जनता कत्तिको सन्तुष्ट हुनुहुन्छ ?’ मेयर शाक्यको प्रश्न भुईंमा खस्न नपाउँदै भण्डारीले भन्नुभयो, ‘म दुई पटक यही वडाको सदस्य भएँ । तर, अहिलेसम्म यसरी मेयर नै वडाको विकासबारे जानकारी लिन घरदैलोमा आएको थाहा थिएन । यो नौलो मात्र होइन, निकै सकारात्मक काम पनि हो ।’ भण्डारीको घर अगाडि नै केही तस्बिर खिचेपछि मेयर शाक्यले केही दिन अघि मात्रै वडा–१६ र २६ को पनि अवलोकन गरेको जानकारी दिँदै अब अभियान ३२ वटै वडासम्म लैजाने बताउनुभयो ।
मेयर शाक्यको त्यो भनाइपछि थप उत्साहित हुनुभएका भण्डारीले आफ्नो वडाको विकासबाट आफू समग्रमा सन्तुष्ट रहेको भन्दै केही प्राविधिक काममा भने अझै ध्यान दिन सुझाव दिनुभयो । ‘वडामा राम्रो काम भएको छ । रामकृष्णहरुको टीमले राम्रो मेहनत गरेका छन्,’ उहाँले भन्नुभयो, ‘नक्सापासलगायतका प्राविधिक विषयमा भने केही गुनासो रहेको मैले जानकारी पाएको छु । यसमा पनि अलिक बढी ध्यान दिनुहोला ।’ वायुमार्गमा बसोवास गर्ने भण्डारी त्यसपछि मेयर शाक्यसँगै करीब एक घण्टा वडाको अनुगमनमा सहभागी हुनुभयो ।
पूर्ववडा सदस्य भण्डारी मात्र होइन, मेयर शाक्यलाई आफ्नै टोलमा भेटेपछि रातोपुल नजिकैको करुणा मार्गका मनिक खड्गी पनि उत्साहित देखिनुहुन्थ्यो । यसरी मेयरसहितको टोली घर–दैलोमै आउँदा तपाईंले कस्तो महसुश गर्नुभएको छ ? प्रश्न टुङ्ग्याउन नपाउँदै खड्गीले जवाफ फर्काउनुभयो, ‘निर्वाचनका बेलामा मात्र जनप्रतिनिधिलाई हामीले घर–दैलोमा देख्थ्यौँ । यसरी वडाको विकासबारे जानकारी लिदैँ जनप्रतिनिधि घरदैलोमै आउँदा खुशी लागेको छ । विकास निर्माणका काममा भएका लापरवाहीलाई पनि यस्ता अवलोकनले निरुत्साहित गर्ला भन्ने मैले अपेक्षा लिएको छु ।’ उहाँले यस्तो अनुगमन बेला–बेलामा हुनुपर्ने भन्दै विकासका नाममा हुने लापरवाही र ढिलासुस्तीमा पनि केही सुधार आउनेमा आशावादी रहेको बताउनुभयो ।

