जनता टाइम्स

२६ माघ २०७६, आईतवार १३:१४

लुम्बिनीमा नेपाली शैलीको बज्रयान महाबिहार बनाउन काठमाडौं महानगरले दियो चार करोड बढी अनुदान


काठमाडौं, माघ २६ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा नेपाली संस्कृति र परम्परा झल्किने नेपाल बज्रयान महाविहार निर्माण सम्पन्न हुने भएको छ । लुम्बिनीमा विभिन्न देशले आ–आफ्नै शैलीका महाविहार निर्माण गरे पनि नेपाल परम्परागत बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार संचालक समितिले भने नेपालको मौलिक बुद्धर्धमलाई समेत प्राथमिकता दिदैँ ०६८ सालदेखि ब्रजयान महाविहार निर्माण सुरु गरेको थियो ।

स्वदेशी अनुदानमै नेपालको कला–संस्कृति र बौद्धधर्मको पहिचानलाई विश्वासामू चिनाउने गरी सो महाविहार निर्माण सुरु गरे पनि निर्माण सम्पन्न गर्न केही समस्या भएपछि काठमाडौं महानगरपालिकाले बज्रयान महाविहार निर्माणका लागि आर्थिक अनुदान दिएको छ । उक्त महाविहारको कलात्मक आँखिझ्याल र प्रवेशद्वार निर्माणका लागि महाविहार संचालक समितिका अध्यक्ष प्राडा नरेशमान बज्राचार्यलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चार करोड उनन्तिस लाख अठार हजारको चेक हस्तान्तरण गर्नुभयो ।

चेक हस्तान्तरणपछि सम्वोधन गर्दै मेयर शाक्यले नेपाल गौतमबुद्ध र सगरमाथाको देशका रुपमा विश्वसामू परिचित भएको भन्दै लुम्बिनीमा नेपालको कला, संस्कृति र सम्पदा झल्किने गरी महाविहार निर्माणका लागि काठमाडौं महानगरपालिकाले कार्यक्षेत्र भन्दा बाहिर गएर अनुदान दिएको बताउनुभयो । ‘हामी विश्वका जुनसुकै देश जाँदा पनि गौतमबुद्ध र सगरमाथाको देशका नागरिक हौँ भनेर गौरवका साथ भन्ने गर्छौ,’ मेयर शाक्यले भन्नुभयो, ‘तर, विश्वभरीबाट गौतमबुद्धको जन्मथलो लुम्बिनी घुम्न आउँदा हाम्रो परम्परा झल्किने खालको महाविहार नदेख्दा पर्यटकहरु खिन्न हुनुपर्ने अवस्था छ । विश्वबाट लुम्बिनी घुम्न आएका पर्यटक र बौद्धधर्मालम्बीहरु नेपाल बज्रयान महाविहार छिर्दा त्यहाँ नेपालको कला, संस्कृतिको झल्को पाउन सकुन भनेर हामीले विहार निर्माणका लागि अनुदान दिएका हौँ ।’

मेयर शाक्यले काठमाडौं महानगरपालिका संघीय राजधानी भएको ठाउँको पनि महानगरपालिका भएकाले अन्य स्थानीय तहको भन्दा अलिक बढी नै जिम्मेवारी हुने भएको भन्दै अरु स्थानीय तहलाई पनि उदाहरण होस भनेर त्यहाँ अनुदान दिएको बताउनुभयो । ‘लुम्बिनी सारा नेपालीको गौरव हो,’ मेयर शाक्यले भन्नुभयो, ‘महानगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने अधिकांश सम्पदा पुर्न्निर्माणको कामलाई तिव्रता दिएको छ । विश्वका सामू पनि गौरव गर्ने लुम्बिनीमा नेपाल बज्रयान महाविहार निर्माणका लागि सानो रकम अनुदान दिन पाउँदा खुशी लागेको छ ।’

उहाँले नेपाल भ्रमण वर्ष २०२० नसकिदैँ बिहार निर्माणको कामलाई सम्पन्न गर्न आग्रह गर्दै महानगरपालिकले गरेको अनुदान रकमलाई दुरुपयोग नगर्न सुझाव पनि दिनुभयो ।  ‘हामी अहिले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छौँ । तपाईँहरुले छिट्टै निर्माण सम्पन्न गर्नुभयो भने हरेक पर्यटक लुम्बिनी घुम्न आउँदा एक पटक त्यहाँ पसेर मात्रै जानेछन्,’ उहाँले भन्नुभयो, ‘पछि थप कामका लागि पनि हामीलाई अनुदान दिन सजिलो हुन्छ । तर, अब लगानी आइहाल्यो भनेर ढिलासुस्ती गर्नुभयो भने चाँहि हामीलाई पनि नमज्जा हुन्छ ।’ उहाँले बज्रयान महाविहार निर्माणका लागि राज्यको पनि ध्यान गएको छ भन्ने सन्देश दिनका लागि संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई समेत साक्षी राखेर अनुदान दिएको बताउनुभयो ।

