जनता टाइम्स

५ मंसिर २०८३, शनिबार ०७:४१

इलाममा आजदेखि दुई दिने प्रथम सूर्योदय चिया महोत्सव सुरु


इलाम, मंसिर ५ । चिया पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा आजदेखि दुई दिने प्रथम सूर्योदय चिया महोत्सव–२०८३ सुरु हुँदैछ ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आयोजना हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूले गर्ने कार्यक्रम छ ।

निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार र चिया पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको महोत्सवमा १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

महोत्सवमा टी ट्रेल रेस, चियासम्बन्धी अन्तरसंवाद, चिया स्वाद परीक्षण, चियाबारी पदयात्रा, स्थानीय खानाका परिकारको प्रदर्शनी तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।

पुरुषतर्फ १२ दशमलव ५ किलोमिटर र महिलातर्फ ९ किलोमिटर दूरीको टी ट्रेल रेस प्रतियोगिता पनि सञ्चालन हुनेछ । पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सूर्योदय नगरपालिका–७ कन्यामदेखि वडा नम्बर ५ श्रीअन्तुसम्म २५ दशमलव ५ किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ । यही पदमार्गको प्रचारप्रसार र क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।