जनता टाइम्स

२० पुष २०७६, आईतवार १५:११

भारत र अमेरिकाबीच वढ्दो सधनताको सामरिक महत्व


महाशक्ति बन्नको निम्ति ज्ञानको प्रयोग तीन किसिमले गरिन्छ । पहिलो अनुशरण, दोस्रो आत्मसात र तेस्रो प्रसारण । चीनले अमेरिकी नीति अनुरुपनै पश्चिमी ज्ञान र विज्ञानलाई परिमार्जित र परिष्कृत गर्दै अगाडि बढिरहको छ । अमेरिका र चीनपछि भारत पनि यही मार्गमा लम्किरहेको देखिन्छ

आज संसारमा सबभन्दा चर्चित गुटवन्दी वा समीकरण ‘वान वेल्ट वान रोड’ र ‘इण्डोप्यासिफिक’ को नाममा भइरहेको छ । कूटनीतिका केही सूत्रहरू शाश्वत हुन्छन् । समयको पराकम्पनले ती सूत्रको भेदन गर्दैन । यी शाश्वत सत्य के हुन भने ज्ञान र शक्तिको अन्योनाश्रित सम्वन्ध हुन्छ । मानव सभ्यताले यो सत्यलाई स्थापित गरेको देखिन्छ । ग्रीक सभ्यता संसारको केन्द्र विन्दु हुनुका कारण सुकरात, प्लेटो र अरस्तुको वौद्विक क्षमताको कारण नै थियो । रोमन र अरव सभ्यता ज्ञानकै भरमा संसारलाई नेतृत्व गरे । अरव सभ्यता ‘वगदाद’ ज्ञान र विज्ञानको थलो वन्नुको कारण अरवी विद्वानहरूको अनवरत र भगीरथ मिहिनेत हो । अर्थात भारतका मूर्धन्य विद्वानहरूको रचनालाई अरवी भाषामा रुपान्तर गरेर अरवले संसारलाई नयाँ गोरेटो र मार्ग दियो । तत्कालीन समयमा भारतका विद्वानहरूका सोध जसमध्ये चाणक्य, भ्रमगुप्त, श्रुप्यसुताका अनुसनधानहरू अरबमा निकै लोकप्रिय थियो ।

अर्को शब्दमा भन्ने हो भने इतिहासको यही शाश्वत नियमलाई अमेरिकाले अङ्गीकार गर्यो । अमेरिकनहरु युरोप र एसियाबाट ज्ञान र विज्ञानलाई आत्मसात गर्थे । ज्ञान र विज्ञानको अध्ययन र अनुसन्धानको उच्चतम संस्था निर्माण गरे । विश्वका उत्कृष्ट शैक्षिक संस्था अमेरिकामा हुनुकै कारणले अमेरिकामा माइक्रोसफ्ट, फेसबुक, एमोजोन जस्ता व्यापारिक कारोवार र सञ्जाल विश्व व्यापारीकरण भयो, जसले अमेरिकाको सामथ्र्य र क्षमतालाई बढायो । अमेरिका अहिले पनि मानव स्वतन्त्रता, खुला समाज, ज्ञान र विज्ञानको केन्द्रविन्दु, संसारका कुना कुनाका मान्छेले रुचाएको गन्तव्य, हरेक ठाउँमा सामरिक पहुँच, हरेक कूटनीति र रणनीतिमा साझेदारी भएको मुलुक हो । सन १९७८ मा चीन खुला अर्थ व्यवस्थामा प्रवेश गरेपछि अमेरिका जस्तै सूत्रको प्रयोग गर्यो । अर्थात हजारौं चिनियाँ विद्यार्थीहरूले अमेरिका र युरोपका उत्कृष्ट विश्व विद्यालयमा गएर ज्ञान आर्जन गरे ।

