जनता टाइम्स

२३ पुष २०७६, बुधबार १८:३३

भ्रमण बर्षमा घुम्नैपर्ने दोलखाको उत्तरी क्षेत्र : प्रकृतिले यसरी लोभ्याउँछ मन (यात्रा संस्मरण)


मन्दिरा थापा

पर्यापर्यटनको गन्तव्यको रुपमा रहेको दोलखाको लामावगर जाने योजना ६ महिनापछि पूरा भएपछि दोलखाली पत्रकार महिलाहरुमा एकाएक उत्साह थपियो । लागतार बढेको चिसो मौसममा बादलले घुम्टो ओडिरहेको अवस्था भएपनि पुस १९ गते चिसोमा बिहान ५ बजे १७ जना पत्रकार महिलाको टोली माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्यामसाइडसम्मको यात्रामा निस्कियो । सदरमुकाम चरिकोटमा बिहान ७ बजेसम्म बादल लागिरहेको अवस्थामा हिडेको यात्रा सिंगटी पुगेपछि विस्तारै आकाश खुल्न थाल्यो । चिसोले मौन बसेका पत्रकार महिलाहरु बाटोमा देखिने प्राकृतिक छटाहरु, मनोरम दृष्य, वगिरहेको निलो कञ्चन तामाकोशी देखेपछि एकाएक चिच्याउन थाले । अर्थात चिसोले छेक्न सकेन प्रकृतिसामुको त्यो उत्साह ।

लामावगर जाँदै गर्दा बिच बाटोमा आगुन्तकहरुलाई स्वागत गर्न माथिदेखि खसिरहेको भोर्लेको झरना देखेपछि यात्रामा सहभागीहरुले गाडी रोक्न लगाए । भोर्लेको त्यो झरनासामू कोही फोटो नखिचि काटनै सक्दैन । हामी पनि झरनामा गएर फोटो खिच्न व्यस्त बन्यौं । पर्यापर्यटन वातावरणप्रतिको उत्तरदायित्वलाई महसुस गरी वरिपरीको प्राकृतिक र साँस्कृतिक धरोहरहरुको संरक्षणका लागि प्रोत्साहन गर्र्दै स्थानीय बासिन्दाहरुको सामाजिक तथा आर्थिक सहभागितामा जोड दिदै धेरै यात्रीहरुद्धारा स्वच्छ प्राकृतिक क्षेत्रमा गरिने यात्रा वा भ्रमण हो भनेर प्रष्ट पारिरहेको अवस्थामा लामावगरलाई पर्यापर्यटनको गतिलो गन्तव्यको रुपमा हामीले पायौ ।

न त मानवका निमित्त कुनै साधनै न छ, न त कुनै प्राकृतिक विनाश नै भएको छ । प्रकृतीले नै दिएको सुन्दरता आफै सबै सुन्दर देखिएका छन । विभिन्न ठाउमा मानव निर्माण गरेका कृत्रिम झरना देख्दा रमाउने हामी प्रकृतीले नै मानवका निमित्त भन्दा सयौ गुणा सुन्दरता दिएर वगिरहेको कञ्चन झरना बाटोभरी हेर्दै जाँदाको अनुभुती बिर्सन नै नसकिने थियो । कपास खसे झै वगिरहेको मौरीभीर अनि छेउमै मौरीले घार लगाएर बनाइएको मौरीको चाका आखा अगाडि देख्न सकिने यस यात्राले हामीलाई थप रोमाञ्चक बनाउँदै लग्यो । पहाडका टापु फोरेर एक सय मिटरमाथिबाट खसिरहेका झरना अनगिन्ती रुपमा हिउद महिनामा देख्न सकिने यो भन्दा उपयुुक्त स्थल पर्यापर्यटनको लागि अन्त कही हुन सक्ला र ?

स्वदेशी लगानीमा निर्माण भइरहेका माथिल्लो तामाकोशी जलविद्युत आयोजना आफैमा आकर्षण त छँदै थियो, त्यसमा पनि बाटोमा रहेको सुन्दर प्रकृतीको अनुपम उपहारको पनि मज्जा लिन धेरै आन्तरिक पर्यटक यस स्थानमा आउने गरेको प्रष्ट हुन्थ्यो । बाटोमा देखिने झरनाको दृष्यावलोकन गर्र्दै गर्दा आयोजनाको कार्यालय गाेंगर पुगेको पत्तै भएन । हामीलाई त्यस स्थानमा पुग्ने वातावरण माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बनाइदिएको थियो । आयोजनामा पुग्ने कोही पहिलो पटक थिए त कोही पटक/पटक पुगिसकेका थिए ।

