जनता टाइम्स

२६ फाल्गुन २०७६, सोमबार १७:५७

देखिन थाल्यो ओली सरकारको काम : समयअगावै सकियो भेरी-बबई डाईभर्सनको १२ किमि सुरुङ निर्माण


बर्दिया, फागुन २६ । नेपालको निकै महत्वपूर्ण र राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाईभर्सन आयोजनाको पहिलो चरणको काम पूरा भएको छ । पहिलो चरण अन्तर्गत सुरुङको निर्माण कार्य सकिएको हो ।

सुरुङ निर्माणको जिम्मा पाएको चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि कोभेकले २०७४ साल कात्तिक मसान्तदेखि बबई किनार हात्तीखालबाट सुरुङ निर्माण अघि बढाएको थियो । सिँचाइ विभाग र कोभेकबीच गरिएको सम्झौताअनुसार हात्तिखालबाट सुरु गरिएको सुरुङलाई भेरीगंगा ११ चिप्लेसम्म पुर्याइएको छ । भेरी बबई डाईभर्सन आयोजनाका सिनियर डिभिजन इन्जिनियर तुल्सिराम भट्टराईले संघीय सरकार मातहत बहुउद्देश्यीय आयोजनाको रुपमा निर्माण भईरहेको आयोजनाको पहिलो चरणमा १२ किलोमिटर सुरुङ निर्माण गर्ने काम पूरा भएको जानकारी दिनुभयो ।

भट्टराईका अनुसार दोश्रो चरणको कार्यअन्तर्गत बाँध, पावर हाउस, पेनस्टिक र सर्ज स्याफ्ट जस्ता सिभिलजन्य पूर्वाधारको निर्माण कार्यको लागि ठेक्का व्यवस्थापन भएर निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन । दोश्रो चरणको कामअन्तर्गत भेरी नदीमा १ सय १६ मिटर लामो ब्यारेज बनाइने छ भने बबई नदि किनारमा पावर हाउस निर्माण हुनेछ । यसका लागि ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ । करिब ४ सय गिगावाट विद्युत वार्षिक रुपमा उत्पादन गर्ने लक्ष्य रहेको यस आयोजनाबाट विद्युत उत्पादन पछि निस्किएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाई पुर्याउने छ ।

‘यो आयोजना निर्माण पछि भेरी नदीको ४० क्यूबेक पानी बबई नदिमा खसालेर त्यसबाट झण्डै ४८ मेघावाट विद्युत निकालिने छ, त्योसँगै प्रदेश ५ का बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाई पुर्याउने लक्ष्यका साथ काम भईरहेको छ,’ भट्टराईले भन्नुभयो । भेरी नदीमा बाँध निर्माणपछि पनि यससँग सम्बन्धित हाईड्रोमेकानिकल र ईलेक्ट्रोमेकानिकल सम्बन्धि निर्माण कार्य गर्नुपर्ने भएकाले, त्यसको लागि समेत ठेक्का व्यवस्थापन गर्न निर्माण व्यवसायी छनोटको चरणमा रहेको छ ।

आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायका अनुसार यो आयोजना एउटा नदीबाट अर्को नदीमा पानी स्थानान्तरण गर्ने (भेरीबाट बबई नदीमा) नेपालकै पहिलो ठूलो आयोजना हो भने यहाँ प्रयोग गरिएको प्रविधी समेत नयाँ भएपनि सफल भएको छ । यो आयोजना निर्माणमा आधुनिक टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिको सहायताले सुरुङ खनिएकोले तोकिएको समयभन्दा छिटो निर्माण पूरा भएको हो ।

‘अहिलेसम्म जतिपनि सुरुङ निर्माण भईरहेका थिए, ति सबै परम्परागत (ड्रिलिङ र ब्लाष्टिङ) प्रविधिबाट गरिन्थे, जसले गर्दा अत्यन्त ढिलाई हुने गर्दथ्यो, तर यो आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिको प्रयोगका कारण १८ महिनामा १२ किलोमिटर सुरुङ निर्माण पूरा भएको छ,’ उपाध्यायले भन्नुभयो । उहाँका अनुसार टिबिएम प्रविधीको प्रयोगले सुरुङ निर्माण गर्दा छिटो सकिनुका साथै यसको सफल प्रयोगले अन्य आयोजनामा पनि यस्ता प्रविधिको प्रयोग गर्न सकिने विश्वास थपिएको छ ।

यो बहुउद्देश्यीय आयोजना भएको कारण संसोधित गुरुयोजनाअनुसार अहिले यसको लागत अनुमान ३३ अर्ब पुगेको छ । त्यसमध्ये ८ देखि ९ अर्ब टनेल निर्माणमा खर्च हुने र बाँकी रकम पावर हाउस, बाँध निर्माण लगायत ईलेक्ट्रोमेकानिकल र हाईड्रोमेकानिकल जस्ता पूर्वाधारमा खर्च हुने छ । भेरीको पानी लगेर बबईमा खसालीसकेपछि बबईमान खोलामा समेत ४/५ किलोमिटरको टनेल निर्माण गरी त्यहाँ पुगेको पानी नेपालगञ्जसम्म पुर्याउने योजनाका साथ अध्ययनसमेत सुरु भईसकेको छ ।