महाशक्ति बन्नको निम्ति ज्ञानको प्रयोग तीन किसिमले गरिन्छ । पहिलो अनुशरण, दोस्रो आत्मसात र तेस्रो प्रसारण । चीनले अमेरिकी नीति अनुरुपनै पश्चिमी ज्ञान र विज्ञानलाई परिमार्जित र परिष्कृत गर्दै अगाडि बढिरहको छ । अमेरिका र चीनपछि भारत पनि यही मार्गमा लम्किरहेको देखिन्छ । अहिले सिलकेन भ्यालीलगायत अमेरिकामा विख्यात विश्व विद्यालयमा प्राध्यापक, शोधार्थी र विद्यार्थीको संख्या भारतीयहरूको उल्लेख्य मात्रामा रहेको पाइन्छ । त्यस्तै चीनमा मात्र भारतका विद्यार्थीहरूको संख्या तीस हजार भन्दा माथि रहेको अध्ययनले सावित गर्दछ । अब वर्तमान अबस्थामा भारत र अमेरिकाको सम्वन्धका वारेमा दृष्टिपात गरौं ।

भारत र अमेरिकाको सम्वन्ध विभिन्न उत्तार र चढावले भरेको देखिन्छ । भारतका परराष्ट्र नीतिका जनकका रुपमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुलाई नै लिइन्छ । सन १९४७ देखि सन १९६४ सम्म भारतको परराष्ट्रनीति नेहरु दर्शनबाट नै दिग्दर्शित थियो । नेहरु अमेरिकी लोकतन्त्रतका प्रशंसक भए तापनि अमेरिकी पुँजीवादप्रति उनको आर्कषण थिएन । तैपनि अमेरिका र भारतका परराष्ट्र नीतिमा केही एकरुपता पाइन्छ । अमेरिकी चिन्तक वालटर रसेलले आफ्नो पुस्तक ‘स्पेशल प्रोभिडेन्स (२००१) मा अमेरिकी परराष्ट्र नीतिलाई चार आधारमा विभाजन गरेका छन । पहिलो प्रारुप हेमेल्टनको नीतिबाट निर्दशित हुन्छ । अर्थात हरेक निर्णयमा अमेरिकी स्वार्थको सर्वोच्चता हुनुपर्दछ । दोस्रो प्रारुप अमेरिकी राष्ट्रपति विड्रो विल्सन नीतिबाट निर्देशित हुन्छ । अर्थात विल्सनले अमेरिकाको पहिलो उद्देश्य नै आफ्ना आस्था र मान्यतालाई पैmलाउनु हो । तेस्रो नीतिको प्रणेता जेफरशन हुन । जेफरसनले प्रष्ट भनेका छन कि अमेरिकाको पहिलो प्राथमिकता नै संसारमा प्रजातन्त्रलाई संस्थागत गराउनु हो । चौथो आयामका प्रणेता ज्याकशन हुन ।

उनले अमेरिकी परराष्ट्र नीतिका मुख्य उद्देश्य नै अमेरिकाको सैनिक र सामरिक क्षमता बढाउनु हो । त्यस्तै भारतको परराष्ट्र नीतिलाई पनि चार भागमा वाँड्न सकिन्छ । अर्थात औपनिवेशिक, आदर्शवाद, यथार्थवाद र असंग्लनता । जानकारहरू भारतको परराष्ट्रनीतिमा पहिलो उपनिवेशवादको झलक पनि पाइन्छ । यस सोचअनुसार भारतले रहेका निर्णयमा दिल्लीको सोच नै ठिक हो भन्ने पूर्वनिर्धारित विचारवाट निर्देशित हुन्छ । त्यस्तै दोस्रो आदर्शवादको नीतिअनुरुप भारत आफ्नो मूर्धन्य संस्कृति र सभ्यताको आदर्श अनुरुप परराष्ट्रनीतिलाई परिचालित गर्दछ । अर्थात ‘वहुजनहिताय वहुजन सुखाय’ ‘वसुधैव कुटुम्वम’ जस्ता उच्च आदर्शवाद विश्व शान्ति र मानव कल्याणबाट अभिपे्ररित भएर विदेश नीतिलाई भारतले प्रयोग गर्दछ । तेस्रो सिद्धान्त यथार्थवाद हो । यथार्थवाट कूटनीतिका प्रणेता चाणक्य नै हुन । यसअनुरुप परराष्ट्रनीति परिचालित गर्ने वेलामा राष्ट्रले साम, दाम, दण्ड र भेदको नीति अपनाउ‘छ । चौथो नीति असंलग्नताको हो । भारत असंलग्न नीतिका पर्वतक नै हो ।

