काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी मंसिर ७ गते सोमबार नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ ।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्ने कार्यक्रम छ । सोही दिन साँझ ६ बजे उहाँले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नुहुनेछ ।
भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाट हुनेछ । त्यसपछि उहाँले राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ ।
राजघाटको कार्यक्रमपछि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । भेटवार्तापछि मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ ।
प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेटवार्ता गर्नुहुनेछ । त्यसपछि उहाँ अपराह्न ४ बजेर ५० मिनेटमा नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्