कोभिड–१९ सँग लड्न विश्वले जुन मोर्चा सम्हालेको छ र जे–जस्ता आगामी योजना बनाएको छ, तिनलाई मनन गर्दा के यो तेस्रो विश्वयुद्धको आरम्भ हो ? मानव सभ्यता र भाइरसका बीच । विगतभन्दा नितान्त बेग्लै । मानिसबीच प्रभुत्वका लागि प्रथम र द्वितीय विश्वयुद्ध भए । यसले जुन किसिमको क्षति उत्पन्न भएको थियो, यहाँ त्यसको पुनरावृत्ति भएको छ तर फरक शत्रुसँगको लडाइँमा । मानवले आफ्नो अस्तित्वका लागि अचानक आइपुगेको प्रकृतिको एउटा सूक्ष्म जीवसँग लड्नका लागि जुन प्रकारका कदम चालेर आफ्नो सम्पूर्ण जीवनपद्धति र व्यवस्था परिवर्तन गरेको छ, त्यसको व्यापकताले विश्वयुद्धकै झलक दिइरहेको छ ।
प्रख्यात वैज्ञानिक स्टेफन हकिङले आफ्नो जीवनका अन्तिम दिनमा मानव अस्तित्वका लागि केही सुझाव दिनुभएको थियो । जसमा एउटा थियो– मानिसले कुनै दिन वंशाणु परिवर्तन गरिएका भाइरससँग आफ्नो अस्तित्वका लागि लड्नुपर्नेछ । टेस्ला कम्पनी र स्पेसएक्सका मालिक एलन मस्कले त तोकेरै तेस्रो विश्वयुद्ध ‘आर्टिफिसियल इन्टेलिजेन्स’सँग हुने दाबी गर्नुभएको छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि आफ्नो आरम्भिक चरणमा छ र जेनेटिक इन्जिनियरिङले समेत जे पनि गर्न सक्नेगरी ठूलै फड्को मारिसकेको छैन तर एकाएक नोभल कोरोना भाइरस सारा विश्वलाई आफ्नो सम्पूर्ण संयन्त्र र स्रोत परिचालन गर्न बाध्य पार्नेगरी आइपुगेको छ, हकिङको अनुमानभन्दा चाँडै । यस भाइरसको स्रोत स्पष्ट हुन बाँकी छ, यसमा शङ्का विभिन्न छन् । विश्व प्रणाली नै अस्तव्यस्त पार्नेगरी सङ्कट आएको छ । हामीले सय वर्षपछि होइन, अहिलेदेखि नै आफ्नो अस्तित्वका लागि नौला शत्रुसँग लड्न आफूलाई सुसज्जित पार्नुपर्ने सन्देश लिएर नोभल कोरोना आइपुग्ला भनेर कसैले सोचेको थिएन ।
कोभिड–१९ विरुद्ध तयारी र नियन्त्रणका हरसम्भव उपाय विश्वयुद्धका बेलाभन्दा कम छैन । अमेरिका र युरोपबीच एक महिना हवाई सेवादेखि पारवहनका सबै माध्यम ठप्प, युरोपेली सङ्घअन्तर्गतका सबै देशका सीमा बन्द तथा केही अत्यावश्यक सेवाबाहेक देशभित्रका अन्य सम्पूर्ण सेवा र आवतजावतमा प्रतिबन्ध, सेयर बजार इतिहासकै नराम्रो स्थितिमा, डाँवाडोल अर्थतन्त्र, आत्मकेन्द्रित व्यवहार, प्रायः सबै देशमा एक निश्चित अवधिका लागि आगन्तुक सबैले क्वारेन्टाइनमा बस्नुपर्ने नियम, शङ्कास्पद सबैको अनिवार्य शरीर परीक्षण,
बाटोघाटो, विमानस्थल, भवन, बस, टोल, बस्ती जहाँ पनि भाइरस मार्ने औषधि छर्किने इत्यादि अपूर्व कदमलाई हल्का रूपमा लिन सकिँदैन ।
कुनै पनि कुरा सामान्य छैन । विश्वमा खेलकुदका ठूला–साना खेल गतिविधि ठप्प छन् । युरो फुटबल एक वर्ष सारिएको छ र युरोपका सबै लिगलाई नतिज९ाका लागि अनिश्चितकालीन प्रतीक्षा गर्नुपर्ने भएको छ । टोकियो ओलम्पिकमा समेत संशय छ । यस्तो अवस्था द्वितीय विश्वयुद्धका बेला मात्र आएको थियो । जुन बेला ओलम्पिक र विश्वकप फुटबलसमेत रद्द गरिएका थिए । अन्टार्कटिकाबाहेक विश्वको सबै कुनामा कोभिड–१९ पुगेको छ । कसैले १४ दिन त कसैले एक महिनाका लागि देश बन्द गरेका छन् तर त्यसबाट सोचेजस्तो नतिजा मिलेन भने के गर्ने रु मालवस्तु सञ्चयमा लाग्नेले यो कुरा सोचेका छैनन् कि यस सङ्कटले उत्पादन व्यवस्थामा समेत उत्तिकै असर पर्नेछ र पछिका लागि उपभोग्य वस्तु कसरी उपलब्ध हुनेछ रु सम्पूर्ण परिदृश्यले हकिङ र मस्कका भनाइको समर्थन गर्छन् ।
कोरोना भाइरसको महामारीले एउटा सर्वहितको काम भने गरेको छ । त्यो हो मानवता र मानव अस्तित्वका लागि एकजुट भएका छन् मानिस । सहअस्तित्व, पारस्परिक सहयोग र सहकार्यका लागि अग्रसरता देखाइन थालिएको छ, क्षेत्रीय सङ्ठनलाई सक्रिय बनाउन पहल भएको छ । सार्क राष्ट्रले एकजुट भएर कोरोनाविरुद्ध लड्न पहल गर्नु यसको एक उदहारण हो ।
यहाँ मानिसको प्रतिद्वन्द्वी अर्को मानिस छैन, मात्र भाइरस छ । त्यसैसँग भयङ्कर युद्ध भइरहेको छ । इतिहास साक्षी छ, यसखालका युद्धमा मानिसको नै जित हुन्छ, चाहे त्यो जति नै व्यापक किन नहोस् । सय वर्ष पहिलेको स्पेनी इन्फ्लुएन्जालाई नै लिऊँ । करोडौँ मानिसले ज्यान गुमाए पनि अन्त्यमा मानिसकै जित भयो र अहिले अर्को लडाइँ आमुन्नेसामुन्ने छ । सन् १९१८ को स्पेनी फ्लु महामारीका बेला त झन् प्रथम विश्वयुद्ध चलिरहेको थियो । त्यतिबेला विश्वका धेरै देशलाई महामारी भन्ने नै थाहा थिएन किनभने अहिलेको जस्तो रोगमाथि निगरानी राख्ने प्रणाली नै विकास भएको थिएन र जनस्तरमा सचेतना अभियानहरूसमेत आरम्भिक चरणमा थिए ।
प्रतिक्रिया दिनुहोस्