अर्थात सोभियत रुस र अमेरिकाको शक्ति संघर्षको दौडमा भारतले आपूmलाई अलग थलग राख्न इण्डोनेशिया, अफ्रिका, इजिप्टलगायत विभिन्न अल्पविकसित राष्ट्रहरूको गोलवन्दी गरेको थियो । कोरिया र भियतनाम जस्ता ठाउँहरूमा पनि भारतले आफ्नो सैनिक पठाएन । यहाँसम्म कि खाडी युद्धका वेला अमेरिकी नेतृत्वमा भएको सैनिक आक्रमणमा पनि भारतले सरिक नभएर आप्mनो असंलग्नताको परिचय दिएको पाइन्छ । असंलग्न परराष्ट्रनीतिको प्रयोग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको परराष्ट्रनीतिमा पनि झलक पाइन्छ । एकातर्फ इजरायलसंग पनि प्रगाढ सम्वन्ध कायम राख्नु र अर्कातर्फ इरानसंगको सम्वन्धलाई निरन्तरता दिनुलाई पनि असंलग्न परराष्ट्रनीतिको प्रयोगको रुपमा नै लिन सकिन्छ ।

भारत र अमेरिकाको सम्वन्ध सौहाद्रता र कटुताको समिश्रण हो । भारतस्वतन्त्र भएपछि भारतलाई काश्मिरको समस्याले सबभन्दा बढी कूटनीतिक कसरत गर्न बाध्य बनायो । पाकिस्तानले पाश्चिमा शक्तिको पक्षमा लागेर अमेरिकाको मद्धतले काश्मिरलाई अन्तर्राष्ट्रिय मञ्चमा मुख्य विषय वस्तु बनाउन अहोरात्र मिहिनेत गरेको यस्तो विषम अवस्थामा सोभियत संघको मद्धत अनवरत रुपमा प्राप्त गर्यो । अर्थात भारत र सोभियत संघको सामिप्यताले भारत र अमेरिकाको सम्वन्धमा शीत युद्धताका वादल मडारिनै रहेको थियो । तर वेला वखतमा भारतले अमेरिकासंग सहयोग नपाएको होइन । भारतमा खाद्यान्न संकट भएको वेला पनि अमेरिकाको गरेको मद्धत र न्युक्लियर र आणविक क्षमताको विकासमा सहयोग, भारतको आधुनिक प्रविधि र औद्योगीकरणमा अमेरिकाको गरेको सहयोगलाई नकार्न सकिदैन । पछि अमेरिका र भारतको सम्बन्धले एउटा नयाँ गोरेटो लियो ।

नयाँ परिवेश र परिस्थितिमा भारतका तत्कालीन प्रधानमन्त्री नरसिंहा रावको अमेरिकी संसदमा भएको सम्वोधनले भारतको लोकतन्त्र, मानव अधिकारप्रतिको आस्था र अमेरिकामा भएको अस्वेत आन्दोलनमा गान्धीवादको प्रभाव र भारतको खुला अर्थव्यवस्थामा भएको आगमन जस्ता विषय विस्तुको चर्चा र परिचर्चाले अमेरिकी लगानीको अभिरुचि भारततिर केन्द्रित भयो । तर कालान्तरमा अटल विहारी बाजपेयी नेतृत्वमा हुँदा भारत र अमेरिकाको सम्वन्धमा निकै उत्तार र चढाव देखियो । बाजपेयीको न्यूक्लियर परीक्षण्ले गर्दा भारत र अमेरिकीको सम्वन्धमा कटुता उत्पन्न भयो । परिणामस्वरुप अमेरिकाले भारतमाथि आर्थिक नाकावन्दी गर्यो । वल्ड बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता अमेरिकी प्रभावमा रहेका वित्तीय संस्थाहरूले भारतलाई दिइरहेको वित्तीय सहयोगमा व्यापक कटौती भयो । तत्कालीन समयमा भारतका परराष्ट्रमन्त्री जसवन्त सिंहले भारत र अमेरिकाको सम्वन्धलाई वाटोमा ल्याउन गरेको भूमिका उनले लेखेको पुस्तक ‘माइ अँनर टु नेशन’ मा वडो रोचक चर्चा गरिएको छ । अमेरिकी अधिकारी स्टोवर्ट र जसवन्त सिंहको प्रयासमा अमेरिका र भारतको सम्वन्धमा फेरि मधुरता आयो । यसैको फलस्वरुप भारतमा किलिन्टन भ्रमण भयो ।

