जनता टाइम्स

४ मंसिर २०८३, शुक्रबार २०:५३

नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने


चितवन, मंसिर ४ । नारायणगढ–मुग्लिन सडकखण्ड भोलि मंसिर ५ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले घोप्टेभीरमा लगातार सुक्खा पहिरो खसिरहेको र मानवीय क्षतिको जोखिम बढेपछि सडक बन्द गरेर पहिरो पन्छाउने निर्णय गरेको हो ।

प्रशासनका अनुसार अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।

उक्त समयमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिने प्रशासनले जनाएको छ ।

सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न पनि प्रशासनले सर्वसाधारण तथा सवारी चालकहरूलाई अनुरोध गरेको छ ।