काठमाडौं, मंसिर ५ । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।
सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्न लागिएको प्रशासनले जनाएको छ ।
बन्द अवधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिनेछ । सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा सो अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने उल्लेख छ ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्