जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार १६:१६

मुटु त साँच्चीकै रहेनछ नि सम्पादकज्यू !


भारतीय सञ्चारमाध्यमहरूले नेपालले उसको सिमाना मिचेको, अब भारतले नेपाललाई हैसियत देखाई दिने, चीनको पिछलग्गु भएको भन्ने जस्ता आरोपको बर्षा गरिरहेका छन् । अनावश्यक चेतावनी र हुँकारको प्रसारणमा तिब्रता दिदैछन । देशको सार्वभौम सत्ता र स्वतन्त्रतामाथि आँच पुग्ने कुतर्कका बहाव बनाउँदैछन । त्यहाँ रहेको नेपालीको समेत मान प्रतिष्ठामा आँच आउँने गरी समाचार र बिश्लेषणका श्रृंखला बढाउँदा हाम्रा सम्पादकहरू कता उग्राउँदै छन् ?

केही पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सम्पादकहरूमाथि गरेको टिप्पणीले आमसञ्चार माध्यममा निकै तहल्का पिट्यो । प्रधानमन्त्रीको भनाइको आसय थियो कि ‘सरकारका केही कमजोरी होलान, कतिपय अवस्थामा चाँहदा/चाँहदै पनि अपेक्षित काम गर्न आवश्यक वातावरण तथा सहयोगको अभावले अप्ठ्यारा महसुस भएको होला । तर गरिएका केही राम्रा कामको पनि यथोचित र सकरात्मक प्रचार प्रसार हुन सकेन । राम्रो कामको पनि प्रचारगर्ने सम्पादकहरूको मुटु भएन ।’

जुन प्रसंग तथा प्रवाहामा प्रधानमन्त्रीले टिप्पणी गरे त्यसको प्रतिउत्तरमा सञ्चारका एकाएक स्वघोषित स्थापित सम्पादक तथा सिद्घहस्त व्यक्तिहरूले यति मर्माहत रूपमा प्रधानमन्त्री ओलीमाथि शव्दभेदन गरे कि सायद गालीले नै कसैले मृत्युबरण गर्ने भए त्यसले प्रधानमन्त्रीको जीवन पहिल्यै नै समाप्त हुन्थ्यो । तर नेपाली समाजमा एक उखान प्रचलित छ, झिंगाको सरापले डिंगा मर्दैन । सम्पादकले प्रधानमन्त्रीको पतन चाहे, सोचे, पुजा आरधना तथा जस्तासुकै भाकल गरे पनि प्रधानमन्त्रीलाई कुनै असर गरेन, अझ कद उचो हुँदै गयो, स्वस्थ बन्दै आए । तर प्रधानमन्त्रीले त्यसरी टिप्पणी गरेको केही समयपछि यस्ता घटनाहरू हामी सामु उजागर भए कि सम्पादक महोदयहरूको त साच्चै मुटु नभएकै रहेछ । प्रधानमन्त्रीले त पहिल्यै थाहा पाएका रहेछन्, आम नागरिकलाई भने यतिखेर प्रस्ट हुँदैछ ।

हालसालै देशमा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ । मानव इतिहासकै सबैभन्दा असहज तथा अप्ठ्यारो परिस्थितिबाट सम्पुर्ण विश्व गुज्रिरहेको छ । संसार कोरोना भाइरससँग हायलकायल छ । यस्तो दुःखको समयमा एकअर्कामा सहअस्तित्व, सहकार्य, सम्मान तथा आदरभाव अनि मित्रतापूर्ण व्यवहार गर्नुपर्नेमा असहजताको मौका छोपेर छिमेकी देशले नेपालको भूमिबाट अर्को देशसँग पारवहन कायम गर्नेगरी बाटो निर्माण गर्छ अनि उदघाटनसमेत हुन्छ । कानूनकि एक विद्यार्थी निर्मला योन्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत बैशाख २७ गते परिस्थितिलाई यसरी टिप्प्णी गर्छिन् ‘बिरामीले थलापरेका बाउ आराम गर्दै गर्दा मेरी आमाका शरीरमा जेठाजु र देवरले कुदृष्टि लाउँदैछन ।’ उनको भनाईमा हामीमाथि छिमेकीको गलत मक्सदको सशक्त तथा सटिक यथार्थ लुकेको छ ।