अनुगमनकै क्रममा मेयर शाक्यसहितको टोली रातोपुलको ढुंगेधारामा पुग्दा आठ–दश जना महिला त्यँही धारामा पानी थापिरहेका थिए । महानरपालिकाकै पहलमा त्यहाँ ढुंगेधारालाई व्यवस्थित बनाएको रहेछ । ढुंगेधारा नजिकै घर भएकी दिपा समालले मेयरसहित वडाध्यक्षलाई मौका छोपेर गुनासो पोख्न भ्याउनुभयो । ‘पहिला पानी लिन आउँदा चिप्लिएर लडिएला भन्ने त्राहि–त्राहि हुन्थ्यो । अहिले निकै गज्जब भएको छ । अझै यहाँ पानी स्टोर गर्नका लागि ट्याङ्कि राख्न पहल गरिदिनुहोला । अझ खुशी हुन्छौँ ।’
वडा–९ मा मात्रै करीब १० किलोमिटर अवलोकन गर्ने क्रममा मेयर शाक्यसहितको टोली भिमसेन टोलको अरणिको मार्ग र नारायणगोपाल मार्ग पुग्दा त्यहाँ केही ढल फुटेको र कमसल कालोपत्रे गर्दा भत्किएको भेटियो । मेयर शाक्यले काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख डाक्टर उत्तरकुमार रेग्मीलाई छेउमै बेलाएर बाटो र ढलका बारेमा बुझेर समस्या समाधान गर्न निर्देशन दिनुभयो । वडाध्यक्ष श्रेष्ठलाई पनि काम चित्तबुझ्दो नभएसम्म भुक्तानीका लागि सिफारिस नदिन निर्देशन दिनुभयो ।
मेयर शाक्यको निर्देशन लगत्तै रेग्मीले सँगै रहेकी वडाकी इञ्जिनियरलाई प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । ‘निवेदन सिवेदनको अलमलमा नलाग्नुहोला, हामीले यहि आएर हेरेपछि यो भन्दा ठूलो निवेदन अरु केही छैन । चाँडै प्रक्रिया अघि बढाएर ल्याउनुहोला ।’ अनुगमनका क्रममा केही बाटो राम्रो भए अव्यवस्थित तारका कारण वडा सुन्दर बन्न नसकेको गुनासो गर्दै तारलाई अण्डरग्राउण्ड गर्ने योजना अघि सार्न मेयर शाक्य र वडाध्यक्ष श्रेष्ठसँग आग्रह गरेका थिए ।
करीब चार घण्टाको अवलोकनका क्रममा मेयर शाक्यसहितको टोलीले नवनिर्मित वडा भवनको पनि अवलोकन गरेको थियो । २ करोड ७६ लाखको लगानीमा नवनिर्मित भवनको छतमा सामूहिक तस्बिर खिचाउँदै मेयर शाक्यले भन्नुभयो– ‘तपाईँहरुको कार्यकालको सबैभन्दा सम्झन लायक काम हो यो । सकेसम्म छिटै सम्पन्न गरेर सर्ने तयारी गर्नुहोला ।’ मेयर शाक्यको यस्तो भनाईपछि वडा सदस्य श्रृजना भेटवालले ०७६ साल नकटाउने भन्दै चैत भित्रमै सर्ने तयारीका साथ काम भएको जानकारी गराउनुभयो ।
वडा सदस्य रना सुनामले पनि भेटवालको भनाईमा सार मिलाउँदै मेयरकै उपस्थितिमा उद्घाटन गर्ने बताउनुभयो । टोलीले सिनामंगलमा रहेको गुह्ेश्वरी माध्यामिक विद्यालयसँगै सिनामंगलकै शक्ति विनायक मन्दिरको पनि अवलोकन गरेको थियो । त्यहाँका स्थानीयले क्रियापुत्री भवन निर्माण गर्नेलगायतका काममा मेयर शाक्यलाई सहयोग गर्न आग्रह गरेका थिए । मेयर शाक्यले पनि वडाध्यक्षसँग सल्लाह गरेर आवश्यकता के–हो त्यसको आधारमा आफू अघि बढ्ने आश्वासन दिनुभयो । वडाध्यक्ष श्रेष्ठले अहिलेसम्म आधा दर्जन बढी ठूला योजना आफ्नो वडामा सम्पन्न भएको भन्दै ७० बढी सहायकबाटाहरुको पनि काम सम्पन्न भएको बताउनुभयो ।

करिब एक करोडको भिमसेन गोलादेखि खरिवोट मार्ग, एक करोड ५० लाखको अरनीको मार्ग, करीब ७६ लाखको नागवेलीबाट पुरानो वानेश्वरसम्म, करीब ८० लाखको करुणा गल्ली, करीब एक करोड ५० लाखको पुरानो वानेश्वरदेखि गौशालासम्मको सूर्यविक्रम ज्ञवाली मार्ग, एक करोड को माइती नेपाल मार्गलगायतका बाटाहरुमा कालोपत्र गर्ने काम आफ्नै कार्यकालमा भएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
‘बजेटको अभावले यहाँको विकासको काम रोकिएको छैन,’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अहिलेसम्मको हाम्रो कामबाट जनता उत्साहित नै रहेको महशुस गरेका छौँ । तर, अझै पनि केही गुनासाहरु आए भने हामी समाधानका लागि तत्परता देखाउने छौँ ।’ मेयर शाक्यले पनि अन्य वडाध्यक्षलाई जस्तै श्रेष्ठलाई पनि बजेटको अभावमा विकासको काम रोकियो भन्ने गुनासो जनताले सुन्नु नपरोस भनी जनप्रतिनिधिलाईदत्तचित्त भएर काममा लाग्न सुझाव दिनुभयो ।

वडा सरसफाइका लागि समिति
त्यसो त वडाको सरसफाइका लागि सो वडाका वडावासीले वागमती नमूना फोहोर उपयोग उपभोक्ता समिति नै बनाएका रहेछन् । समितिको सचिव समेत रहनु भएका वडासदस्य टेकराज अधिकारीले आफ्नो वडा सफा राख्न यस्तो अभियान चलाएको जानकारी दिनुभयो । ‘वडा सफा राख्न हप्तामा दुई घण्टा समय दिऔँ भन्ने नारा नै तय गरेर हामी अघि बढेका छौँ,’ वडा सदस्य अधिकारीले भन्नुभयो, ‘यसले हामीलाई थप उत्तरदायी मात्रै बनाएको छैन । वडालाई सफा राख्न पनि थप मद्त पुगेको छ ।’













प्रतिक्रिया दिनुहोस्