हामी सबैलाई थाह छ । यतिबेला नेपालले विभिन्न समस्याहरूको सामना गर्नुपरिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना महामारी, सीमा विवाद मुलुकको लागि चुनौतीको रूपमा खडा हुँदै गएको छ । यी सबैको स्थायी समाधान खोजिनु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारका लागि चुनौतीको विषय बनेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको रूपमा सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । नेपालको पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग मुख्य चार चुनौतीहरू छन । जसलाई उहाँले पार लगाउनु पर्ने छ । यी चुनौती र समस्याको समाधान उहाँको मुख्य दायित्वभित्र पर्छन ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालको लागि मात्र नभई विश्वकै लागि एक चुनौतीको रुपमा खडा भएको छ । नेपाल लगायत विश्वका अधिकाशं देशले कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि लकडाउन जारी राखेका छन । अधिकतम परीक्षण बढाएका छ् । थप फैलन नदिनको लागि सक्दो प्रयासहरू गरिरहेका छन । गत डिसेम्बरमा चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले आज विश्वको २१६ देशलाई प्रत्यक्ष प्रभावित गरिसकेको छ । संसारभरका आधा करोडभन्दा बढी मानिसहरू संक्रमणको सिकार भएका छन् । झण्डै ३ लाख ६२ हजार मानिसहरू कोरोना संक्रमणको कारण मृत्यु हुन पुगेका छन ।
नेपालमा गत २०७६ चैत ११ देखि कोरोना संक्रमण थप फैलन नदिनको लागि लकडाउन जारी गरिएको थियो । यद्यपि यो भाइरसले नेपाललाई पनि छोडेन, फैलन थाल्यो । आजसम्म नेपालमा १ हजार भन्दा बढी मानिसहरू संक्रमित हुन पुगेका छन् भने तीमध्ये ५ जनाको त मृत्यु समेत भइसकेको छ । आगामी जेठ २० गतेसम्मलाई लकडाउन जारी गरिएको छ । यसै भन्न सकिने अवस्था छैन, यो अझै कति समय लम्बिने हो । कोरोना संक्रमणको असर धेरै क्षेत्रमा पर्दै गएको छ । यसले अर्थव्यवस्थामा ठूलो असर पारेको छ । लाखौं मानिसहरू बेरोजारीतर्फ धकेलिँदै छन् । आम मानिसको शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग व्यवसाय, कृषि, पर्यटन क्षेत्रलगायतमा पनि ठूलो असर पर्ने देखिएको छ । यी सबैको व्यवस्थापन र पुनर्उत्थान गर्नको लागि समय लाग्नेछ । यसैले अहिलेको परिस्थितीमा प्रधानमन्त्री र उहाँले नेतृत्व गरेको सरकारको मुख्य चुनौती यसको व्यवस्थापन गर्नु हुनेछ ।
पार्टीभित्रको आन्तरिक राजनीतिक विवाद पनि प्रधानमन्त्रीको लागि अर्काे चुनौती बनेको छ । ५ वर्षको लागि गठन भएको सरकार बीचमै गिराउनको लागि षडयन्त्रहरू भइरहेका छन् । जसको चर्चा सेलाउन पाएको छैन । हामीलाई थाहा छ, गत चुनावमा नेपाली जनताले नेकपा नेतृत्वले मुलुकको स्थायी विकास गर्न सक्छ, स्थायी राजनीतिक व्यवस्था कायम गराउन सक्छ र चाँडै नै मुलुकलाई समृद्धीतर्फ लान सक्छ भन्ने अभिप्रायले अधिकतम मत दिएर झण्डै दुई तीहाईको स्थितिमा पुर्याएका छन् । यस्तो सफलतामा पुर्याउनको लागि केपी ओलीको नेतृत्व कुशल रह्यो । त्यहीअनुसार नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको हो ।
यो सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा पनि दिएको छ । उहाँको कार्यभार पनि यही थियो । तर, भइदियो के भने पार्टीभित्रको विभिन्न गुट उपगुटका कारण राजनीतिक विवाद सुरु भयो । झण्डै झण्डै सरकार ढल्ने ढाल्ने खेल समेत हुन थालेको हामीले देख्यौं । लामो प्रयासपछि निर्माण भएको संविधान र त्यसपछि भएको निर्वाचनपछि बनेको स्पष्ट बहुमतसहितको सरकारले पनि स्थायी रुपमा नेतृत्व गर्न नपाउने हो भने मुलुक पुनः राजनीतिक अस्थिरतातर्फ धकेलिने निश्चित छ । त्यसैले पार्टीभित्रको विवादको स्थायी समाधान खोजी जनादेशअनुसार अघि बढ्नु र कुशल नेतृत्व दिनु, पार्टीका नेता, कार्यकर्ताको व्यवस्थापन गर्नु प्रधानमन्त्रीको लागि अर्काे चुनौती छ ।
