काठमाडौं, चैत १ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक आफ्नै देशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएपछि चिकित्सकहरुको आत्मबल निकै माथि उठेको छ । प्रधानमन्त्रीको यस निर्णयको सर्वत्र प्रशंसा पनि भएको छ । नेपाली चिकित्सक र नेपालको स्वास्थ्य संरचनालाई विश्वास नगर्ने राजनीतिक वृत्त र विदेश गएर उपचार गर्ने पहुँचवालालाई यसले गतिलो पाठ पढाएको छ । नेपाली चिकित्सक र नेपालका अस्पताल विदेशका भन्दा कुनै कुरामा पनि कम छैनन् भन्ने सन्देश पनि प्रवाह गरेको छ ।
दोस्रो मिर्गौला प्रत्यारोपण नेपालकै सरकारी अस्पतालमा गराएर प्रधानमन्त्रीले नेपाली चिकित्सक र नेपालका अस्पतालप्रति ठूलो विश्वास जगाएको भन्दै चिकित्सकहरूले पनि प्रशंसा गरिरहेका छन् । यसलाई ऐतिहासिक अवसर भएको उनीहरू बताउँछन् । सम्पूर्ण चिकित्सकहरूको नेतृत्व गर्ने छाता सङ्गठन नेपाल चिकित्सक सङ्घले प्रधानमन्त्रीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेर नेपाली चिकित्सकहरूका लागि ठूलो अवसर र उपलब्धि भनेको छ । यसै सन्दर्भमा प्रधानमन्त्रीको उपचारमा संलग्न शिक्षण अस्पतालका चिकित्सक तथा नर्सहरूको अनुभवलाई यहाँ प्रस्तुत गरिएको छ ।
यस्तो छ चिकित्सकको अनुभुति
प्राडा. प्रेमकृष्ण खड्गा, निर्देशक, त्रिवि शिक्षण अस्पताल
प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गर्न पाउँदा धेरै खुसी र उत्साहित भएका छौँ । उहाँले नेपाली चिकित्सकलाई विश्वास गरेर हामीलाई ठूलो अवसर दिनुभएको छ । प्रधानमन्त्रीको दोस्रो मिर्गौला प्रत्यारोपण स्वदेशमै हुँदा भीआईपीहरू सानो समस्या देखिँदा पनि विदेश जाने प्रवृत्तिको अन्त्य हुन सक्छ । नेपालमा प्रविधि र दक्ष चिकित्सक भएकाले प्रधानमन्त्रीको उपचार सफल भएको हो । यसले अन्य विदेश जानेहरूलाई नेपालमै उपचार गर्न र नेपालको स्वास्थ्य संस्थालाई अझ सुदुढ बनाउन पाठ सिकाएको छ ।
डा. उत्तमकुमार शर्मा, बिभागीय प्रमुख, युरोलोजी तथा मिर्गौला प्रत्यारोपण सर्जरी
देशको बहालवाला प्रधानमन्त्री आएर शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउनु हाम्रा लागि खुसीको कुरा हो । उहाँले हामीहरूलाई विश्वास गरेर आउनुभएको हो । प्रधानमन्त्रीले नेपालमै मिर्गौला प्रत्यारोपण गराउनु ठूलो चुनौती र अवसर पनि हो । प्रधामन्त्रीले मिर्गौला प्रत्यारोपण गर्नुअघि मलाई ‘नडराउनूस् है’ भन्नुभएको थियो । प्रधानमन्त्रीमा पनि ‘हाइप्रोफाइल’ व्यक्तिको मिर्गौला प्रत्यारोपण गराउँदा चिकित्सकहरू डराउने हुन् कि भन्ने परेको रहेछ । उहाँले प्रत्यारोपण नेपालमै गरेर नेपाली चिकित्सकहरूले धेरै ठूलो अवसर प्राप्त गरेका छन् ।
डा. दिव्यासिंह शाह, मिर्गौला रोग विशेषज्ञ
पूर्वयोजनाअनुसार नै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको हो । नेपाली चिकित्सकहरू जस्तोसुकै उपचार गर्न पनि सक्षम हुन्छन् भन्ने सन्देश दिन सकेका छौँ । प्रत्यारोपणपछि हेर्ने सबै सूचकाङ्कहरू अहिले ठीक छ । नयाँ मिर्गौलाले काम गरेको छ कि छैन भन्ने परीक्षण गरिरहेका छौँ । मिर्गौला प्रत्यारोपणपछि धेरै परीक्षण गर्नुपर्ने हुन्छ । सङ्क्रमणका मापदण्डहरू हुन्छन् । एउटै परीक्षण गरेरमात्र हुँदैन । मिर्गौलासहित मुुटु, कलेजोको परीक्षण पनि गर्नुपर्ने हुन्छ । एउटा मानिस जीवित रहनका लागि सबै अङ्गले राम्रो काम गरिरहेको हुनुपर्छ ।
प्राडा. प्रेमराज ज्ञवाली, युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन
हाम्रो समूह शल्यक्रिया गर्न सफल भयो । त्यो ठूलो कुरा हो । सर्वसाधारणको र प्रधानमन्त्रीको शल्यक्रिया एउटै हो । त्यसमा कुनै फरक विधिबाट गर्ने होइन । मिर्गौला प्रत्यारोपण कुनै एउटा व्यक्तिले गर्ने होइन । समूहले गर्ने हो । कसले काट्यो, कसले थुत्यो, कसले निकाल्यो भन्ने विषय होइन । सबै समूहले मात्र गर्न सकेको हो ।
