जनता टाइम्स

१५ असार २०८२, आईतवार १७:४६

प्रधानमन्त्री ओली उच्च गतिको रेल चढेर म्याड्रिडबाट सेभिया जाँदै


बार्सिलोना, १५ असार । नेपालमा रेलमार्गको सपना देखाएका प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको अत्याधुनिक उच्च गतिको रेल चढेर म्याड्रिडबाट सेभियातर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री आज स्थानीय समय अनुसार दिउँसो १ बजे म्याड्रिडबाट रेल चढेर अपराह्न ३ः४५ बजे सेभिया पुग्ने कार्यक्रम छ ।
स्पेनका लागि नेपाली राजदूत शनील नेपालले दिएको जानकारीअनुसार केही बेरमै प्रधानमन्त्रीको रेलयात्रा सुरु भइसकेको छ। शनिबार राति प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित काठमाडौँबाट कतारको दोहा हुँदै म्याड्रिड पुग्नुभएको थियो । म्याड्रिडस्थित अडोल्फो सौरेज बराजास अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा तथा स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।म्याड्रिड र सेभिया बीचको दूरी करिब ५३० किलोमिटर छ । स्पेनको उच्च गतिको रेलमार्ग प्रयोग गर्दा यो दूरी करिब २ घण्टा ४५ मिनेटमा तय गर्न सकिन्छ। यो द्रुत, सुरक्षित र भरपर्दो रेलसेवा स्पेनको आधुनिक पूर्वाधारको प्रतीक मानिन्छ।सेभियाको तापक्रम अहिले ४३ डिग्री सेल्सियस पुगेको छ। दक्षिणी स्पेन अहिले वर्षकै सबैभन्दा चर्को गर्मी छ ।जसमा सेभिया अग्रस्थानमा छ ।प्रधानमन्त्री सहित २७ जनाको टोली संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त सम्मेलनमा सहभागी हुन सेभिया प्रस्थान गर्न लागेको हो ।