जनता टाइम्स

१४ पुष २०७६, सोमबार २०:४३

डिआइजीलाई नै चक्कु ताक्दै आएपछि…


काठमाडौं, पुस १४ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलसहितको टोली शुक्रबार राति ९ बजे सडक अनुगमनमा निस्कियो । डिआइजी पोखरेल नेतृत्वको टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए ।

टोली काठमाडौको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा पुग्दा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा देखिए । चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै थिइन भने श्रीमान मदिरामा लठ्ठ थिए । प्रहरी र अभियानकर्मीले उनीहरुलाई फकाउँदै सडकमा नबस्न आग्रह गरे । तर ती महिला आश्रममा जान मानिनन । उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन । नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसेपछि महिलाले भनिन, ‘भोलि आफ्नै घर जान्छौं, आज छाडी दिनुस ।’ प्रहरीसहितको टोलीलाई उनले यसरी अनुरोध गरेको यो तेस्रो पटक थियो ।

सहज रुपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्यो । उनी रिसाएर एक्कासी सिरानबाट चक्कु निकालिन र भनिन, ‘म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छु ।’ उनले चक्कु ताक्दै अश्लिल शब्दसमेत प्रयोग गरिन । यो घटना नियालीरहनुभएका डिआइजी पोखरेल चकित परे । एकछिन पोखरेलसहित सबै अक्क न बक्क बने ।  गाडीमा बसिसकेका श्रीमानलाई फिर्ता ल्याई दिने शर्त राखेपछि उनले चक्कु थन्क्याइन । अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन । धादिङको नौबिसे घर बताउने यी दम्पति मन्दिरमा मागेर बस्ने गरेको निक्कै लामो समय भएको छ ।

टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि प्रहरीले सोही राती उद्धार गर्यो । स्थानीयका अनुसार उनीहरु भट्टीमा बसेर मदिरा पिउने अनि हरेक दिन चोकमा झैझगडा गर्दै आएका थिए । प्रहरीले कालिमाटीमा महिला पुरुष एउटै गुँड बनाएर सुतिरहेको भेट्टायो ।
सडकमा यसरी हतियार देखाएर तर्साउन खोज्ने, कुटपिट गर्न खोज्ने, टोली देखेपछि भाग्नेहरु धेरै रहेका छन । काठमाडौंको सडकमा असहाय र बेसहाराहरु न्यून रहेपनि यस्ता व्यक्तिहरु अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउनु हुन्छ । अधिकांश पेशेवर मगन्ते, मदिरा खाएर पल्टिने र दिनभर मजदूरी गरेर राति सडकमा बस्नेहरु छन । यस्ता व्यक्तिले भने कुनै न कुनै हर्कत देखाउने गरेका अभियानकर्मी सुमन बर्तौलाको अनुभव छ ।

डिआइजी पोखरेले यस्ता गतिविधि रोक्न सुरु भएको अभियान सराहनीय रहेकाले कुन ठाउँमा कसरी प्रस्तुत हुनुपर्छ ? त्यसका लागि प्रहरी तयार रहेको बताउनु भयो । शुक्रबार राति काठमाडौंका सडकबाट मात्रै ३८ जनाको उद्वार गरिएको छ । जसमा सबै मदिरा खाएका र पेशेबर मगन्ते मात्रै थिए । कालीमाटीको सडकमा विगतमा बोरो ओछ्याएर लस्करै ४३ जना सुतेको भेटिएका थि ए। उक्त अभियानका कारण शुक्रबारको रात त्यो सडक खाली थियो । अभियान चलाएसँगै विगतमा यत्रतत्र मानिस सुतिरहेका देखिने सडकक्षेत्र विस्तारै खाली देखिन थालेको छ ।

काठमाडौं महानगरपालिकाले मंसिर २९ गते काठमाडौंलाई सडक मानव मुक्त बनाउने अभियान घोषणा गरेको हो । आगामी तीन महिनासम्म उद्वार तथा व्यवस्थापन अभियान चलाउने योजनाअनुसार दुई हस्तादेखि कार्यक्रम जारी छ । अहिलेसम्म ३६० भन्दा बढीको उद्वार भइसकेको छ ।