उक्त गलत नजरियाको सरकारले प्रतिवाद गर्यो । राजदुतमार्फत कुटनैतिक नोट पठायो । हामो पूर्ण नयाँ नक्सा सार्वजनिक भयो । देशभर उमंग छायो । कम्तीमा सरकारले नागरिकको भरोसा, आशा अनुसारको एक महत्वपुर्ण कार्य गरेकोमा प्रशंसा बटुल्यो । सरकारको गौरवपुर्ण काम भनेर सर्बत्र चर्चा चुलियो । केही अनलाईनहरूले यसबारेमा सकरात्मक समाचार लेखे । तर अपवा बाहेक स्थापित भनिएका, मुलधारमा गनिएका, विभिन्न अरूबेला सम्पादक समुह भनेर वक्तव्यबाजी गर्ने मौसमी अनुहारहरू आज सबै लापत्ता देखिन्छन । ती मुटु हराएका सम्पादक महदोयहरूमा मलिनता, खिन्नता अनि दुविधा देखिन्छ । नेपालको नयाँ नक्सा सार्वजनिक भएको समाचारसम्म त लेखिए तर सरकारको संकल्प र दृढतामाथि सामन्य मानवीय अनुग्राहियता पनि देखिएन । सरकारको कदमपछि भारतीय सार्वजनिक सञ्चार माध्यमहरू जसरी नेपालविरुद्घ संगठित रूपमा लागिरहेका छन, त्यसको जवाफी सञ्चारमा नेपालका सम्पादक तथा सञ्चारगृहहरू गुमनाम देखिन्छन ।

भारतीय सञ्चारमाध्यमहरूले नेपालले उसको सिमाना मिचेको, अब भारतले नेपाललाई हैसियत देखाई दिने, चीनको पिछलग्गु भएको भन्ने जस्ता आरोपको बर्षा गरिरहेका छन् । अनावश्यक चेतावनी र हुँकारको प्रसारणमा तिब्रता दिदैछन । देशको सार्वभौम सत्ता र स्वतन्त्रतामाथि आँच पुग्ने कुतर्कका बहाव बनाउँदैछन । त्यहाँ रहेको नेपालीको समेत मान प्रतिष्ठामा आँच आउँने गरी समाचार र बिश्लेषणका श्रृंखला बढाउँदा हाम्रा सम्पादकहरू कता उग्राउँदै छन् ? असहजताको परिस्थितिमा आफ्नै ज्यानसमेत जोखिममा राखेर आम मानवको सेवा गर्न लागिरहेका भगवानरुपी स्वास्थ्वकर्मीलाई बीच बाटोमा हुलहुज्जत गर्ने मार्काका स्वनामधन्य अनाधिकृत अविवेकी अहंकारीहरू कता गायव छन् ? अरुलाई आफ्नै अनुहार देखिने गरी तरकारीमा तरल्यागं झोल हालेर भात खान सुझाएर आफू राजसी पार्टी दिने अलौकिक अभियान्ताहरू के मा व्यस्त छन् ? देशमाथि गद्दारी तथा गलत गर्ने जो कोही होस, टुडिखेलमा ल्याएर फन्के किक दिएर नाकको डाँडी भाच्ने साहास भएको दाबा गर्ने महशुर देशप्रेमीहरू कता छन ? यी सब लुकेका छन्, निरास छन्, अत्तालिएका छन्, दिमाग डाउनमा छन् । किनकी सञ्चार भनेको स्थायी प्रतिपक्ष हो भन्ने भुलभलैया रमाउँदै अरुलाई लडाएर रमिता हेर्ने र फाइदा लिने बानि लागेकाहरूले सरकारलाई सघाउँदा तथा देशहितमा काम गर्दा आफनो फाइदा रोकिने आभाष गरेका छन् ।

त्यही भएर अधिकांश सम्पादक अहिले मस्त निद्रामा छन । अझ आफूले आफैलाई ठुला भनेर आत्मरती राख्ने केही छापा सञ्चार तथा टेलिभिजनका सम्पादकहरू त महंगा मदिरासहितको आतिथ्यता र आत्मयिता अनि नजराना स्वीकार्नमा व्यस्त भएका समाचार साथै तस्विरहरू सामाजिक संजालमा देखिन थालेका छन्

अपवाद बाहेक गनिएका सम्पादकहरूको उदेश्य राष्ट्रिय हित, बृहत्तर भलाई तथा सकरात्मकता उन्मुख समाजको निर्माण हैन । त्यस्ता कुरा र बिचार उनीहरू मन पराउँदैनन् । आन्तरिक किचलोलाई अनावश्यक तथा अतिरञ्जित प्रचार प्रसार गरेर देशलाई अस्थितरता तथा अर्कमन्यता उन्मुख बनाउन प्रतक्ष वा परोक्ष कसैको मक्सदमा काम गर्ने जस्तो देखिन्छ । एउटा पार्टीभित्रको झगडा, दुई नेताबीचको टकराब जस्ता समस्या देखिएको भए उनीहरूमा सकृयताको नयाँ सगरमाथा देखिन्थो । किनकी देशमा अस्थिरता, अपचलन तथा अधोगति उनीहरूलाई मनपर्ने पक्ष हुन्, बिरोध र सत्तोसराप उनीहरुलाई आनन्द प्रदायक हुन्छन् । अरु बिग्रिएको समाचार लेखर, दुवाई दिएर आफू सप्रिएको भान छर्न व्यस्त उनीहरू अहिले पुरै चुपचाप छन् । किनकी देश बलियो भए, एकिकृत भए, आम जनता एक ठाउँमा उभिए उनीहरूको अभिष्ठ पूरा हुदैन । उनीहरू त बिकृति, बिसंगति चाहन्छन्, झगडा रुचाउँछन । किनकी त्यस्को बिज्ञापनमा उनीहरूलाई फाइदा हुन्छ ।

