जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार ११:२४

राजपा र समाजवादी एकता शुरु नहुदै संकटमा


काठमाडौं, जेठ १४

लामो कसरतमा पनि हुन नसकेको राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकता रातारात भयो । सबैले आश्चर्य मानेको सो एकता राम्रो भएपनि पुनः खटपट देखिएको छ ।

मधेश केन्द्रीत दलको मुख्य समस्या रहदै आएको नेतृत्वका विषयमा दुई दलबीच कुरा मिल्न नसकेको हो । निर्वाचन आयोगमा एकताका बाँकी कागजपत्र बुझाउन करिब १० दिनको समय बाँकी रहेका बेला नेतृत्व कसले लिने भन्नेमा अन्यौल देखिएको छ । जसले गर्दा एकता नै संकटमा पर्ने होइन् भन्ने देखिन थालेको छ । समाजवादी पार्टीले जसपा नेपालको संयोजकमा महन्थ ठाकुर, संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने गरी पार्टी दर्ता गराउन प्रस्ताव गरेपछि विवाद निस्किएको हो ।

राजपाले ठाकुरलाई एकीकृत पार्टीको अध्यक्ष रुपमा स्विकार गर्नुपर्ने र दुवै पार्टीबाट बराबर हैसियतमा एक÷एकजना राखेर पार्टी दर्ता गराउन प्रस्ताव गरेको छ । बैशाख ८ गते राति पार्टी एकताको घोषणा गरेर भोलीपल्ट निर्वाचन आयोगमा उधारो दल दर्ता गरेका उनिहरुले ४५ दिनभित्र सम्पूर्ण कागजपत्र बुझाउनुपर्नेछ । राजपाले ठाकुरलाई संयोजकको नाममा भूमिका विहिन बनाएर भट्टराई र यादवले एकलौटी गर्ने गरी प्रस्ताव ल्याएको बताएको छ । शुक्रबार राजपाका अध्यक्ष मण्डलका नेताहरुको बैठकले समाजवादीको सो प्रस्ताव अस्विकार गर्ने निर्णय गरिसकेको छ ।

अध्यक्षमा महन्थ ठाकुर र संघीय परिषद्मा समाजवादी पार्टीबाट राख्ने राजपा नेपालको प्रस्ताव रहेको छ । यदि संघीय परिषद्मा भट्टराई रहने र केन्द्रीय कमिटीको अध्यक्षमा यादव रहने हो भने कार्यकारीणी समितिको अध्यक्षमा राजेन्द्र महतो रहनु पर्ने राजपाको दाबी रहेको एक नेताले बताए । तर त्यो विवादमा जानु भन्दा राम्रो दुवै पार्टीबाट एक\एकजना राखेर दर्ता गराउनु उपयुक्त हुने राजपा नेपालका नेताको भनाई छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको विषयमा राजपा नेपालभित्र एकरूपता नदेखिएकाले कुरा अड्किएकोु बताउनु भएको छ । पार्टी एकतामा उत्पन्न गतिरोधबारे मौन देखिएका नेता यादवले भन्नुभयो, ‘४५ दिनभित्र गर्ने कोसिस भइरहेको छ । भएन भने ४६ औँ दिनमा गरे पनि भइहाल्छ नि । मिल्नेलाई कस्ले रोक्छ, फुट्नेलाई कस्ले रोक्छ र ।’

राजपाका नेताहरुले भने यादवले एकतामा चासो नदेखाएकाले प्रक्रिया अगाडी बढ्न नसकेको बताएका छन् । उनिहरुले ठाकुर र भट्टराईलाई अगाडी सारिएको भन्दै असन्तुष्टि पोखेको दावी गरे । प्रतिनिधि सभामा दुबै दलका १७-१७ जना सांसद छन्। प्रदेश २ को प्रदेश सभामा समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद छन्। राजपा छ वटा पार्टी मिलेर बनेको दल हो भने सपाको पार्टी संगठनमा यादवको एकछत्रझैं छ।