आयोजनाको न्यानो आतिथ्यलाई स्वीकार गर्दै हामी व्रेकफास्टको लागि तयार भयौं । बे्रकफास्टपछि हामीलाई आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानले दिउसो भरीको कार्यक्रम सूची सुनाउनुभयो । त्यसपछि हाम्रो यात्रा मुख्य आयोजनाको ड्यामसाइडको लागि अघि बढ्यो । आँखा नजिकै देखिने ४ सय ५६ मेगावाट विद्युत उत्पादन हुने निलो कञ्चन पानीलाई हेर्दै हामी जिल्लाकै सम्भवत लामो झरना छ्योत छयोत झरना स्थलसम्म पुग्यौं । प्राकृतिक रुपमा नै व्यवस्थित ढंगले पर्यटकलाई आकर्षित गर्न बनेको यो झरनालाई धेरैले आँखा लगाइसकेका छन । प्राकृतिक रुपमा निमित्त झरनामा धार्मिक किवदन्तीसमेत जोडिएको हामीले पाएका छौं ।

रामायणमा राम र सीता वनविहार गरिरहेको अवस्थामा सितालाई पानी तिर्खा लागेपछि रामले वाणको प्रयोग गरी पहराबाट निस्किएको पानीको झरना पनि बाटोमा जाँदै गर्दा देख्न सकिन्छ । बाटोमा जाँदै गर्दा २ ठुला पहाडको टापुराबाट हिउको थुप्रोले टल्किएको गौरीशंकर हिमाल बेला–बेलामा मुस्कुराइरहेको दृष्यले बेलाबेलामा हामीलाई रोमाञ्चित बनाइरहेको हुन्थ्यो । भुकम्पले सडक मार्ग पुरिएपछि आयोजनाले निर्माण गरेको सुरुङको यात्राबाट हाम्रो टोली लामावगर पुग्दछ । लामावगरका विभिन्न स्थानका पहाडका टापुराबाट खसेको झरना देख्नै हुँदैनथ्यो, सबैजना फोटोको लागि त्यतै दौडिन्ने । आयोजना स्थलमा तीव्र गतीमा भइरहेको कामको स्थलगत अवलोकनको लागि हामीलाई आयोजनाका प्रवक्ता डा.न्यौपानेले याइड गरिरहनुभएको थियो । आयोजनाको हालसम्म ९९ प्रतिशत भौतिक प्रगती सम्पन्न भइसकेको थियो भने पाइप विच्छाउने कामले गति लिइरहेको थियो ।

आयोजनाको ड्यामसाइड पछि हाम्रा टोली गोंगरको पावर हाउस प्रस्थान गर्यो । त्यहाँ भइरहेको भौतिक प्रगतीको विस्तृत रुपमा अवलोकन गरी खानाको लागी पुन कार्यलयतर्फ प्रस्थान गर्यो । खानापछि आयोजनाको काम र आयोजनाबाट हुने लाभको विषयमा आयोजित अन्तक्रियामा सहभागी भइयो । आयोजनास्थल हेर्दै मनोरम दृष्यावलोकनको लागि मासिक ५ सय भन्दा बढी आन्तरिक पर्यटक आइपुग्ने गरेको अनुभव डा. न्यौपानेले हामीलाई सुनाउनु भयो । पर्यापर्यटन प्रकृती वा पर्यावरणमा आधारित पर्यटन व्यवसाय पनि भएकाले गाउँपालिकाले यसतर्फ जोड दिनुपर्ने भ्रमण सहभागी पत्रकार महासंघ दोलखाका सचिव विनिता शिवाकोटीले बताउनुभयो ।

आयोजनाको मिठो आतिथ्यतालाई मनमा राख्दै हाम्रो टोली पुनः बाटोमा देखिने मनोरम झरनाहरुलाई आँखामा कैद गर्दै करिब ६ बजे चरिकोट आइपुयो । सरकारले पर्यटन वर्ष २०२० मनाइरहदा दोलखाको उत्तरी क्षेत्र सिंगटीदेखि लामावगरसम्मका क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्दै साहसिक खेलहरुको लागिसमेत विगु र गौरीशंकर गाउँपालिकाले योजना निर्माण गर्न सके पालिकाहरुको आर्थिक विकासमा ठुलो टेवा पुग्ने देखिन्छ । यसतर्फ दुवै गाउँपालिकाका नेतृत्वले ध्यान दिन जरुरी छ ।