जनता टाइम्स

२१ पुष २०७६, सोमबार १२:१२

पर्यटकको आर्कषक गन्तव्य बन्दैछ चार हजार मिटर उचाइमा रहेको अन्नपूर्ण वेसक्याम्प, लोभिन्छ सवका मन


म्याग्दी, पुस २१ । सन १९५० जुन ३ तारिखका दिन आरोहणको इतिहासमा ८ हजार मिटर अग्लो हिमालमाथि पहिलोपटक मानव पाइला पर्यो । इतिहास कायम गर्ने त्यो हिमाल थियो– ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम । फ्रान्सेली नागरिक मौरिस हर्जोगसहित उनको समूहले सफल आरोहण गरेसँगै उक्त हिमाललाई जेठो हिमाल भनेर पनि चिन्ने गरिएको छ । तर उनै हर्जोगले पदयात्रा गरी हिमाल चढ्न अघि बढेको म्याग्दीको उत्तरी अन्नपूर्ण आधार शिविर अहिले पनि त्यत्ति धेरै चर्चामा आउन सकेको छैन ।

नेपाल भ्रमण बर्ष मनाइ रहँदा पर्यटकका लागि महत्वपुर्ण गन्तब्य हुन सक्ने अन्नपुर्ण बेश क्याम्पको सौन्दर्य भने सवैलाई लोभ्याउने खालको छ । झण्डै ७० बर्ष अघि हर्जोगको चालेका पाइला पच्छ्याउँदै हालै गरिएको खोज तथा प्रबद्र्धनलाई ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सघाएका थिए भने नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको थियो । अन्नपूर्ण क्षेत्र अन्तर्गत समुन्द्र सतहबाट ४१९० मिटर उचाईमा अवस्थित सो आधार शिविरलाई अन्नपूर्ण नर्थ बेस क्याम्प भनेर पनि चिन्ने गरिएको छ ।

फ्रान्सेली नागरिक हर्जोगले म्याग्दीको अन्नपूर्ण नर्थ वेस क्याम्पबाट सो हिमालको आरोहण गरेपनि दक्षिणतर्फ रहेको कास्कीको अन्नपूर्ण वेस क्याम्प बढी चर्चित बन्न पुग्यो । वेसक्याम्पलाई पनि बढी भन्दा बढी पर्यटक पुग्ने स्थलका रुपमा विकास गर्न प्रबर्धन अभियान अघि बढ्नु पर्ने धारणा राख्नुहुन्छ, भर्खरै सो क्षेत्रको भ्रमण गरी फर्कनुभएका एवीसी टेलिभिनका प्रधान सम्पादक शुभशंकर कंडेल । उक्त वेस क्याम्प म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ मा अवस्थित छ ।

सोही वडामा रहेको नारच्याङबाट उत्तरी आधार शिविरको पदयात्रा सुरु हुन्छ । एक हप्ता लामो यो पदयात्रा पूर्णतया क्याम्पिङमा आधारित हो । नारच्याङ गाउँबाट लेकगाउँ, छोटेपा, हुमखोला हुँदै आधार शिविर पुग्न सकिन्छ । विद्युत आयोजनाले छोटेपासम्म सडक खनेका कारण त्यहींबाट समेत पदयात्रा सुरु हुन सक्छ । यस क्षेत्रको ब्यापक मात्रामा प्रचार गर्न सके नेपालमा पर्यकटको बसाई बढाउने महत्वपुर्ण आधार बन्न सक्छ ।