पैसा अनुसार योजना होइन, योजना अुनसार पैसा

मेयर शाक्यले महानगरपालिका पैसा अनुसारको योजना होइन योजना अनुसार पैसा दिन तयार रहेको भन्दै आफ्नै कार्यकालमा महानगर क्षेत्र भित्रका धेरै योजनाहरु पूरा गरि छाड्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘हामी काम गर्न चाहन्छौ,’ मेयर शाक्यले भन्नुभयो, ‘तर, एउटा समूह छ । जुन समूह महानगरपालिकाले जहाँ–जहाँ काम गर्न हात हाल्छ । त्यहाँ–त्यहाँ खोजेर मुद्धा हाल्न अदालततिर जान्छ र कामलाई अवरोध गर्छ ।’

उहाँले पछिल्लो सयम रानीपोखरी, दरबार हाइस्कुल, धरहरा, काष्ठमाण्डपलगायतका सम्पदा पुर्न्निर्माणले गति लिएको भन्दै अवरोधहरुलाई चिर्दै अघि बढ्नुको विकल्प नभएको पनि प्रष्ट पार्नुभयो । ‘सम्माननीय राष्ट्रपतिज्युले पनि पुर्न्निर्माण भैरहेका रानीपोखरी, दरबार हाइस्कुल, धरहरा, काष्ठमाण्डपलगायतका सम्पदाको अवलोकन गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रपतिज्यु उत्साहित हुनुहुन्छ । उहाँले पनि कामको गतिलाई नरोक्न सुझाव दिनुभएको छ ।’

जहाज उढाएपछि सुरक्षित अवतरण गर्नुपर्छ भन्ने मात्रै थाह छ

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले पनि काठमाडौं महानगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेको लुम्बिनीमा नेपाल बज्रयान महाविहार निर्माणका लागि सहयोग गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘लुम्बिनी र सगरमाथाको पहिचानलाई विश्वभर फैलाउन नसक्ने हो भने नेपालको पहिचान अधुरो हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यहि लुम्बिनीमा बन्ने बज्रयान महाविहारले अब विश्वबाट घुम्म आएका पर्यटकलाई प्रफुल्ल बनाएर पठाउने छ । हाम्रो ठाउँबाट पनि सक्दो सहयोग गर्न तयार छौँ ।’ मेयर चौधरीसँगै उपमेयर जानकीदेवी श्रीवास्तव पनि चेक हस्तान्तरण कार्यक्रममा सहभागी हुन लुम्बिनीदेखि आउनु भएको थियो ।

नेपाल बज्रयान महाविहार संचालक समितिका अध्यक्ष प्राडा नरेशमान बज्राचार्यले पनि बिहार निर्माणका लागि आर्थिक अभाव नभई राज्यको उपस्थिति देखाउन महानगरसँग अनुदान लिएको बताउनुभयो । ‘हामीलाई बिहार निर्माणका लागि विभिन्न विदेशी संस्थाहरुले सहयोगको हात बढाउनु भएको थियो,’ उहाँले भन्नुभयो, ‘हामी विदेश होइन स्वदेशी लगानीमै नेपाल बज्रयान महाविहार निर्माण गर्न सक्छौँ भन्ने सन्देश दिन र नेपाली कला–संस्कृतिको जगेर्नाका लागि महानगरपालिकासँग अनुदान लिएका हौँ ।’

उहाँले अहिलेसम्म करीब १२ करोड खर्च भएको भन्दै अझै कतिसम्ममा निर्माण सम्पन्न होला भन्ने यकिन नभएको बताउनुभयो । समितिका उपाध्यक्ष चन्द्रबहादुर शाक्यले करीब ३४ वर्ष नेपाल वायुसेवा निगमको जहाज उडाएको अनुभव आफूसँग भएको भन्दै आफूलाई जहाज उडाएपछि सुरक्षित अवतरण गर्नुपर्छ भन्ने हेक्का भएको भन्दै बिहार निर्माणको पनि त्यहि अनुभव सुनाउनुभयो । ‘यो विहार ०६८ सालबाट निर्माण सुरु भएको हो । बिचमा धेरै अवरोध आए अब रोकिन्न । समयमै काम सम्पन्न हुन्छ ।’ कार्यक्रममा संघीय सांसद जीवनराम श्रेष्ठ, विणा श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्य, उपमेयर हरिप्रभा खड्की श्रेष्ठ, काठमाडौं महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, सम्पदा विभाग प्रमुख राम थापासहितको उपस्थिति रहेको थियो ।