काठमाडौं, मंसिर ४ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सोल्डआउट भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको फाइनल खेल हेर्न ठूलो संख्यामा समर्थकले टिकट खरिद गर्न खोजे पनि धेरैजना टिकट पाउनबाट वञ्चित भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टिकट बिक्री खुला गरिएको समयमा करिब दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरेको जानकारी दिनुभएको छ ।
मैदानको क्षमता सीमित र टिकट संख्या कम भएकाले बिक्री सुरु भएको केही मिनेटमै सबै टिकट सकिएको उहाँले बताउनुभयो ।
यता, टिकट बिक्रीको जिम्मा पाएको इसेवाका एक कर्मचारीले भने एकैपटक करिब पाँच लाख प्रयोगकर्ताले टिकट खरिदको प्रयास गरेको बताएका छन् । इसेवाका अनुसार फाइनलका लागि सात हजार टिकट बिक्री गरिएको थियो ।
टिकट नपाएपछि असन्तुष्ट समर्थकहरूले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।
क्यानले टिकट खरिद गर्न नसकेका समर्थकलाई डिजिटल प्लेटफर्ममार्फत घरमै बसेर फाइनल खेल हेर्न आग्रह गरेको छ ।
सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको फाइनल खेल शनिबार साँझ ५ बजेदेखि सुरु हुनेछ ।













प्रतिक्रिया दिनुहोस्