जनता टाइम्स

४ जेष्ठ २०७६, शनिबार ०८:३८

सगरमाथाको उचाई नाप्ने टोली मंगलबार चुचुरो पुग्दै


काठमाडौं ।

सगरमाथाको उचाइ मापनका लागि नापी विभागको प्राविधिक टोली आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान गर्ने तयारीमा छ । मौसमले साथ दिए उक्त टोली सोमबारदेखि मंगलवारसम्ममा चुचुरोमा पुग्ने अनुमान गरिएको छ । नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चारजनाले सगरमाथाको उचाइ मापनका गर्दैछन् । उक्त टोली काठमाडौँबाट चैत २७ गते आधार शिविर पुगेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीलाई बिदाई गर्नुभएको थियो ।

मापनका लागि गएको टोलीले करिब एक महिनासम्म त्यहाँको वातावरणमा आफूलाई अनुकूलन गराइरहेका थिए । मौसम अनुकूलन गराउने क्रममा एक महिनाको बीचमा आधार शिविरबाट तीन नम्बर क्याम्पसम्म पुगेका थिए । मौसम खुलेपछि मात्र माथि चढ्ने तयारी गरिएको थियो । सामान्यतया मे महिनाको दोस्रो हप्तादेखि सगरमाथा आरोहणका लागि मौसम उपयुक्त हुने गर्छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका प्रमुख सुशील डंगोलले पथ प्रदर्शक शेर्पाहरूले सगरमाथा मापनमा प्रयोग हुने दुईवटा मेसिन माथि लगिसकेको जानकारी दिनुभयो । पथप्रदर्शकहरूलाई पनि मेसिन चलाउन सामान्य तालिम दिइएको उल्लेख गर्दै उहाँले प्राविधिक कर्मचारीको स्वास्थ्यमा समस्या आए पनि पथप्रदर्शकहरूले उक्त मेसिन सञ्चालन गर्न सक्ने तयारी गरिएको स्पष्ट पार्नुभयो ।

सगरमाथा मापनका लागि जीएनएसएस रिसिभर र जिपिआर नामका मेसिन चुचुरोसम्म लग्न लागिएको हो । उक्त मेसिनमध्ये पहिलोले उचाइ र त्यहाँको अवस्थिति नाप्छ भने जिपिआरले हिउँको गहिराइको सूचना दिन्छ । सगरमाथाको वरिपरिको जमिनको सतहमा आठवटा नियन्त्रण बिन्दु राखिएको छ । मेसिनसहित चुचरोमा पुगेको टोली र नियन्त्रण बिन्दुमा रहने प्राविधिकबीच एउटै समयमा नाप लिनुपर्ने हुन्छ । यसका लागि उक्त आठवटा बिन्दुमा पनि प्राविधिक खटिएका छन् । नियन्त्रण विन्दूमा भएका प्राविधिक र चुचुरोमा भएकाबीच स्याटेलाइटबाट सूचना आदानप्रदान र सम्पर्क हुने व्यवस्था मिलाइएको छ ।

यसपटक चुचुरोको तथ्याङ्क मात्र निक्लनेछ भने सम्पूर्ण तथ्याङ्क सङ्कलन गरी त्यसको प्रोसेसिङ’ गरी उचाइ निकाल्न थप ६ महिना लाग्ने प्रमुख डंगोलले जानकारी दिनुभयो । नेपाल सरकारको साधन स्रोतमा पहिलोपटक सगरमाथाको उचाइ मापन गर्न लागिएको हो । गत फागुन महिनादेखि सगरमाथाको मापनलाई अगाडि बढाइएको थियो । समुद्री सतहदेखि शुरु गरिएको मापन कार्यले सगरमाथाको चुचुरोसम्म पुगेपछि पूर्णता पाउनेछ । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन अगाडि बढाइएको छ ।

उचाइ मापनका लागि चार समूहमा ४० जना फिल्डमा खटिएका छन् । यसका लागि १७ जनाको लेवलिङ समूह, १३ जनाको ट्रिग्नोमेटिक लेवलिङ, छजनाको जिएनएस एस सर्वेक्षण र आरोहणका लागि चारजनाको समूह छन् ।