जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १४:०३

कोरोना भाइरसले जनता संकटमा पर्दा भागे राज्यबाट सुविधा माग्ने धनाढ्य व्यापारी


काठमाडौं, चैत ९

विश्व यति बेला कोरोना भाइरसको संक्रमणबाट गुज्रिरहेको छ । यसको चपेटामा विश्वका सबै मुलुक परिसकेका छन् । नेपाललगायतका विकशील देश यसबाट बच्न संघर्षरत रहेका छन् ।

हरेक नागरिकले आ–आफ्नो तवरले राज्य र समाजलाई सहयोग गरिरहेका छन् । कसैले ज्ञान बाडेर, कसैले सार्वजनिक स्थानमा साबुन पानी राखेर त कसैले स्यानेटाइजर वितरण गरेर सक्दो सहयोग गरिरहेका हुन् । यसक्रममा चिनियाँ धनाढ्य, अनलाइन सपिङ अलिबाबाका संस्थापक ज्याक मालेले नेपाललाई यस भाइरसविरुद्ध लड्न भेन्टिलेटर, टेस्टिङ किट र मास्क उपलब्ध गराउने घोषणा गरेका छन् । उनि चिनियाँ नागरिक भएपनि नेपालीलाई सहयोग गर्नुपर्छ भनेर सामाजिक कार्यमा होमिएका छन् । तर, आश्चर्यजनक रुपमा नेपाली धनाढ्य भनेर चिनिने व्यापारी भने यो संकटको घडिमा लुकेका छन् ।

केही दिनअघिसम्म आफुहरुको व्यवासाय चौपट हुने भन्दै सरकारले राहतको प्याकेज दिनुपर्ने बताईरहेका थिए । संकटमा राज्यसँग सुविधा मागेर धन आर्जन गर्न बानी परेका व्यापारी नागरिक संकटमा पर्दा भने भाग्ने गरेका छन् । निजी क्षेत्रले पनि यो संकटमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजलाई सक्दो सहयोग गर्नुपर्ने अवस्था हो । नेपाली समाजले पनि सोही अपेक्षा उनिहरुबाट गरेको छ । उनिहरुले आफ्नो जायजेथा बेचेर सहयोग गरोस् भन्ने चाहाना कसैको पनि छैन । तर, संकटमा रमितेमात्र नबनुन् भन्ने चाहाना विपरित उनिहरु राज्यसँग नै सुविधा माग्न तल्लिन देखिएका छन् । स्वास्थ्य सेवामा तत्कालै अहिले करोडौं खर्च गर्नुपर्ने अवस्था पनि होइन् । केही सय रुपैयाँमात्र पर्ने मास्क, पञ्जा, स्यानिटाइजरजस्ता पूर्वतयारीका आधारभूत सामग्रीमात्र जनतालाई सहयोग गर्न सकेपनि कसैको ज्यान बच्न सक्छ ।

अर्बपतिको सूचिमा रहेका विनोद चौधरी यो संकटका बेला गुमनाम छन् । उनले यो संकटको घडिमा धनभन्दा मानवता ठुलो भनेर केही सहयोग गर्ने सबैको अपेक्षा थियो । त्यसो त उनिमात्र होइन् नाम चलेका ठुला व्यापारिक प्रतिष्ठानहरु गोल्छा अर्गनाइजेशन, शंकर ग्रुप, विशाल ग्रुप, ज्योति ग्रुप, खेतान ग्रुप, शंकर ग्रुप लगायतका सबै औद्योगिक प्रतिष्ठानहरु निस्क्रिय छन् । कहिलेकाही दुई बोरा चामल सहयोग गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्नेहरु अहिले गुमनाम छन् ।

व्यापारिक प्रतिष्ठानले नेपालमा नाम चलेका अस्पताल समेत खोलेका छन् । तर, तिनले पनि अहिलेसम्म यो भाइरससँग लड्नका लागि कुनै योजना र कार्यक्रम अगाडी सारेका छैनन् । निक्कै महंगो अस्पताल चलाईरहेका उनिहरुले अहिले सामाजिक उत्तरदायित्व विर्सिएका छन् । जनताले तिरेको करबाट राज्यसँग सुविधा माग्ने व्यापारीहरु संकटका बेला जनताको सेवा गर्नबाट भने भागेका हुन् ।

जनतालाई राहात दिनुपर्नेमा अहिले व्यापारीले विमानको टिकट पनि निक्कै महंगोमा बेचिरहेका छन् । केही विमान कम्पनीले रकम घटाएपनि अधिकाशंले विगतमा भन्दो दोब्बर तेब्बरसम्म धेरै भाडा लिएको यात्रुहरुले बताउने गरेका छन् । कोरोना भाइरसबाट केही समय आर्थिक संकट आइलागेमा सबैभन्दा पहिला यिनै व्यापारी सुविधा माग्दै सिंहदरवार धाउने अग्रपत्तिमा हुन्छन् ।