जनता टाइम्स

४ मंसिर २०८३, शुक्रबार २१:००

चीन भ्रमणमा रहेका रास्वपा सांसदहरूको संवाद सार्वजनिक, कांग्रेसको आधिकारिकता देउवा पक्षलाई दिनुपर्ने अभिव्यक्ति


काठमाडौं, मंसिर ४ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच नेपाली कांग्रेसको आधिकारिकता शेरबहादुर देउवा पक्षलाई दिनुपर्ने र त्यसबाट आफ्नो पार्टीले राजनीतिक लाभ लिन सक्ने आशयको संवाद सार्वजनिक भएको छ ।

चीनको प्रविधि प्रदर्शनीमा रोबोटको प्रदर्शन अवलोकन गरिरहेका बेला रास्वपा सांसदहरूबीच भएको कुराकानी भिडियोमा रेकर्ड भएको हो । उक्त भिडियो जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।

भिडियोमा रास्वपा सांसद श्रीराम न्यौपानेले कांग्रेस देउवाकै हातमा जानुपर्ने धारणा राखेको सुनिन्छ । त्यसपछि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले अदालतले पनि स्थानीय निर्वाचनसम्म देउवा पक्षलाई मान्यता दिनुपर्ने आशय व्यक्त गर्नुभएको छ ।

संवादका क्रममा बाँस्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलाई पनि रोक्न नहुने भन्दै उनीहरू अझ चर्को रूपमा प्रस्तुत हुने आशयको अभिव्यक्ति दिनुभएको सुनिन्छ ।

त्यसपछि न्यौपानेले कांग्रेसभित्रको विवादबाट रास्वपाले फाइदा लिन सक्ने बताउँदै त्यसका लागि आफ्नो पार्टीले पनि काम गर्नुपर्ने धारणा राख्नुभएको छ । अर्का सांसदले पनि उनीहरूको स्वभाव नै त्यस्तै भएको भन्दै प्रतिक्रिया दिएको सुनिन्छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका २० जना नेता तथा सांसदको टोली चीन भ्रमणमा रहेको छ । टोलीको नेतृत्व पार्टी महामन्त्री विपिनकुमार आचार्यले गरिरहनुभएको छ । भ्रमण प्रविधि, औद्योगिक विकास, आर्थिक सहकार्य, सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा केन्द्रित रहेको बताइएको छ ।

तर, भ्रमणका क्रममा सार्वजनिक भएको संवादले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ । विशेषगरी कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा सत्तारूढ दलका सांसदहरूले सम्भावित न्यायिक निर्णय र त्यसबाट आफ्नो पार्टीलाई हुने राजनीतिक लाभबारे गरेको कुराकानीले प्रश्न उठाएको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति बाँस्कोटाको अभिव्यक्तिलाई लिएर न्यायिक प्रक्रियाको निष्पक्षता र अदालतको स्वतन्त्रताबारे पनि चासो व्यक्त हुन थालेको छ ।

यद्यपि, सार्वजनिक भिडियोमा सुनिएको संवादकै आधारमा रास्वपाले कांग्रेसको आन्तरिक विवादमा कुनै हस्तक्षेप गरेको निष्कर्ष निकाल्न भने सकिँदैन । तर, अदालतमा विचाराधीन विषयमा सत्तारूढ दलका सांसदहरूको यस्तो संवाद सार्वजनिक भएपछि राजनीतिक नैतिकता र न्यायिक प्रक्रियाप्रतिको सम्मानबारे बहस चर्किएको छ ।