भारतले ‘कार्गिल’ समस्यालाई वडो संयमताका साथ समाधान गर्न सक्नु र कान्धारमा भएको इण्डियन एयर लाइन्सका यात्रीलाई सकुशल ढङगले मुक्त गराउँन सक्नु जस्ता घटनाहरू अमेरिकी छापाखानाहरूमा भारतको नेतृत्वको यथेष्ट मात्रामा प्रशंसा भएको देखियो । यसै सन्र्दभमा वाजपेयीपछि डा. मनमोहन सिंह प्रधानमन्त्री भएको बेला भारत र अमेरिकाको सम्बन्धले एउटा नयाँ उचाइ लियो । अर्थात भारत र अमेरिकाबीच न्यूक्लियर सम्झौता भयो । एक अन्तर्वार्तामा डा. मनमोहन सिंहले आफ्नो दश वर्षको प्रधानमन्त्रित्व कालको सबभन्दा उल्लेख्य उपलब्धि नै अमेरिकासंग भएको न्यूक्लियर सम्झौता हो भन्ने उल्लेख गरेका छन् । आज संसारको अर्थतन्त्र ट्रान्स एटलान्टिकबाट ट्रान्स प्यासिफिकतर्पm विकसित भएको समयमा एसियामा चिनियाँ प्रभावलाई सन्तुलन गर्न अमेरिकाले भारतसंगको सहकार्यमा व्यापकता दिएको इण्डोप्यासिफिक रणनीति अन्तर्गत जापान र अष्ट्रेलियालाई पनि हिन्द महासागरमा सहकार्य गर्ने उत्साहित गरेको देखिन्छ । अमेरिकाको प्रभाव खास अर्थमा पूर्वी एसियाका मुलुकहरूमा प्रचुर मात्रामा रहेको अवस्थामा चीनको हैकम ‘साउथ चाइना सि’ यस भन्दा बढी नबढोस भन्ने रणनीतिका साथ त्यस सामुद्रिक मार्गमा भारतलगायत अन्य मुलुकहरूसंग अमेरिकाले सहकार्य गरिरहेको अवस्था छ ।

अमेरिका र इरानको सम्बन्ध चिसिएका बेला भारतले अमेरिका र इरानको विचमा सेतुको काम गर्न आफ्नो कूटनीति क्रियाशिल गरेको देखिन्छ । साथ साथै भारतको लोकप्रियता अफगानीस्तानमा दिन प्रतिदिन बढिरहेको अवस्था छ । अफगानीस्तानमा विद्यालय, अस्पताल, स्वास्थ्य शिविरहरू लगायत विभिन्न लोक कल्याणकारी कामको लागि भारतले व्यापक धनराशी र जनशक्ति परिचालित गरेको देखिन्छ । यस अबस्थामा भारत र अमेरिकाको संयुक्त प्रयासले अफगानिस्तानमा कट्टरपन्थी र आतंकवाद निस्तेज हुने जानकारहरूको दावी भए तापनि पछि अमेरिकाले पाकिस्तानको मोहबाट मुक्त हुन सकेन भने अफगानिस्तानको पूर्वनिर्माणनमा प्रभावकारिता आउने कम सम्भावना छ । अर्थात भारत र अमेरिकाको सहकार्यमा पाकिस्तान वाधक हुने पनि जानकारहरूको टिप्पणी रहेको छ । आउने दिनमा खुला अर्थतन्त्र, प्रजातन्त्र, मानव अधिकार, बहुलवादी समाज, भुमण्डलीकरण जस्ता मुद्दाको आधारशिलामा भारत र अमेरिकाको सम्वन्धमा बढी सघनता र प्रगाढता हुने सम्भावना देखिन्छ ।