जनता टाइम्स

४ मंसिर २०८३, शुक्रबार २०:४८

निर्वाचन निष्पक्ष बनाउने जिम्मेवारी सरकारकै हो : कांग्रेस सभापति थापा


काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने मुख्य जिम्मेवारी सरकारकै भएको बताउनुभएको छ ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचन आयोगले गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचनको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले राजनीतिक दल र प्रतिपक्षलाई बेवास्ता गर्दै अघि बढ्न खोजेको भन्दै यस्तो कार्यशैली निर्वाचनका सन्दर्भमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । निर्वाचन आयोगले मात्रै सबै जिम्मेवारी लिनुभन्दा निर्वाचनको वातावरण बनाउन सरकारलाई समयमै ध्यानाकर्षण गराउनुपर्ने उहाँको भनाइ थियो ।

गत वर्ष भदौ २३ र २४ गतेका अप्रत्याशित घटनापछिको परिस्थितिमा निर्वाचन सम्पन्न गर्न तत्कालीन सरकारले राजनीतिक दलहरूसँग गरेको संवाद र सहजीकरण महत्वपूर्ण रहेको उहाँले स्मरण गराउनुभयो ।

सभापति थापाले निर्वाचनको मिति र प्रक्रियाबारे संविधान तथा कानुनमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै सोहीअनुसार निर्वाचनको मिति तय गर्न सकिने बताउनुभयो । स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै समयमा गर्ने विषयमा आयोगमा छलफल भए पनि विशिष्ट परिस्थितिमा दुवै निर्वाचन एकै मितिमा गर्न सकिने वा नसकिनेबारे राजनीतिक दलहरूबीच थप बहस आवश्यक रहेको उहाँको भनाइ छ ।

सरकारले अन्य राजनीतिक दलहरूसँग संवाद गर्नसमेत नचाहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।