जनता टाइम्स

१४ माघ २०७६, मंगलवार १९:३४

यी हुन नेकपा केन्द्रीय कमिटी बैठकका ६ एजेण्डा


काठमाडौं, माघ १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको बैठकले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा एजेण्डा तय गरेको हो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार सचिवालयले ६ ओटा एजेण्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । नेकपाको बुधवार बिहान ११ बजेदेखि राष्ट्रियसभा गृहमा केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकमा सुरुमा सहिदप्रति श्रद्धाञ्जली र मौनधारण हुनेछ । बैठक प्रारम्भ भएपछि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । ओलीले सरकारको काम र समसामयिक विषयमा आफ्नो धारणा राख्ने तय भएको छ । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुहुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा महासचिव विष्णु पौडेलले सांगठानिक तथा विधान प्रतिवेदन पेश गर्नुहुनेछ । त्यस्तै प्रदेश अध्यक्षहरुले आआफ्नो प्रदेशको रिपोटिङ गर्नेछन् भने अन्तिम एजेण्डाको रुपमा समसामयिक विषयबस्तुमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । नेकपाले दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको जनाएको छ । बुधबारदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो । नेकपाको गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।  पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढवर्षमा पहिलो पटक बस्न लागेको हो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो । विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो । त्यसयता बैठक हुनसकेको छैन । बैठक भोलिदेखि यही माघ २० गतेसम्म चल्ने बताइएको छ । बैठकमा केन्द्रीय सदस्यलाई परिचयपत्रसमेत वितरण गरिने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वर रिजालले जानकारी दिनुभयो ।

महाधिवेशनपछिको कार्यकारी कमिटी केन्द्रीय कमिटीलाई लिने गरिन्छ । पार्टीको नीति, सिद्धान्त र योजना केन्द्रीय कमिटी बैठकले नै बनाउने गर्छ । केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुनेछ भनेर विधानमा उल्लेख गरिएको छ । बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट केन्द्रीय सदस्य काठमाडौं आइसक्नुभएको छ । दुई पार्टी एकीकरण भएपछि ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । पार्टीभित्र बैठक, भेला र साङ्गठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला बैठकले सचिवालय बैठक र स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्नेछ ।