डा. पवनराज चालिसे, युरोलोजिस्ट तथा प्रत्यारोपण सर्जन
प्रधानमन्त्रीको सफल शल्यक्रिया भएपछि सर्वसाधारणको पनि विश्वास बढ्छ । अब शिक्षण अस्पतालमा विशिष्टीकृत मिर्गौला प्रत्यारोपण सेन्टरको आवश्यकता छ । सरकारले यसको व्यवस्था गरिदिनुपर्छ । हामीले शिक्षण अस्पतालबाट सातवटै प्रदेशमा आवश्यक जनशक्ति उत्पादन गर्न सक्छौँ । अहिले जनशक्ति उत्पादन गरिरहेका छौँ । शिक्षण अस्पतालमा बुधबारमात्र मिर्गौला प्रत्यारोपण हुने गरेको छ । अब हप्ताको एक दिनमात्र प्रत्यारोपण गरेर सम्भव छैन । नियमित गर्नका लागि सरकारले आवश्यक व्यवस्था गरिदिनुपर्छ । प्रधानमन्त्रीले नेपालमा मिर्गौला प्रत्यारोपण गराउनु गर्व गर्नलायक विषय हो । प्रधानमन्त्रीको यो निर्णयले नेपाली चिकित्सक अब्बल छन् भन्ने विषयलाई पुष्टि गरेको छ । देशको बहालवाला प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नु चुनौती त थियो तर बाहिर धेरै जमघट, सुरक्षाकर्मीहरू भए पनि भित्र शल्यक्रिया कक्षमा भने सामान्य बिरामी र प्रधानमन्त्रीको उपचार एउटै हुने हो । अब देशको स्वास्थ्य प्रणाली सुधार गर्दै अघि बढ्नुपर्ने अवस्था आएको छ ।
डा. सुवास आचार्य, क्रिटिकल कियर युनिट
मिर्गौला प्रत्यारोपणअघि हाम्रो काम धेरै थिए । आईसीयूको व्यवस्थापनलगायत काम हुन्छन् । शल्यक्रिया गर्ने दुई दिन अघिदेखि हामी कसरी सफल बनाउन सकिन्छ भन्ने योजनामा लागेका थियौँ । देशको प्रधानमन्त्रीजस्तो व्यक्ति आफ्नो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउन आउनुहँुदा हामी हर्षित पनि भयौँ । त्यो सँगसँगै हामीलाई ठूलो दबाब पनि थियो । त्यसमा लुकाउनुपर्ने कुरै छैन । जति राम्रो तयार गरिए पनि केही बिग्रिएला कि भन्ने डर भइहाल्छ । अहिलेसम्म पनि उहाँको स्वास्थ्यलाई सफल बनाउनेतर्फ लागिरहेका छौँ । नेपाली अस्पतालमा नेपाली चिकित्सकले उत्कृष्ट स्वास्थ्य सेवा दिन सक्छन् भन्ने सन्देश दिन सक्यौँ ।
डा. अनिल श्रेष्ठ, एनेस्थेसिया प्रमुख
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै हुने भयो भनेर थाहा पाएको हामीले तीन÷चार दिनअघि मात्र हो । यो खबर सुनेर हामीलाई धेरै खुसी लाग्यो । हाम्रो देशका प्रधानमन्त्रीले शिक्षण अस्पतालमा शल्यक्रिया गर्नु ठूलो विषय थियो । खुसीसँगै दबाब पनि थियो । देशको सरकार प्रमुखजस्तो व्यक्ति हाम्रो अस्पतालमा शल्यक्रिया गर्न आउँदै हुनुहुन्छ । हामीले कुन–कुन विषयमा योजना बनाउने भनेर छलफल ग¥यौँ । त्यसका लागि जुट्यौँ । शल्यक्रिया कक्ष र आईसीयूमा के–के कुराको अपुग भइरहेको छ भन्ने खोज्यौँ । कहिलेकाहीँ कुनै औषधि नपाउने पनि भइरहेको हुन्छ । त्यस्ता औषधि खोज्नुपर्ने हुन्छ । सङ्क्रमण नहोस् भन्नेतर्पm पनि सचेत हुनैपर्छ । मिर्गौलादाता र ग्रहणकर्ता दुवैको परीक्षण ठीक भएपछि शल्यक्रिया गरिएको हो ।
डा. भोजराज लुइँटेल, युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन
नेपालमा स्वास्थ्य क्षेत्र पछाडि पर्नुका कारण राजनीति हो । राजनीतिक प्रणालीले स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन चाहे तत्काल हुन्छ । अहिलेसम्म स्वास्थ्यलाई हेर्ने दृष्टिकोण फरक थियो । प्रधानमन्त्रीको शल्यक्रिया नेपालमै भएपछि अन्य नेतालाई विदेशभन्दा नेपालमै उपचार गर्न सकिन्छ, विदेश जान पर्दैन भन्ने सन्देश गएको छ ।
कविता देवकोटा, नर्सिङ निर्देशक
प्रधानमन्त्रीले शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नु नेपालीका लागि ठूलो कुरा हो । उहाँलाई कसरी सफल शल्यक्रिया गर्न सकिन्छ र डिस्चार्ज गर्न सकिन्छ भन्नेमा लाग्यौँ । अप्रेसनपछि तीव्र रूपमा नर्सहरूले काम गरिरहेका थियौँ । सबै युनिटका नर्सहरू अहोरात्र खटेर मिर्गौला प्रत्यारोपण सफल बनायौँ ।
प्रतिक्रिया दिनुहोस्