यस्तै, अहिलेको ‘हट इस्यु’ सीमा विवाद । नेपाली भूमि भारतीयले मिचेको विषय पहिले पनि धेरै पटक उठ्ने गरेको थियो । तर, पछिल्लो पटक भारतले लिपुलेक, कालापानीमा सडक खनेपछि भने यो प्रङ्गले सडक र सदन तातेको छ । देश बचाउन भन्दै सबै नेपालीले आजाव उठाइरहेका छन् । भारतको हेपाह प्रबृत्तिको जवाफ दिँदै नेपाल सरकारले उक्त भूमि नेपालकै भएको प्रमाणित गर्दै नेपालको नयाँ नक्सा जारी गरिसकेको छ । केही हप्ता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी पोष्ट पनि उक्त क्षेत्रमा स्थापना गर्नुभयो । इतिहासमा पहिलो पटक यति धेरैं साहसका साथ आफ्नो भूमि फिर्ता गरी नयाँ नक्सा जारी गर्ने र सीमा सुरक्षा पोष्ट स्थापना गरेपछि यतिबेला प्रधानमन्त्री ओलीको प्रंशसा निकै चुलिएको छ । एउटा राजनेताले गर्नुपर्ने धर्म उहाँले निभाउनु भएको छ । उहाँको साहसको उच्च प्रशंसा विपक्षी दलले समेत गरेका छन।
यद्यपि नक्सा जारीसँग उक्त भूमि नेपाली पक्षले उपभोग गर्ने गरी कार्यान्वयनमा ल्याउने, नेपाली भूमिमा रहेका भारतीय सेनालाई फिर्ता पठाउने, निर्माणाधिन सडक तत्कालै रोक्ने र भारतसँगको यो विवाद्को स्थायी समाधान खोजिनु प्रमानमन्त्रीको लागि अर्काे चुनौती थपिएको छ । प्रधानमन्त्रीसँग अनुरोध छ, भारतसँगको सीमा विवाद्को स्थायी समाधान खोज्नुहोस, त्यसका लागि भारतीय पक्षसगँ कुटनैतिक वार्तामा बस्नुपर्छ । र सन् १९५० को सन्धिअन्तर्गत पूर्वमा मेचीदेखि पश्चिममा काली नदी अर्थात लिम्पियाधुरासम्मको भूभाग नेपालको अधिनमा रहने भन्ने भारतीय पक्षले नमान्नु भनेको ईष्ट्र इण्डिया कम्पनी र नेपाल सरकारबीच भएका सबै सन्धिहरू खारेज गरिएको भन्ने मान्नु हो । तसर्थ यदि त्यसो हो भने पूर्वमा टिष्टा नदी वारीदेखि पश्चिममा पिथौरागढ, नैनीताल, देहरादून अलमोडा तथा सतजल नदी वारीसम्म सन् १९५० अधिको नेपाली भूभाग भारतिय पक्षले स्वत ईष्ट् इण्डिया कम्पनी अर्थात बिट्रीस सरकारले भारतलाई स्वतन्त्र छोडीदिएसँगै नेपाल सरकारलाई दिनुपर्ने थियो । ति जमिन स्वतः नेपाली भूमि हो भन्ने स्पष्टसगँ छलफल गरी फिर्ता ल्याउनु पर्दछ !
हामीलाई थाहा छ, प्रमानमन्त्री ओली यतिबेला पूर्ण स्वस्थ हुनुहुन्न । स्थास्थ्यले साथ नदिने उहाँको लागि चौथो चुनौतीको विषय हो । दोस्रो पटक किड्नी प्रत्यारोपन गर्नु भएका प्रधानमन्त्री पहिले जस्तो स्वस्थ्य हुनुहुन्न । यद्यपि मुलुकको लागि उहाँले एक कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनुभएको छ । जीवनको ऊर्जाशिल समय देश र देशबासीको लागि विताउनु भएका ओलीले लामो समय जेल जीवन विताउनु पर्यो । आफ्नो भन्दा देश र जनताको लागि बढी सोच्ने, विकास र स्थिरता चाहने केपी ओलीको लागि अहिलेको समय स्वास्थ्यको हिसावले पनि एक चुनौतीपूर्ण क्षण छ । मुलुक रहे मुलुकबासी रहने हो । यसैले यो परिस्थितिमा यी यावत चुनौतीको समाधान खोज्नु र आफू स्वस्थ्य रही देशलाई पनि स्वस्थ्य बनाउनु प्रधानमन्त्रीको मुख्य कार्यभार छन् । यसको लागि सबै नेपाली जनता र पार्टी नेता कार्यकताको पनि भूमिका महत्वपूर्ण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्