सर्वहारा वर्गको पक्षमा उत्पीडित जाति समुदायको पक्षमा अन्याय अत्याचारको बिरुद्द, शोषित उत्पीडित वर्गको मुक्तिको लागि जनयुद्वको उद्गमस्थल रुकुममा कथित उपल्लो जातिसँग प्रेम गरेकै कारण नवराज विकले ज्यान गुमाए। यो जत्तिको निन्दनीय कार्य अरु के हुन सक्छ र ?
अन्तर जातीय प्रेम गरी बिवाह गर्न खोज्दा रुकुमका नबराज बिकको गाउँलेको कुटाइबाट मृत्यु र उनलाई साथ दिन हिंडेका टीकाराम विश्वकर्मालाई समेत मारेर फालिदिए । अझै ५ जना दलीत युवा बेपत्ता भएका छन । प्रहरीका अनुसार नवराजको समूहलाई झन्डै दुई किलोमिटर लखेटी–लखेटी ढुंगा बसाईएको थियो । गाउँले ५० जनाको हाराहारीमा थिए । त्यसमाथि गाउँलेहरु माथितिर, नवराजहरु तलतिर । प्रतिरोध गर्न सक्ने कुरै भएन । भोलिपल्ट घटनास्थलभन्दा ३ किलोमिटर तल नवराजको शव भेटियो । उनका साथी टिकाराम सुनुवारको शव करिब ३० किलोमिटर तल भेटियो ।
गाउँलेले नवराज र टीकारामको ज्यान लिएको अघिल्लो दिन बुटवलमा ‘कथित’ तल्लो जात भएकै कारण १५ वर्षीया किशोरीले आत्महत्याको बाटो रोजिन । रातको समयमा केटासँग हिँडेको भन्दै स्थानीयले केटाको घरमा हुलिदिए । तर, केटाको परिवारले घरमा पस्न दिएनन् । आफ्नै परिवारले पनि साथ दिएनन । त्यसपछि उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । चार वर्षअघि अजित मिजारको हालत यस्तै भएको थियो। तर, नवराज र अजितजस्ता युवाले जातीय भेदभावका कारण प्रेमको मूल्य निरन्तर चुकाइरहेका छन्। गैरदलित युवतीसँग प्रेम सम्बन्धकै कारण ०६८ को भदौमा दैलेखका सेते दमाईं मारिए।
सर्वहारा वर्गको पक्षमा उत्पीडित जाति समुदायको पक्षमा अन्याय अत्याचारको बिरुद्द, शोषित उत्पीडित वर्गको मुक्तिको लागि जनयुद्वको उद्गमस्थल रुकुममा कथित उपल्लो जातिसँग प्रेम गरेकै कारण नवराज विकले ज्यान गुमाए। यो जत्तिको निन्दनीय कार्य अरु के हुन सक्छ र ? जातीय विभेद र छुवाछूत दण्डनीय हुने व्यवस्था बनेपछि पनि अन्तरजातीय प्रेमकै कारण वर्षैपिच्छे दलितहरु कुटिएका छन्, मारिएका छन्। गत वर्षको १६ माघमा भएको सप्तरीको पन्सेरा–३ का शिवशंकर दासको मृत्युको कारण पनि अन्तरजातीय प्रेम र विवाह नै थियो।आफूहरूको प्रेमले परिवार र समाजमा विवाहका रूप नपाउने भएपछि झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले ७ माघ,०७३ मा एउटै पासो लगाए। तनहुँकी संगीता परियारले पनि गैरदलितसँग प्रेम विवाहकै कारण ज्यान गुमाएकी थिईन्।
दुई साताअघि पाल्पामा दलितसँगै बिहे गरेकै कारण एक पुरुषलाई आमाको शवसम्म छुन दिइएन, सुरुमा किरिया बार्न पनि घरमा पस्न नदिएर केही दिन बारीमै छाप्रो बनाएर बस्न बाध्य तुल्याइएको थियो । त्यस्तै, अलि अघि पोखरामा किरियापुत्री बस्ने सार्वजनिक भवन प्रयोग सम्बन्धमा दलित र गैरदलितबीच विवाद भएको थियो । हामीले बिसौ बर्ष अघिदेखि कथित उपल्लो जाति र कथित तल्लो जातिबीच समानता ल्याउन सहभोज कार्यक्रम आयोजना गरेर के पायौं ? हाम्रा संघ संगठनले कथित उपल्लो र दलित जातिबीच भाइटिका लागाउन थाल्यौं, लगायौं, खै अहिलेसम्म चेतना ल्याएको ? अब अती भयो, यो एकाइसौ शताब्दीमा पनि जातीय बिभेदको कारण यति धेरै दुर्ब्यवहार, यति धेरै अन्याय ।
संविधानसभाबाट जारी वर्तमान संविधानले दलित भनी नामकरण गरेर उत्पीडितवर्गको घोर अन्याय र अपमान गरेको छ भन्ने म ठान्दछु । साथै, ऐतिहासिक संविधानमा दलित भन्ने शव्द र जातीगत कुरालाई संवैधानिक मान्यता दिइएकै कारण देशमा क्रमशः न्यूनीकरण हुँदै गएको जातीय छुवाछुत र भेदभाव प्रथा फेरि एकाएक धेरै बढेको र मौल्याएको देखिन्छ । समाजलाई संविधानले गलत बाटो देखाउनु हुँदैन । रूकुमको हालैको दुखदायी घटना मुख्यतः वर्तमान संविधानकै जातीय भेदभावकारी कमजोरीका कारण सिर्जित घटना हो । यस्तो परिप्रेक्ष्यमा, कसरी सामाजिक न्याय कायम हुन सक्छ ? अब संशोधन गर्ने समय आएको छ । यहीँ समयमा संबिधानबाट नै दलित भन्ने शव्द हटाएर कोही पनि नागरिकमाथि शाब्दिक अन्याय पनि नगरौं हटाइदिऔं, यो विभेद गर्ने शब्द पनि खारेज गरौं । जातीय विभेदको रेखाङ्कन स्वयंमा अपराध हो, जातीय विभेदका आडमा गरिने हिँसा महापराध हो ।
रुकुम घटना कानूनी राज्यमा मानवताविरुद्धको जघन्य अपराध हो। यो मानव समाजकै कलंक हो। यो घटनाको राज्यबाट निष्पक्ष छानबिन गरी अपराधीहरू उपर कडा भन्दा कडा कारबाही हुनुपर्छ। अब उप्रान्त समाजमा यस किसिमका घटनाहरु नदोहोरिने अवस्था पनि निर्माण हुनुपर्छ । घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई हदैसम्मको कार्वाही गरिन पर्छ । पुनः यस्तो जघन्य अपराध नदोहोर्याउन कसैले पनि ।
प्रतिक्रिया दिनुहोस्