त्यही भएर अधिकांश सम्पादक अहिले मस्त निद्रामा छन । अझ आफूले आफैलाई ठुला भनेर आत्मरती राख्ने केही छापा सञ्चार तथा टेलिभिजनका सम्पादकहरू त महंगा मदिरासहितको आतिथ्यता र आत्मयिता अनि नजराना स्वीकार्नमा व्यस्त भएका समाचार साथै तस्विरहरू सामाजिक संजालमा देखिन थालेका छन् । हुन त आजको प्रविधि युगमा छापा सञ्चार तथा टेलिभिजनलाई ठुला सञ्चार मानिदिनु पर्ने भ्रममा हामी बाचिरहेका छौँ । अनलाईन पत्रकारिता तथा सामाजिक संजालले ती स्वघोषित ठुला भनिएकाहरूको अहंकारी हैसियतलाई कसरी निमिट्यान्न पार्दैछ भन्ने जान्न चाहिँ लेखक जेम्स फस्टको ‘अनलाईन जर्नालिजम’ तथा माईकल एव्सकोलको ‘सोसल मेडिया वारफेयर’ नामक पुस्तकहरू सहयोगी अध्ययन बन्न सक्छन् । अनलाईन पत्रकारितामाथि स्टिन स्टिनसेनको अनुसन्धानात्मक शोध ‘अनलाईन जर्नालिजम, प्रोमिसेस अफ न्यू टेक्नोलोजी’ले पनि यथार्थ प्रस्ट पार्छ । उनीहरू ठुला चै छैनन्, तर अझै पनि ठालु हौँ भन्ने भम्रमा छन् ।

यद्यपि ती ठालु सम्पादकहरू तथा अभियान्ताहरू राष्ट्रहितको पक्षमा त खुलेनन्, आमामाथिको अपमानले त उनीहरूलाई असहजता भएन तर यी तिनै सम्पादक हुन, जसलाई घरभित्रका दाजुभाई तथा दिदिबहिनीको पीडा पनि महशुस हुँदैन । बेलाबेलामा समाचार आउँछन् कि सञ्चारकर्मीहरूलाई लामो समय तलव दिईएन, लकडाउनको वेला विनातलव निकालियो, पेशागत सुरक्षा र स्थायित्व भएन । देशका सबै ठाउँ अरू थुप्रै कुरा नमिलेको र नाजायज भएको देख्ने यी सम्पादक महोदयहरू आफना सहकर्मी मित्रहरूमाथिका ज्यादती देख्न सक्ने पावरको चस्मा लगाउँदैनन्, उनीहरूका हितका खातिर व्यवस्थापन सँग सौदाबाजी गर्ने मुटु देखाउँदैनन् ।

अरुसँग बाहिर ठुला कुरा गरेपनि सञ्चारगृहभित्रका सहकर्मी सदस्यसँग कहिल्यै नलुकेको मुटु हराएको सत्यता, प्रधानमन्त्रीले मात्रै पत्ता लगाएको मुटु नभएको सत्यता आज आम मानिस सामु छर्लंग भएको छ । मुटु नभएको कारण आफ्नै सहकर्मीहरूबाट चाहिँ त्यति धेरै सम्मान नपाएको झोंकमा बाहिरी बृत्तका मानिससँग यी सम्पादकहरू आफू निकै अलौकिक तथा असामान्य भएको देखाउने नाटक मञ्चन गर्छन् । बोलाउँदा बोल्न खोज्दैनन्, कुनै जिज्ञासा भए प्रतित्युत्तर गर्दैनन्, भेटन समय मागे भेटिन रुचाउँदैनन्, आफूलाई अर्कै ग्रहको असामान्य मान्छे हो भन्ने भ्रम पाल्छन्, । अरुलाई मानिस नै नगन्ने अभिमान देखाउँछन् । तर कुनै न कुनै दिन त वास्तविक अवस्था ज्ञात भैहाल्छ । अहिले समय त्यस्तै घडितिर अग्रसर हुँदैछ ।

सम्पादक महोदयहरू, कि नागरिक भावनाको सम्मान गर्नुहोस्, भारतबाट भईरहेको समाचारीय आक्रमणको प्रत्तिउत्तर दिन एकिकृत हुने आँट गर्नुहोस्, सम्पुर्ण सञ्चार कर्मलाई आफ्ना सहयोगीका साथ पुनर्निर्माण गर्नुहोस्, अथवा स्वीकार्नुहोस् हामी बिकेका छौँ, लज्जति छौँ । अन्यथा यस्तो कठिन अवस्थामा तपाईहरूको मौनता नियोजित, अनिच्छा प्रायोजित छ भन्ने बुझ्न अब अरू कुनै समाचार लेख्नु वा बजाउनु पर्दैन होला । प्रमाणित गर्नुहोस्, तपाईहरूसँग साँच्चै मुटु छ ।